आफू भ्रष्टाचार नसहने कर्तव्यनिष्ठ कर्मचारीको रुपमा पेश गर्दै सञ्जेलले, प्रधानमन्त्रीलाई ठाडै चुनौति

प्रकाशित मिति : शनिबार, पुस १४, २०७५

बिराटनगर । श्रम कार्यालय बिराटनगरका उपसचिव प्रेम सञ्जेल एकाएक सामाजिक सञ्जालमा ‘भाइरल’ बने । आफूलाई गलत तरिकाले सरुवा गरेको भन्दै पत्रकार सम्मेलनमा उत्तेजक अभिव्यक्ति दिएपछि सञ्जेलको चर्चा चुलिएको हो ।

आफूलाई भ्रष्टाचार नसहने कर्तव्यनिष्ठ कर्मचारीको रुपमा पेश गर्दै आएका सञ्जेलले प्रशासनिक नेतृत्वदेखि प्रधानमन्त्रीसम्मलाई ठाडै चुनौति दिएका छन् । सरुवाको पत्र पाइसकेपछि पनि उनी बिराटनगरको श्रम कार्यालय नछाड्ने अड्डी लिएर बसेका छन् ।

समाचारदातासँगको कुराकानीमा सञ्जेलले भने, ‘मेरो सरुवा गैरकानूनी छ । एक, दुई, तीन यो कार्यालय छाड्दिनँ ।’

आखिर को हुन् त उपसचिव प्रेम सञ्जेल ? निजामति सेवामा उनको ४० वर्षे अनुभूति कस्तो छ ? यसबारेमा समाचारदाताले सञ्जेलसँग कुराकानी गरेको छ ।

जब बा धुरुधुरु रुनुभयो

म ६ कक्षामा पढ्थेँ । एक दिन बुवा आफ्नो जग्गा पास गर्नका लागि धनकुटा माालपोत कार्यालयमा पुग्नुभयो । मलाई पनि सँगै लिएर जानुभएको थियो ।

त्यतिबेला कार्यालयका कर्मचारीले बुबासँग दुईसय रुपैयाँ घुस मागे । जब कि हामीले पास गर्नुपर्ने जग्गाको मूल्य नै तीन सय पनि थिएन होला । मेरा बुवा मालपोत कार्यालयमै धुरुधुरु रुनुभयो । त्यो देखेर मैले नै बुबालाई सुझाएँ, ‘अलिकति पैसा दिएर भए पनि जग्गा पास गरौँ ।’

पछि बुवाले मलाई भन्नुभयो, ‘तँ पनि पढेर कर्मचारी बन्लास्, पैसा कमाउलास् । त्यतिबेला तेरो बालाई जस्तो अरुलाई नरुवाएसे ।’

त्यति नै बेला मैले जिन्दगीमा जुनसुकै पेशामा लागे पनि भ्रष्टाचार नगर्ने कसम खाएँ ।

आजसम्म पनि ‘जेल, ज्यान र जागिरभन्दा माथि हिँड्नु, बात, हात र लात चलाउन सिक्नु’ भन्ने बुवाको सल्लाहलाई शीरोउपर गरेर हिँडेको छु । यति गरिसकेपछि कसैसँग डाराउनुपर्दैन ।

पत्रकार सम्मेलन अघि र पछि

म बिराटनगर श्रम कार्यालयमा आएको साढे दुई महिना भयो । निजामति ऐनको ४९ को दाफा १८ उपदफा ३ को खण्ड ‘ख’ ले तोकेको दुई वर्ष अवधि नपुगी सरुवा गर्न पाइँदैन भनेको छ । त्यसैको दफा १२ ले कसैले त्यस्तो काम गरे वा गराएमा उसलाई विभागीय कारवाही हुने प्रावधान छ । तर, यही बीचमा मेरो सरुवा गरेर ऐनलाई धोती लगाइयो ।

त्यसैले यदि विभागले सरुवा गरेको हो भने त्यसलाई सामान्य प्रशासन मन्त्रालयले बदर गर्नुपर्छ र मन्त्रालयले गरेको हो भने मन्त्रिपरिषदले । कसैले ७० वर्षसम्म गर्न नसकेको काम मैले यहाँ आएको ७० दिनमा गरेर देखाएको छु । क्यानडा पठाइदिन्छु भन्दै ढेढ करोड ठग्नेको विरुद्ध पक्राउ पूर्जी जारी गरेको छु । विभिन्न व्यवसायीको अनुगमन गरेर प्रतिबेदन तयार पारेको छु । यसरी काम गर्दागर्दै पनि मलाई किन सरुवा गरियो ? यो देश नीति नियमले चलाउँछ कि केले ?

त्यसपछि म पत्रकार सम्मेलन गर्न बाध्य भएँ ।

यो श्रम कार्यालय अधिकृतबाट सञ्चालन हुँदै आएको थियो । पछि यसलाई उपसचिवस्तरीय बनाइयो र म कार्यालय प्रमुख भएर आएँ । ८ वटा जिल्ला हेर्ने यो कार्यालयको जिम्मेवारी छ ।

जब मैले पत्रकार सम्मेलन गरेर अफिस फर्किएँ, पूर्वकार्यालय प्रमुख मणिनाथ गोपले मलाई तनाथाम गाली गरे । मेरो नेमप्लेट फ्याँकेर अनाधिकृतरुपमा रिलिफ लेटर टेबुलमा राखिदिएका रहेछन् ।

जसले भारतीय नेमप्लेटको जीप चढेको छ र पाँच दिनमा ५८ हजार लिटर इन्धनको बिल पेस गरेको छ । उसैले मलाई कानुन विपरीत थर्काउने हैसियत कहाँबाट आयो ?

तर, उता मेरो भिडियो मिडियामा सार्वजनिक भएपछि एकाएक सेलिब्रेटी भएँ । फोनको यति बाढी आयो कि मेरा दुईवटै मोवाइल ह्याङ भए । फोन गर्नेमा माथिल्लो तहका राजनीतिक नेतादेखि सामाजिक अगुवा भ्रष्टाचारविरोधी अभियन्तासम्म हुनुहुन्थ्यो ।

फोनमा बोल्दाबोल्दा घाँटी दुःखेर एक दिन त पूरै रेस्टमा बस्नुपर्‍यो । निर्वाचनताका बढी बोलेकै कारण चिकित्सकले भनेका थिए कि योभन्दा बढी बोले तपाईको कहिल्यै नफर्कने गरी आवाज जानेछ । अहिले आएर फेरि त्यस्तै स्थिति सिर्जना भयो ।

दैनिक एकदेखि दुई हजार फेसबुक रिक्वेस्ट आउन थाले । फेसबुकले तेरो कारणले फेसबुकको फिल्टर जाम भो भनेर दुई पटकसम्म नोटिफिकेसन पठायो ।

इटहरीमा दिउसै बत्ती बालेर युवाहरुले भ्रष्टाचारविरुद्ध अभियान चलाए । त्यसको ब्यानरमा मेरो फोटो राखेर लेखिएको थियो कि भ्रष्टाचार नगरौं, करको दुरुपयोग नगरौँ ।

तर, बाहिरबाट मलाई कुनै खालको दबाव आएन । बरु धेरैले सदासयता राखेरै फोन गर्नुभयो । माथिल्लो तहको कर्मचारीले त्यस्तो कुनै दबाव दिएका छैनन् । उनीहरुले मलाई दबाव दिने हैसियत पनि राख्दैनन्, किनकि म हरेक काम कानुनमा टेकेर गर्छु । गलत काम गर्दा परिणाम के हुन्छ भन्ने प्रेम सञ्जेललाई थाहा छ ।

मलाई विनाकारण गैरकानुनीरुपमा यहाँबाट सरुवा गरिएको छ । तर, म अहिले पनि यहीँ छु । अफिस गइरहेकै छु । म यहाँबाट किमार्थ जान्नँ । एक जान्न, दुई जान्न, तीन जान्न । यो ४० वर्षको निजामति करिअरमा प्रेम सञ्जेलले गल्ती गर्‍यो भन्न सक्ने कोई माइकालाल छ ?

ट्वाइलेटमा पनि भ्रष्टाचारविरोधी पोस्टर !

यसअघि म निर्वाचन आयोगको क्षेत्रीय डाइरेक्टर थिएँ । त्यतिबेला एक करोड ६३ लाख २६ हजार छ सय ३९ रुपैयाँमा भवन निर्माण भयो । तर, एक वर्षमै भवन चुहिन थालेपछि मैले ठेकेदारको धरौटी जफत गरेँ ।

उनीहरुले मविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्न पुगे । तर, सर्वोच्च अदालतले स्टे अर्डर जारी गर्‍यो र मैले कार्यभार सम्हालेर चारवटै तहको निर्वाचन सफल पारेँ । त्यो निर्वाचनको अवधिमा एक रुपैयाँ कहीँ भ्रष्टाचार र पक्षपात भएको छ भनेर कसैले औँला उठाउन सक्छ ?

तर, गत असोज २४ गते क्षेत्रीय कार्यालय विघटन भयो र मलाई विनाविभागीय बनाइयो । अटेन भनेर त्यहाँबाट फालियो । अब कहीँ न कहीँ त काम गर्नुपर्‍यो । त्यसपछि मन्त्रालयमा गएर १० दिनसम्म बिन्ती बिसाएँ । बल्लतल्ल कात्तिक १२ गते सरुवा भयो ।

मैले ०६२ देखि ०६४ सम्म सहकारी विभागमा काम गरेँ । त्यतिबेला मैले ट्वाइलेटमा पनि भ्रष्टाचारविरोधी पोस्टर टाँसेको थिएँ । त्यतिबेला सहकारीका नाममा करोडौँ कुम्लाएर भागेकाहरुसमेत थुप्रै थिए । देशभर २८ हजार सहकारी संस्था थिए । देशभरिका सहकारीबाट काम लिएर आउनेहरुको भीड लाग्थ्यो । र, पनि तीन बजेभन्दा पहिले दर्ता भएका काम त्यही दिन फत्ते गरिदिन्थेँ । रातको ११ बजेसम्म अफिसमै हुन्थेँ ।

त्यसैको परिणाम हुनुपर्छ, कामको प्रशंसा गर्दै हुम्ला–मुगुबाट चिठी आउँथ्यो । त्यतिबेला आफ्नो जागिरे जीवनप्रति निकै सन्तोष लागेर आउँथ्यो ।

तर, सहकारी विभागमा पनि मेरो एक वर्षमै तीन ठाउँ सरुवा गरियो । तर, म त्यहीँ बसेर काम गरेँ । परिणामस्वरुप ८ महिनासम्म तलव पाइनँ । तर, काम गरिरहेँ ।

पशुसेवा विभागमा काम गर्दा बाख्रा वितरणका नाममा भ्रष्टाचार गर्नेदेखि विदेशको ग्रीनकार्ड लिएर रमाउने १९ जनाको जागिर खाइदिएको छु । ४० वर्ष काम गरेर आफ्नो ब्राण्ड बनाएको छु । म दुलोमा पसेर हिँड्ने मान्छे होइन ।

कर्मचारीतन्त्रमा राजनीति हावी

सबैभन्दा पहिला हाम्रो देशमा कर्मचारीतन्त्र र राजनीतिबीच के फरक छ भने छुट्याउनु सान्दर्भिक हुन्छ । हाम्रो दुर्भाग्य के भने कर्मचारी पार्टीका कार्यकर्ता हुने र नेताले कर्मचारी सरुवाको लिस्ट बनाएर बस्ने ।

नेपालको निजामति सेवा धेरै भ्रष्टाचारी र थोरै सदाचारीबीचको संघर्ष रहेछ । नेपालको ऐन–कानुन मौरीलाई लाग्ने अरिंगालले छेडेर जाने रहेछ । ठूलालाई त कुनै ऐन नै लाग्दैन । र, कानुन कार्यान्वयन गर्न खोज्दा मेरोजस्तो हविगत हुन्छ ।

शक्तिको तजविजी प्रयोग गरी कानुनलाई धोती लागाइन्छ यहाँ । नेपालको निजामति सेवा यिनीहरुकै स्वरुप रहेछ ।

नेपालको कर्मचारीतन्त्रले घुस पाएन भने केही पनि जान्दैन । घुस पाएपछि उसैले सबथोक जान्दछ । घुस पाएपछि काम पनि उसैले गर्छ, कर छल्न पनि उसैले सिकाउँछ ।

म भ्रष्टाचारविरोधी कर्मचारीलाई सम्मान गर्छु । भ्रष्टाचारी छ भने आफ्नै बा डिल्लीराम सञ्जेललाई पनि छोड्दिनँ ।

कर्मचारीतन्त्र सुध्रिनका लागि सबैभन्दा पहिला कर्मचारीलाई राजनीतिबाट बाहिर ल्याउनुपर्छ । यहाँ कर्मचारी नै पार्टीका केन्द्रीय सदस्य छन् । जो मन्त्रीभन्दा तीसौँ गुणा शक्तिशाली हुन्छन् ।

भ्रष्टाचार गर्नेहरुको नाम कुकाठको रुखमा टाँसेर उसलाई ‘अन द स्पट’ जागिरबाट निकाला गर्नुपर्छ । मिडियामा सार्वजनिक गर्नुपर्छ । भ्रष्टाचार गर्नेलाई ‘अन द स्पट’ जागिरबाट निकालिने कुरा निजामति ऐनमै लेखिनुपर्छ र राष्ट्रसेवकले आफ्नो इज्जत, योग्यता, कमाई, क्षमताभन्दा उपल्लो स्तरको आर्थिक हैसियत प्रदर्शन गरेमा अख्तियारले उसलाई तत्काल जेल हाल्नुपर्छ । र, त्यस्ता व्यक्तिलाई सामाजिक बहिस्कार गर्नुपर्छ ।

तर, हाम्रो संस्कार यसको ठीक विपरीतरुपमा विकसित हुँदैछ । घुस नदिए जनताको न हरमा टालो, न मुखमा माड हुन्छ । यदि घुस दिएन भने उसलाई झन तेब्बर घुस तिराउन बाध्य बनाइन्छ । एउटा वडा सचिवको घुसको जालो केन्द्रसम्म तानिएको हुन्छ ।

प्रधानमन्त्रीको प्रतिवद्धता भनेको ‘सुखी नेपाली समृद्ध नेपाली’ । तर, गफले नेपाली सुखी हुँदैनन् । अहिले ५१ प्रतिशत कर्मचारी नेकपा निकटका ट्रेड युनियनमा छन् । उनीहरु कर्मचारीभन्दा बढी पार्टीका कार्यकर्ता भएर बसेका छन् । यी सबै कर्मचारीले भ्रष्ट्राचार आफूले पनि गर्दिनँ, अरुलाई पनि गर्न दिन्न भनेपछि के हुन्छ ? २४ घण्टा होइन ८ घण्टामै भ्रष्टाचारी नांगेझार पर्छन् । तर, उनीहरु नै भ्रष्ट्रचारी भएपछि के लाग्छ ?