संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC)को तेश्रो श्रम संसदको कार्यक्रम सम्पन्न

प्रकाशित मिति : शुक्रबार, पुस १३, २०७५

कठमाडौं/ संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेश्रो श्रम संसद आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य, माननीय श्रम मन्त्री गोकर्ण विष्टको विशेष आतिथ्य, जेटियुसिसिका वर्तमान अध्यक्ष विश्वनाथ प्याकुरेलको सभापतित्व तथा अन्य सरोकारवाला ट्रेड युनियनका पदाधिकारीहरु लगायतको उपस्थितिमा राष्ट्रिय सभा गृहमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन सरकारले स्पष्ट नीति, योजना र कार्यक्रमका साथ काम गरिरहेको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई अघि बढाउन लागि परेको उल्लेख गर्दै निराश नहुन पनि सबैलाई आह्वान गरे । उनले चालू आर्थिक वर्ष भित्र मुलुकमा असाधारण आर्थिक वृद्धि गर्ने घोषणा पनि गरे ।

कृषिमा नौं प्रतिशत आर्थिक वृद्धिदर चालू आर्थिक वर्षभित्र गर्ने प्रधानमन्त्री ओलीको महत्वकांक्षी योजना छ । शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्सार नाकाहरुबाट आयात घटन सुरु गरेको र राजस्व तीन गुणाले वृद्धि भएको उल्लेख गर्दै यसले असाधारण आर्थिक वृद्धिदरको संकेत दिएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले नौं महिनाको अवधिमा कानुन निर्माण र संस्थागत संरचना निर्माणमा ध्यान दिनु परेकाले विकास, निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै अब रफ्तारका साथ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । उनले सरकार ‘कठैबरा’ भन्ने अवस्थामा नरहेको उल्लेख गर्दैै दुनिँयाले सोचेभन्दा तीव्र गतिका साथ आर्थिक वृद्धि गर्ने दावी पनि गरे । प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार नियन्त्रणमा उल्लेख प्रगति गरेको दावी पनि गरे ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आगामी नेतृत्वको चयन यसै तेश्रो श्रम संसदले नेपाल ट्रेड युनियन महासंघ (जी फन्ट)लाई हस्तान्तरण गर्नेछ ।