सबै क्षेत्रको सिण्डिकेट छिटै अन्त्य गरिने : गृहमन्त्री थापा

प्रकाशित मिति : आइतवार, मंसिर २३, २०७५

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको जस्तै अरु क्षेत्रको पनि आलोपालो प्रणाली (सिण्डिकेट) चाँडै अन्त्य गरिने बताएका छन् ।

नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले आलोपालो प्रणालीले केहीलाई मात्र समृद्ध बनाउने भएकाले सबैलाई समृद्ध बनाउन चाँडै अन्य क्षेत्रको आलोपालो प्रणाली तोडिने बताए ।

उनले भने, “व्यवसायीको समृद्धि र जनताको सुविधाका लागि आलोपालो प्रणालीको अन्त्य जरुरी रहेको थियो ।” यातायात नै मुलुक निर्माणको एउटा आधार भएकाले त्यसलाई व्यवस्थित बनाइनेसमेत उनले जानकारी गराए ।

उनले आलोपालो प्रणालीको अन्त्य गरिए पनि केही कानूनी जटिलताले व्यवस्थित बनाउन नसकिएकाले चाँडै कानूनी जटिलता हटाइ यातायातको विकास गरिने बताए ।

गृहमन्त्री थापाले मुलुकको चाँडो विकास गर्न ऊर्जा र यातायातका माध्यमबाट सम्भव रहेको धारणा राखे । “मुलुकमा समृद्ध मानिस र सुखी मानिस पनि नभएका होइनन् तर ती मानिस आलोपालो प्रणालीको कारण आफूमात्र समृद्ध र सुखी भएका छन्” उनले भने,अब सबै नेपालीलाई समृद्ध र सुखी बनाउने अभियानमा सरकार लागेको छ ।

चीनले ‘एक क्षेत्र एक मार्ग’ अभियानमार्फत यातायातको माध्यमबाट चमत्कारी विकास गर्न खाजेको प्रसङ्ग उल्लेख गर्दै उनले नेपालले पनि चीनबाट सिकेर मुलुकको विकास गर्नसक्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा समितिका अध्यक्ष होमप्रकाश अधिकारीले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आफूहरुले आलोपालो प्रणाली तोडेर निजी कम्पनीमा गएको बताए । समितिमा ५१ वटा यातायात व्यवसायी कम्पनी आबद्ध रहेका छन् ।