सबै नेपाली नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी अब सरकारले लिने : अध्यक्ष प्रचण्ड

प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको चासो र चिन्तालाई सम्बोधन गर्न केन्द्रित रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सबै नेपाली नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी अब सरकारले लिने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको र त्यससम्बन्धी ऐनसमेत बनिसकेकाले नेपाली नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी सरकारले लिने छ ।

प्रचण्डले भने, अब कोही मान्छेले उपचारको अभावले दुःख पायो भने उसले अदालतमा मुद्दा दिन पाउँछ र अदालतले त्यो बिरामीको पक्षमा फैसला गर्नैपर्छ । किनकी संवैधानिक व्यवस्थाको कारणले त्यो अधिकार जनताले प्राप्त गरेको छ ।

उनले भारतसँगको डुबान समस्या समाधान गर्नु, चीनसँग पारवाहन सम्झौंता गर्नु, रेल सेवा सञ्चालनका लागि दुवै मुलुकसँग समझदारी गरेर अघि बढनु ऐतिहासिक उपलब्धि भएको बताए ।

अध्यक्ष प्रचण्डले अब सरकार विकास निर्माणलाई अगाडी बढाउन अघि बढ्ने तर पछि नहट्ने बताए । उनले शिक्षा नीतिमा केहि परिमार्जन गर्न आवश्यक रहेकोमा जोड दिए ।