खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसाद पदमुक्त, मन्त्रालयको काममा अटेरी गरेको मन्त्री मगरको आरोप

प्रकाशित मिति : बुधबार, मंसिर १९, २०७५

काठमाडौं/ खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बुधबार खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई जिम्मेवारीबाट हटाएकी छन् । मन्त्रालयसँग कार्यसम्पादन करार गर्न अटेरी गरेको, घोटालामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरे भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गराइएको मन्त्रालयको उच्च स्रोतले जनाएको छ।

तत्कालका लागि मन्त्रालयका उपसचिव लिलानाथ ढकाललाई महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय भएको मन्त्रालय स्रोतले जनाएको छ। भूपेन्द्र प्रसादलाई बुटवल र नेपालगञ्ज खानेपानीको पाइप खरिदमा २५ करोड रुपैयाँ घोटला गरेको आरोप लागेको छ।

प्रसादलाई खानेपानी संस्थानका विभिन्न २४ वटा शाखालाई एकलौटी ढंगले ८५ करोड रुपैयाँ विनियोजन गरेको आरोप समेत लागेको छ । यसअघि खानेपानी मन्त्रालयका कानून शाखाका उपसचिव गुणराज श्रेष्ठको नेतृत्वमा २५ करोड घोटलाको छानबिन समिति गठन भएको थियो।