सामाजिक सुरक्षा कोष : दुई साता नपुग्दै १ सय ६६ रोजगारदाता सुचिकृत

प्रकाशित मिति : मङ्लबार, मंसिर १८, २०७५

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना प्रभावकारी देखिएको छ । कोष सञ्चालमा आएको दुईसाता नबित्दै सयौंको संख्यामा रोजगारदाताहरु यस योजनामा सहभागी भएका छन् । ‘नव युगको सुरुवात’ को संज्ञा दिंदै ल्याइएका सामाजिक सुरक्षा कोषमा हालसम्म १६६ रोजगार सुचिकृत भएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषका अनुसार काठमाडौंमा मात्रै उक्त संख्यामा रोजगारदाता सुचीृकत भएका हुन् ।

विभागका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सोमबारसम्म काठमाडौंमा मात्रै १६६ रोजगारदाता कम्पनी सुचीृकत भएको बताए । हालसम्म काठमाडौंमा मात्रै १६६ रोजगारदाता कम्पनी सुचीकृत भइसकेका छन् र अरु सयौं कम्पनी सुचीकृतको प्रक्रियामा रहेका छन् ।’ उनले ठूला औद्योगिक घरानादेखि ससाना कम्पनीहरु पनि यस योजनामा सुचीकृत भएको जानकारी दिए ।

कसरी गर्ने सुचीकृत कार्यकारी निर्देशक अधिकारीले रोजगारदाताले अनलाइन मार्फत कोषको वेबसाइटमार्फत सुचिकृत गराउनु पर्ने र रोजगारदाताले सुचीकृत गराएपछि कोषले चेक जाँच गरेपछि अन्तिम सुचीृकत गरिने जानकारी दिए ।

कोषले काठमाडौँ उपत्यका भित्रका रोजगारदातालाई मंसिर ६ गतेको मितिले तीन महिना भित्र सुचीकृत हुन सकिने बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्तिक २६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै रोजगारदातालाई कोषमा सुचिकृत हुन् आग्रह गरेको थियो ।

यो योेजनाको सफल कार्यान्वयनका लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ र सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७५ कार्यान्वयनमा आइसकेको छ ।

केहो सामाजिक सुरक्षा कोष आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकहरुलाई मानवीय मर्यादा रक्षाका लागि जोखिमबाट सुरक्षा प्रदान गर्न राज्य र नागरिकहरुको साझा प्रयासमा सम्पादन गरिने कार्य नै सामाजिक सुरक्षा हो, जुन सामाजिक न्यायको अभिन्न अंगको रुपमा रहेको हुन्छ ।

विभिन्न निकायहरुमार्फत राज्यको हेरचाह स्वरुप सामाजिक संरक्षणका नाममा गरिरहको कामलाई विस्तारित रुप दिने यस योजनाले व्यक्तिगत जीवनको धेरै क्षेत्रमा जोखिम न्यूनीकरण गर्न विशेष सहुलियत र सहायताको सुनिश्चितता गर्दछ ।

राज्यले केहि दशक अघिदेखि यस क्षेत्रमा केहि कार्य प्रारम्भ गरेको र त्यसलाई विस्तार गर्दै लैजाने नीति मुताविक यो संस्थागत संरचना तयार पारेको हो ।

सामाजिक सुरक्षा संविधान प्रदत्त मौलिक हक समेत भएकोले यो राज्यको दायित्व तथा नागरिकको अधिकारका रुपमा रहेको हुन्छ । सरकारले हालै सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा कोष सरकार, रोजगारदाता कम्पनी, र श्रमिकको सहभागितामा सञ्चालन हुने कोष हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कायविधि’ २०७५ स्वीकृत गरेको छ ।

कार्यविधि अनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् ।

कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् । औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च प्राप्त गर्नेछन् ।