न्यायका लागि जनप्रदर्शन भइरहेको कार्यक्रममा प्रहरीद्वारा हस्तक्षेप, दाङमा ७ जना गिरफ्तार

प्रकाशित मिति : मङ्लबार, मंसिर १८, २०७५

दाङ/पन्तको न्यायका लागि जनप्रदर्शन भइरहेको बेला दाङमा प्रहरीले ७ जना नेपाल कम्युनिष्ट पार्टीका नेताकार्यकर्तालाई गिरफ्तार गरेको छ ।

दाङको लमहीमा निर्मला पन्तको न्यायका लागि शान्तिपूर्ण कार्यक्रम गरिरहेका नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सचिवालय सदस्यहरू किरण डाङी, एकराज चौधरी, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रितिमा चौधरी, अखिल (क्रान्तिकारी)का कृष्ण पुन, सरोज विक, देवराज पुन, गणेश सुनार लगायत विद्यार्थीलाई इलाका प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक अरुण सिंहको नेतृत्वको प्रहरी टोलीले विनाकारण ७ जनालाई गिरफ्तार गरेको नेकपा दाङले जनाएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि राज्ले अहिलेसम्म अपराधीहरुलाई कानुनी कठघरामा ल्याउन नसकेको र उक्त घटनामा राज्यले देखाएको लाचारी, गैरजिम्मेवारीपना र अपराधीलाई संरक्षण गर्ने गतिविधिले सम्पूर्ण आम नेपाली जनसमुदायलाई लज्जित तुल्याएको अवस्थामा दबाबस्वरुप शान्तिपूर्ण रुपले कार्यक्रम भइरहेको बेला इलाका प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक अरुण सिंहको ठाडो हस्तक्षेपमा उनीहरुलाई गिरफ्तार गरिएको छ ।

दाङको तुलसीपुर, घोराही र भालुबाङमा भने जनप्रदर्शन कार्यक्रम विना हस्तक्षेप सम्पन्न भएको छ । निर्मला पन्तको न्यायका लागि आज नेकपाले देशभर एकैसाथ बिशाल जनप्रदर्शन गरिरहेको छ ।