अझै बनेन रानीपोखरी, पुन: निर्माणको लागि प्राबिधिक क्षमता परीक्षण हुदै

प्रकाशित मिति : आइतवार, मंसिर १६, २०७५

काठमाडौँ / रानीपोखरी पुनर्निर्माणका लागि प्राविधिक क्षमता परीक्षणको काम भइरहेको छ । तेस्रो पटक छोटो समयको लागि आह्वान गरिएको बोलपत्रमा तीन कम्पनीले पुनर्निर्माणको लागि आशयपत्र दिएका छन् । आशयपत्र दिएका तीनवटै कम्पनीले मागअनुरूपको पत्र पेश गरे/नगरेको, तोकिएकै समयमा काम गर्नसक्ने हुन्÷होइनन् जस्ता विषयमा प्राविधिक क्षमता परीक्षण भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

पहिलो पटक पुनःनिर्माणगर्दा आधुनिक सामग्री प्रयोग गरिएको भन्दै विरोध भएपछि केही महीनाअघि कामपाले पुनर्निर्माणका लागि दोस्रो पटक बोलपत्र आह्वान गरेको थियो । दोस्रो पटक आह्वान गरिएको बोलपत्रमा दुईवटा निवेदन प्राप्त भए पनि मागअनुरूप नरहेकाले पछिल्लो पटक बोलपत्र खुल्ला गरिएको हो । प्राविधिक क्षमता परीक्षण सकिएछि आर्थिक मूल्याङ्कन गरी आगामी पुसको पहिलो सातादेखि पुनर्निर्माणको काम शुरु हुने कामपा प्रमुख विद्यासुन्दर शाक्य जानकारी दिनुभयो ।

“यस अघिनै पुनर्निर्माणको काम सक्नुपर्ने हो, विभिन्न समयमा विभिन्न व्यक्तिले गरेका विरोधका कारण काम हुनसकेन, अब ती सबै पक्षसँग छलफल भइसकेको छ, नियमितरूपमा काम शुरु हुन्छ”, शाक्यले भन्नुभयो । पुनःनिर्माणकार्य शुरु भएपछि कसैको विरोधले काम नरोकिने स्पष्ट पार्नुभयो । उहाँले पहिले पनि विपक्षहरू आफूलाई असफल बनाउन योजनाबद्ध रूपमा लागेको आरोप लगाउँदै मौलिकता कायम गर्दै आधुनिकरूपमै पुनःनिर्माणहुने पनि प्रमुख शाक्यले दोहोर्याएउनुभयो ।

गोर्खा भूकम्पका कारण पूर्णरूपमा क्षति भएको रानीपोखरीमा भूकम्प गएकै वर्ष माघ महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणको शुभारम्भ गर्नुभएको थियो । भूकम्प जानुअघिको पोखरीको स्वरूप जस्तो थियो सोही अनुरूप निर्माण कार्य छिटो गर्न समय समयमा सम्पदा प्रेमी र राजनीतिक दलका प्रतिनिधिहरूले ज्ञापन पत्र पनि पेस गरेका थिए । पुनःनिर्माणसम्बन्धी विवाद समाधान गर्न गत वर्ष पुस १३ गते गठन भएको विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने सुझाव दिएको थियो ।

मल्ल राजा प्रताप मल्लका छोरा चक्रवर्तीन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गरिएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पाँच वर्ष लगाएर प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

काष्ठमण्डप पुनर्निर्माणका लागि नक्सा प्रदर्शन 

यसैबीच काष्ठमण्डप पुनर्निर्माणको काम पनि अघि बढेको कामपा प्रमुख शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि रु पाँच करोड निकासा भइसकेको छ । गत शुक्रबार नै कामपाले काष्ठमण्डप निर्माणको लागि स्थानीयसँग सुझाव सङ्कलन गरेको थियो । सुझाव सङ्कलनका क्रममा काष्ठमण्डपको नक्सासमेत प्रदर्शन गरिएको थियो ।

सहभागी स्थानीयले ऐतिहासिक सम्पदा निर्माण गर्दा अभिलेखको अध्ययन गरिनुपर्ने, निर्माणका सामग्री गुणस्तरीय हुनुपर्ने, पुरानै मौलिकता कायम गर्नुपर्ने माग गरेका थिए । भूकम्पकै कारण पूर्णरूपमा क्षति पुगेको यस सम्पदा निर्माणका लागि रु १३ करोडको काठको प्रयोग हुने कामपा सम्पदा विभाग प्रमुख राम थापाले जानकारी दिनुभयो ।

काष्ठमण्डपसँगै हनुमानढोका दरबार क्षेत्रमा रहेको सांस्कृतिक सम्पदाको पुनःनिर्माणतीव्र रूपमा भइरहेको छ । यहाँ रहेका करीब तीन दर्जन सम्पदा मध्ये भूकम्पका कारण १० सम्पदा पूर्णरूपमा क्षति भएको र अन्यमा सामान्य क्षति पुगेको थियो । भूकम्पले क्षति पुगेका सम्पदामध्ये हालसम्म गद्दी बैठकको पुनःनिर्माणसम्पन्न भइसकेको छ । उक्त स्थानमा सबैभन्दा महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डपको पुनःनिर्माणभइरहेको छ भने माजु देग पुनर्निर्माणको शुभारम्भ भएको छ । साथै कुमारी घरको पनि भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथा विश्लेषण भइरहेको छ ।

त्यसैगरी भूकम्पले क्षति पुगेका अन्य सम्पदा पुनर्निर्माणको प्रक्रियामा रहेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखेले जानकारी दिनुभयो । उहाँका अनुसार काष्ठमण्डपको पुनःनिर्माणआगामी तीन वर्षमा सम्पन्न हुनेछ भने माजु देग पुनःनिर्माणदुई वर्षमा सम्पन्न गरिने योजनाको साथ काम भइरहेको छ । केही सम्पदाको पुनःनिर्माणसम्पन्न भइसकेको र केही पुनर्निर्माणको क्रममा रहेकाले अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदा गत कात्तिक पाँच गते एकै दिन रु १३ लाखसम्म आम्दानी गरिएको पसखेले बताउनुभयो ।

यहाँ घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कवापत रु १५० तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले रु एक हजार तिर्नुपर्छ । हनुमानढोका दरबार क्षेत्रमा रहेका सम्पदाहरूको पुनर्निर्माणका लागि कामपाले रु ४९ करोड बजेट छुट्याएको कामपाको भौतिक पूर्वाधार महाशाखाले जनाएको छ । (सझासवल डट कमबाट साभार)