अक्टोबर क्रान्ति शतवार्षिकी बिशेष कार्यक्रम सम्पन्न : समारोह समितिको तर्फबाट प्रस्तुत घोषणापत्र सहित

अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समिति

देवी खनाल प्रकाशित मिति : आइतवार, मंसिर १६, २०७५

सन् १९१९ अक्टोबर १७ का दिन रुसमा लेनिनको अगुवाइमा त्यहाँको बोल्सेभिक कम्युनिष्ट पार्टीले गरेको अक्टोबर क्रान्तिको सय वर्ष पूरा भएको अवसरमा नेपाल कम्युनिष्ट पार्टीले मिति २०७५ मंसिर १५ गतेका दिन प्रज्ञा भवनको प्राङ्गढमा अक्टोबर क्रान्ति शतबार्षिकी समापन कार्यक्रमको विशेष समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपालको कम्युनिष्ट आन्दोलनमा विशेष भूमिका निर्वाह गर्ने अग्रज कम्युनिष्ट नेताहरुलाई सम्मान गर्ने कार्यक्रमका साथ कविता वाचन, विभिन्न कलाकारहरुबाट गायन तथा नृत्य समेत प्रस्तुत गरिएका उक्त कार्यक्रम अत्यन्तै रोचक तथा स्मरणीय थियो ।

कार्यक्रमको सुरुवातमा जनसांस्कृतिक कलाकार रामेश, रायन लगायतका जनकलाकारहरुले अन्तर्राष्ट्रिय गीत गाएर कार्यक्रम शुरु गरिएको थियो । कार्यक्रमा दश जना प्रगतिवादी धारका कवि तथा कवयत्रीले कविता वाचन गर्नुभएको थियो ।

कविता वाचन गर्ने कवि तथा शीर्षक निम्न रहेको छ

केवल बेनामी, झण्डाको खेती केशव सिलवाल, सिमली छाया पुरुषोत्तम सुवेदी, युद्धको पक्षमा माधव घिमिरे अटल, लुटको ताजमहल मुक्तान थेवा, आमा र आगो राजभाइ जकमी, अक्टोबर क्रान्ति राजु स्याङ्तान, गुमनाम ताराहरु राम विनय, यस्तै लेख्छन् संगीत श्रोता, सीता शर्मा, गन्तव्य

कविता वाचन पछि नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न रुपमा महत्वपूर्ण योगदान पुर्याउने अग्रजहरुलाई सम्मान गरिएको थियो । नेपालको कम्युनिष्ट पार्टीको सुरुवात कालदेखि पार्टीमा रहेर इमान्दारपूर्वक, सत्तामोहमा नलागी नेपाली क्रान्तिमा निरन्तररुपमा अहिलेसम्म लागिरहेका बृद्ध कम्युनिष्ट नेताहरुलाई सम्मान गरिएको थियो ।

उनीहरुले क्रान्ति अझै पनि जारी छ, संसद लुटेराहरुको अखडा हो, नेपालमा अझै पनि साँच्चैको कम्युनिष्ट पार्टीको सत्ता स्थापना हुन सकेको छैन । हामीले राणा फाल्यौं, पञ्चायत फाल्यौं, राजा फाल्यौं यो सम्भव भयो भने तपाई युवाहरु जाग्नुस, निरन्तर क्रान्तिमा लाग्नुस नेपालमा कम्युनिष्ट शासन पूर्णरुपमा ल्याउन सम्भव छ भन्ने सन्देश दिएका थिए ।

उक्त सम्मान कार्यक्रममा सहिदहरुकी आमा सिन्धुली रातमाटा निवासी सीतादेवी दाहालले माला तथा खादा लगाएर सम्मान गर्नुभएको थियो भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता स्वनाम साथीले सम्मानपत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो ।

सम्मान ग्रहण गर्नुहुनेहरु
अक्टोबर क्रान्ति शतवार्षिकी समारोह नागरिक समितिले सम्मान(पत्र प्रदान गर्ने सम्मानित व्यक्तित्वहरूको नामावली स् १. खगुलाल गुरूङ (१०१) प्युठान २. हर्ष स्याङ्वो (९१) काठमाडौ ३. लक्ष्मीभक्त उपाध्याय (९१) काठमाडौ ४. बसन्त गौचन (९१) बागलुङ ५. नन्दन अर्याल (८९) बारा ६. गोविन्द महर्जन(८७) कीर्तिपुर ७। बाबुकाजी महर्जन (८७) ललितपुर ८. पुर्णलाल बिक (८७) चितवन ९. शान्तदाश मानन्धर (८६) काठमाडौ १०. खम्बसिंह कुवर (८६) चितवन ११. कृष्णदाश श्रेष्ठ (८६) काठमाडौ १२. माणिकलाल श्रेष्ठ (८६) काठमाडौ १३. स्नेहलता श्रेष्ठ (८५) काठमाडौ १४. भैरव रिसाल (८५) भक्तपुर १५. चतुरमान सुनुवार (८५) रामेछाप १६. सीताराम ठाकुर (८५) धनुषा १७. शान्ता श्रेष्ठ (८५) काठमाडौ १८. निरिश शर्मा (८५) काठमाडौ १९. लिलाधर गौतम (८५) सुर्खेत २०. गोविन्द ज्ञवाली (८४) बर्दिया

कार्यक्रममा विभिन्न जनसांस्कृतिक टोलीहरुले आफ्नो वेजोड सांस्कृतिक प्रस्तुति दिएर कार्यक्रमलाई रोजक तथा आकर्षक बनाएका थिए । जनकलाकार जेवी टुहुरे रामेश, रायन, मणि थापा, प्रदीप वम्जन, लक्ष्मी गुरुङ, टेक बलम्पाकी, लगायत विभिन्न १५ ओटा जनसांस्कृतिक कलाकारको टोलीले गाउँ गाउँबाट उठ, संसारैभरि कहाँ झुके खै, चमचम गर्ने खुकुरी साँध लाउने बेला भो लगायतका सांगीतिक प्रस्तुति दिएका थिए ।

अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समितिको तर्फबाट प्रस्तुत घोषणा  

कमरेडहरू, आजभन्दा सय वर्ष अगाडि अक्टुबर २५, १९१७ र नोभेम्बर ७, १९१७ मा रुसको पेट्रोग्राड सहरमा गरिखाने मानिसहरू आफूमाथि भएका सबैखाले विभेदहरू, अन्याय अत्याचारका विरुद्ध सडकमा ओर्लिएका थिए । रुसका गरिखाने जनताले पेट्रोगाड सहरमा सशस्त्र क्रान्तिमार्फत्् त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको यही क्रान्ति नै ‘अक्टुबर क्रान्ति’ थियो । हिउँ, हुरी, अनिकाल, युद्ध र काल मडारिइरहेको निकै अप्ठ््यारो परिस्थितिमा सम्पन्न भएको उक्त क्रान्तिको अगुवाइ कम्युनिस्टहरूले गरेको भए पनि त्यो क्रान्तिमा अग्रपंक्तिमा रुसमा क्रियाशील सोभियतहरू, सोभियतमा आवद्ध एवं आमकिसान र मजदुर तथा रुसी सैनिकहरूको समेत सक्रिय सहभागिता थियो ।

कम्युनिस्टलगायतका क्रान्तिकारीहरूले सन् १८७१ मा विद्रोहमार्फत् केही समयका लागि फ्रान्सको पेरिस सहरमा कम्युन बनाएका भए पनि अक्टोबर क्रान्ति स्तरको कम्युनिस्ट क्रान्ति संसारमा कतै भएको थिएन । यही क्रान्तिले नै संसारमा पहिलो पटक सामन्ती, पुँजीवादी भन्दा विल्कुलै भिन्न सर्वहारा वर्गको राज्यसत्ता पनि स्थापना गरेको थियो ।

त्यो क्रान्तिमा संसारका लागि रोटी, शान्ति र जमिन, जनताका लागि रोजगार, साम्राज्यवादीका लागि युद्ध र कम्युनिस्टका लागि क्रान्तिको नारा बुलन्द गरेको थियो । त्यसैको फलस्वरूप रुसी जनता ‘युद्ध होइन, क्रान्ति, जनताविरुद्ध होइन, शोषणविरुद्ध हतियार’ भन्दै कम्युनिस्ट क्रान्तिलाई युगान्तकारी विजयको रूपमा हेर्न लालायित भएका थिए । उक्त क्रान्तिले जारशाहीलाई बेदखल गर्दै फेब्रुअरी क्रान्तिबाट बनेको केरेन्स्कीको सरकारलाई खारेज गरी मजदुर, किसान र सिपाहीहरूको सर्वोच्च सोभियत सरकार गठन गरेको थियो ।

सर्वहारा वर्गको यो अधिनायकतन्त्रले आफ्नो पहिलो कामको रूपमा जग्गा जोत्नेको तथा महिला तथा तेस्रो लिङ्गीहरूमाथिका सामन्ती पुँजीवादी हेपाइ–मिचाइ र रजाइँविरुद्ध कानुन जारी गरेको थियो । रुसी सामन्ती जारशाही उत्पीडनमा आधारित राज्यसत्तालाई चकनाचुर पार्ने उक्त क्रान्ति सिंगो मानवजातिकै इतिहासमा समेत अभूतपूर्व र मानवजातिलाई समग्र रूपमा असर पार्ने युगान्तकारी क्रान्ति थियो ।

यसले मानव जीवनका राजनीति, आर्थिक वातावरण, सामाजिक परिस्थिति, पर्यावरण, सांस्कृतिक धरातल तथा सामरिक परिदृश्यमा विल्कुलै नयाँ आयाम थप्यो । अदम्य क्रान्तिकारी साहस, दूरदृष्टि, जुझारूपना र शौर्य प्रदर्शन गरी रुसका महान् जनताले कम्युनिस्टहरूको नेतृत्वमा सम्पन्न गरेको उक्त क्रान्ति, पहिलो विश्वयुद्धमा पराजित तथा छिमेकी मुलुकहरूसँगको युद्धले जर्जर भएको रुसमा, साम्राज्यवादी शक्ति, सेना र नाकाबन्दीका बीच उनीहरूकै दलाल सरकारविरुद्ध सम्पन्न भएको थियो । हुनत यो क्रान्ति रुसी भूमिमा भएको थियो तर यसले सिङ्गो दुनियाँलाई यसरी प्रभावित ग¥यो कि आज हामी जे छौँ, हामी जति छौँ र जस्ता छौँ, हामी पनि त्यही अक्टुवर क्रान्तिका उपज हौँ भन्न सकिन्छ ।

हुनत धेरै पहिलेदेखि नै वर्गीय समाजको विरुद्ध शोषित, शासित र उत्पीडितहरूले साना–ठूला विभिन्न प्रकारका संघर्ष र विद्रोह गर्दै आएका थिए । यही शृंखलाको चरमोत्कर्ष पेरिस कम्युन र अक्टोवर क्रान्ति थियो । अक्टोबर क्रान्तिमा विश्वका सर्वहारा वर्ग, उत्पीडित जातजाति तथा राष्ट्रहरूको समर्थन, सहभागिता र सहयोग रहेको थियो । त्यसैले भन्न सकिन्छ कि अक्टोवर क्रान्ति रुसी क्रान्ति मात्र थिएन बरु यो त विश्वक्रान्ति थियो ।

यो त सामन्तवाद, पुँजीवाद, साम्राज्यवाद, दलाल नोकरशाही पुँजीवाद, एकाधिकार पुँजीवाद, उपभोक्तावाद, बजारतन्त्र र विस्तारवादी हस्तक्षेपका विरुद्ध संघर्षको शंखनाद गर्दै सबै प्रकारको शासन, शोषण, उत्पीडन, अन्याय, अत्याचार, असमानताको विरुद्ध वर्गीय दुनियाँबाट वर्गविहीन दुनियाँमा प्रवेश गर्ने जमर्को थियो ।

मानवजातिको इतिहासमा यही अक्टोवर क्रान्तिले पहिलो पटक गर्भदेखि चितासम्मका भोक, रोग र शोकहरूबाट मुक्ति दिलाएको थियो । रुसी जनताको स्वच्छ हावा, शुद्ध जल, विषादीरहित पौष्टिक आहार, हावापानी सुहाउँदो आवास, सुन्दर प्रकृति, निःशुल्क सार्वजनिक शिक्षा, स्वास्थ्य जस्ता न्यूनतम आधारभूत आवश्यकता पूरा गरेको थियो ।

टेगोरको शब्दमा भन्दा ‘मानौँ ‘धर्ती नै स्वर्ग’ बनेको थियो । अन्तरिक्षको यो सानो नीलविन्दु पृथ्वीका सीमित स्रोत साधनहरूले अबका दिनमा मान्छेभित्रका सामन्ती पुँजीवाद, असीमित इच्छा आकांक्षा र तृष्णाहरू पूरा हुन सक्दैनन्् । यस्ता असीमित तृष्णाहरूले मानव समाजको टिक्ने प्राथमिक आधार आफ्नो प्रकृति, पर्यावरण र अन्य स्रोत साधनको तीव्र विनाश गर्दै मानव जाति नै लोप गराउने तीव्र संभावना बढाएको छ ।

अक्टुवर क्रान्तिको विजय र त्यसयताका विकासहरूले हामीलाई असंख्य सूचना, सेवा र सामानसहितका अनुभवहरूको भण्डार उपलब्ध भएको छ । ज्ञान, बोधी प्राप्त भएको छ । तिनै सूचना ज्ञान र अनुभवहरूमा टेक्दै वर्गीय पुँजीवादी जीवनशैली परित्याग गरी कम्युनिस्ट जीवनशैली अहिले र यहीँबाट सुरु गर्नु अक्टोवर क्रान्तिको आह्वान हो ।

हामी हारेका हौँला तर हरेश खाएका छैनौँ । हामी जिउँदै छौँ र होसमै छौँ । एक मुठ्ठी रगत भएसम्म होस र यो प्राण रहेसम्म यो वर्गीय दुनियाँ मास्ने प्रयत्न गर्ने नै हो । निर्वर्गीय दुनियाँमा बाँच्ने अनि नाच्ने प्रयत्न गर्ने नै हो । अक्टोवर क्रान्ति शतवार्षिकी समिति नेपालको अपिलमा भनिएको थियो ‘आजको संसार युगान्तकारी अक्टोवर क्रान्तिको उपज हो ।

लैङ्गिक भेदभावबाट मुक्ति, श्रमिक अधिकार, बौद्धिक सम्पत्ति (ज्ञान, सूचना, सेवा र सामान), संस्कृतिको श्रीवृद्धि, अर्थतन्त्र र प्रविधिमा देखापरेको अदभुत विकास तथा अन्याय, अत्याचार र असमानताप्रतिको संगठित विद्रोहको चेत पनि यही क्रान्तिको उपज हो । अक्टोवर क्रान्तिले नै मान्छेलाई उसको प्रतिभा, गरिमा, अस्मिता र मर्यादाका लागि आजसम्म उद्वेलित गरिरहेको छ ।’

सलाम छ क्रान्तिको अग्रभागमा उभिएका ती सबै रुसी मजदुरहरू, उत्पीडित जन, कम्युनिस्ट र सर्वहाराहरूलाई, जसले सर्वहाराहरूको सत्ता संभव छ, धर्तीलाई अझ धेरै सुन्दर बनाउन संभव छ भनेर हामीलाई शिक्षा दिनुभयो । हाम्रो हृदयमा सधँैभरि तपाईंहरू दियो बनेर बलिरहनुभएको छ । संसारलाई नयाँ बाटो देखाउने अक्टोवर क्रान्ति सय वर्ष पुगेको अवसरमा त्यसप्रति सम्मान गर्दै हामी नेपालका सचेत कम्युनिस्टहरू पनि अक्टोवर क्रान्ति शताब्दी उत्सव मनाइरहेका छौँ र अक्टोवर क्रान्तिप्रति ऐक्यवद्धता र सम्मान प्रकट गरिरहेका छौँ । स्मरण गरिरहेका छौँ ।

यतिखेर हामी भनिरहेका छौँ, कम्युनिस्ट क्रान्ति जिन्दावाद । कम्युनका प्रस्थापनाहरू अटल छन्। माक्र्सको भनाइ स्वीकार गर्दै राष्ट्र, देशको सिमाना नभएको कम्युनहरूको दुनियाँ, जहाँ शोषण, शासन, उत्पीडन, अन्याय, अत्याचार, असमानताको अन्त्य, सबैको आधारभूत आवश्यकताको परिपूर्तिको ग्यारेन्टी र स्रोत, साधन, नीति निर्माण र कार्यान्वयनमा सरोकारवालाले नै आफ्नो फैसला गर्ने, जीवनका आधारभूत आवश्यकताबारे सबैले ढुक्क हुने स्वचालित समाज निर्माणका लागि कम्युनिस्टको पहलमा मजदुर, किसान, सिपाहीको नेतृत्वमा नयाँ संसार निर्माणको क्रान्तिका लागि अघि बढौँ ।

सामन्तवाद, पुँजीवाद, विस्तारवाद, साम्राज्यवाद, दलाल नोकरशाही पुँजीवाद र नवउदारवादविरुद्ध जनआन्दोलन, जनसंघर्ष, जनयुद्ध हुँदै कथित दलित, महिला, मजदुर, किसान, जनजाति, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राजतन्त्रको अन्त्य तथा गणतन्त्रको प्राप्ति हुँदै नेपाली धर्तीमा जो यतिखेर हँसिया–हथौडा अंकित झन्डा बोकेर सडकदेखि सरकारसम्म हामी उपस्थित छौँ, के हामी अक्टोवर क्रान्तिले देखाएको बाटोमा छौँ होला ? के यसबारे गंभीर भएर सोच्न र हामी सबैले आफूलाई सच्याउने हिम्मत गर्न सकिएला ? के यो गंभीर बहस र समीक्षाको विषय बन्न सक्ला ? हामीलाई लाग्छ, हामी सबैले एकपल्ट इमान्दार भएर सोचौँ र अक्टोवर क्रान्तिले देखाएको बाटोलाई अनुसरण गरौँ ।

अन्तमा, लाल सलाम अग्रज कम्युनिस्ट योद्धाहरू, जो अहिले यहाँ सम्मानित हुँदै हुनुहुन्छ । उहाँहरूलाई व्यक्तिगत, सामूहिक, सार्भिक रूपमा हामी सबैको तर्फबाट सुस्वास्थ्य, दीर्घायुको कामनासहित कृतज्ञता तथा अभिवादन गर्दै धन्यवाद ज्ञापन गर्दछौँ । अग्रजहरूलाई, अगुवा योद्धाहरूलाई उदात्त लालसलाम । अक्टोवर क्रान्तिका उच्चतम उपलब्धिलाई समयअनुकूल आत्मसात गर्दै मानवमुक्तिमा लाग्नुहुने सबैसबैमा धन्यवाद ।

कमरेडहरू, जो यो कार्यक्रममा उपस्थित तथा सहभागी हुनुभयो, सँस्कृतिकर्मीहरू (कवि, कलाकारहरू), जसले यहाँ आफ्ना कला सिर्जनाहरू प्रस्तुत गर्नुभयो, कमरेडहरू, जसले तन, मन, धन र बुद्धि, विवेक, हृदयले तथा मन, वचन र कर्मले स्वयंसेवकको रूपमा यहाँ सहभागिता जनाउनुभयो, कमरेडहरू, जसले आर्थिक सहयोग गर्नुभयो, कमरेडहरू, जसले लोगो, ब्यानर डिजाइन आदिमा सहयोग गर्नुभयो, ती सबैसबैमा लालसलाम ।

लालसलाम ।। लालसलाम ।।। महान शहिदहरु –लालसलाम ।

अग्रज कमरेडहरूमा लालसलाम ।

इन्कलाव–जिन्दावाद ।

अक्टोबर क्रान्ति– जिन्दावाद !!!
२०७५ मंसिर १५ गते