अक्टोवर क्रान्ति शतवार्षिकी समारोह समापन कार्यक्रमको अवसरमा जारी : प्रेस विज्ञप्ती

प्रकाशित मिति : शुक्रबार, मंसिर १४, २०७५

प्रिय पत्रकार मित्रहरु आजभन्दा सय वर्ष अगाडि अक्टुबर २५, १९१७ र नोभेम्बर ७, १९१७ मा रुसको पेट्रोग्राड सहर ₍हालको सेन्ट पिटर्सवर्ग०मा गरिखाने जनताहरुले शासकहरुका विरुद्ध आन्दोलनको एक आँधी खडा गरेका थिए ।

जनक्रान्तिको त्यहीँ आँधीले तत्कालिन प्रतिकृयावादी राज्यसत्ताको अन्त्य गरी जनताको सत्ता स्थापना गरेको थियो । यहीँ महान क्रान्तिको नाम नै ‘अक्टुवर क्रान्ति’ थियो ।

हिउँ, हुरी, अनिकाल, युद्ध र मृत्यु मडारिइरहेको निकै अप्ठ्यारो परिस्थितिमा सम्पन्न भएको उक्त क्रान्तिको अगुवाइ कम्युनिस्टहरूले गरेका भए पनि त्यो क्रान्तिको अग्रपंक्तिमा रुसमा क्रियाशील सोभियतहरू, सोभियतमा आवद्ध आमकिसान र मजदुर तथा रुसी सैनिकहरू समेत हत्केलामा प्राण राखेर मृत्यु वा मुक्तिको लागि अक्टुवर क्रान्तिमा सक्रिय सहभागि भएका थिए ।

विश्वभरीमा पहिलोपटक अक्टुवर क्रान्तिले नै शासित वर्गको राज्यसत्ता स्थापना गरेको थियो ।

त्यो क्रान्तिमा संसारका लागि रोटी, शान्ति र जमिन, जनताका लागि रोजगार, साम्राज्यवादीका लागि युद्ध र कम्युनिस्टका लागि क्रान्तिको नारा बुलन्द गरेको थियो ।

त्यसैको फलस्वरूप रुसी जनता ‘युद्ध होइन, क्रान्ति, जनताविरुद्ध होइन, शोषणविरुद्ध हतियार’ भन्दै कम्युनिस्ट क्रान्तिलाई युगान्तकारी विजयको रूपमा हेर्न लालायित भएका थिए ।

सर्वहारा वर्गको यो अधिनायकतन्त्रले आफ्नो पहिलो कामको रूपमा जग्गा जोत्नेको तथा महिला तथा तेस्रो लिङ्गीहरूमाथिका सामन्ती पुँजीवादी हेपाइ–मिचाइ र रजाइँविरुद्ध कानुन जारी गरेको थियो ।

संसारलाई नयाँ बाटो देखाउने अक्टोवर क्रान्ति सय वर्ष पुगेको अवसरमा त्यसप्रति सम्मान गर्दै हामी नेपालका सचेत कम्युनिस्टहरू पनि अक्टोवर क्रान्ति शताब्दी उत्सव मनाइरहेका छौँ र अक्टोवर क्रान्तिप्रति ऐक्यवद्धता र सम्मान प्रकट गरिरहेका छौँ ।

स्मरण गरिरहेका छौँ । हामीले गत एक बर्ष यता विविध कार्यक्रमहरु गर्दै अक्टोवर क्रान्तिको शतवार्षिकी मनाइरहेका छौं ।

यहीँ सिलसिलामा अक्टोवर क्रान्तिको शतवार्षिकी समारोह समापन कार्यक्रमलाई हामी उत्सवमय तरिकाले मनाउन गइरहेका छौं ।

कार्यक्रममा आफ्नो जीवनका सुन्दरतम ६० बर्ष कम्युनिष्ट आदर्शमा अविचलित रही समाजको अग्रगामी परिवर्तनका लागि लाग्नुभएका २० जना योद्धालाई कदरपत्रले सम्मान गर्नुका साथै, कविता वाचन र साँस्कृतिक कार्यक्रमका साथै घोषणापत्र प्रस्तुत गरिनेछ ।

उक्त कार्यक्रममा उपस्थित भइ समाचार संकलन तथा प्रकाशन गरिदिनुहुन विनम्र अनुरोध छ ।

स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौं
मितिः २०७५ मंसिर १५ गते, शनिवार समयः बिहान ११ बजे
क्रान्तिकारी लालसलाम सहित
स्वनाम साथी , संयोजक अक्टोवर क्रान्ति शतवार्षिकी समारोह, नागरिक समिति
सहसंयोजक मुरारी अर्याल