अक्टोबर क्रान्ति र महिला नेतृ इनेस्सा अर्मान्द

जय कार्की प्रकाशित मिति : बिहिबार, मंसिर १३, २०७५

यो विश्वलाई नै उथलपुथल पारेको र पुँजीवादी दासताको अन्त्यको लागि सन १९१७ को समाजवादी अक्टोबर क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी महिलाहरुको ज्यादै महत्वपूर्ण भूमिका रहेको छ । समाजवादी क्रान्ति सम्पन्न गर्न आमूलपरिवर्तनकारी महिलाहरुले आफ्नो देश परित्याग गरेका छन, परिवारबाट विद्रोह गरेका छन, अनि पतिपत्नीको नाता तोडेका छन, सन्ततिको सुखी भविश्यका लागि आफ्ना साना साना सन्तानलाई तिलान्जलि दिँदै क्रान्तिको बाटो लागेका छन र क्रान्तिको ज्वारभाटामा ज्यानको बाजी थापेर क्रान्ति सम्पन्न गरिछाडेका छन । त्यसैमध्येको एक जना महिला नेतृ हुन् इनेस्सा अर्मान्द । इनेस्सा अर्मान्द बाँचुन्जेल लेनिनको समाजवादी क्रान्तिको लागि उठाएको झण्डाप्रति दृढ रहिन । अक्टोबर क्रान्तिको लागि सबै किसिमको दुःख कष्ट, यातना र निर्वासन समेत खुशीकासाथ भोग्न तयार थिइन । यस्ता क्रान्तिकारी नारीपात्र ऐले पनि श्रमिकबर्ग,महिला अधिकार तथा राजनैतिक आन्दोलनको लागि प्रेरणाको अथाह श्रोत बनिरहेका छन र आउँदो अनेकौं पिंढीसम्मको लागि पनि प्रेरणाको श्रोत बनि रहने छन । नयाँ पिँढीले गौबमय इतिहासबाट सिक्ने मुख्य कुरा भनेको नै यही हो ।
इनेस्सा अर्मान्दको जन्म सन १८७४ मा मई महिनाको ८ मा फ्रान्सको राजधानी पेरिसमा भएता पनि उहाँको कर्मभूमी भने रुस अर्थात सोभियत संघ भएको थियो । उनको पिता एकजना अभिनेता थिए । जव इनेस्सा ५ वर्षकी थिइन । उनको पिताको देहान्त भएपछि उनको काकीले रुसको राजधानी मास्को लगेकी थिइन ।
१९ वर्षको उमेरमा नै उनको विवाह अलेक्जेण्डर अर्मान्दसित भएको थियो । उनीहरु दुवै जना मिलेर किसानको छोरी छोराहरुको लागि एउटा विद्यालय खोलेका थिए । इनेस्सा असहाय महिलाहरुको लागि स्थापना गरेको गैरसरकारी संस्थासित पनि गाँसिएकी थिइन ।
उनी श्रमिक महिलाहरुलाई ज्ञान प्रदान गर्नको लागि आइतबारे (विदाको दिन संचालन गरिने विद्यालय) स्कुल संचालन गर्ने उदेश्यसहित सरकारी कार्यलयमा धाएकी थिइन तर अनुमति अस्वीकार गरेको झोकमा सामाजिक सुधार यस्तो पाराले कसरी हुन्छ भनि प्रतिवादमा उत्रेकी थिइन ।
उनी सन १९०३ मा सरकारले प्रतिबन्ध गरेको सामाजिक जनवादी श्रम पार्टीको सदस्य भएकी थिइन । अर्मान्द यो पार्टीको प्रचारात्मक काममा जुटेकोले सन १९०७ मा प्रहरीको फन्दामा परिन । उनलाई दुई वर्षको लागि साइवेरियामा आन्तरिक निर्वासनको सँजाय तोकेको थियो ।
रिहा भए लगत्तै इनेस्सा रसियाबाट पेरिस प्रस्थान गरेकी थिइन । त्यहाँ लेनिन र निर्वासित बोल्सेभिकहरु बस्दै आएका थिए । लेनिनसित अर्मान्दको पेरिसमा नै चिनजान भएको थियो । सन १९११ मा पश्चिम युरोपमा बसेका रुसी तथा बोल्सेभिकहरुलाई संयोजन गर्ने विदेश विभागको सचिवको जिम्मेवारी उनको काँधमा थियो ।
तर अर्मान्द सन १९१२ को जुलाईमा रुसमा फर्किन र दुमामा (संसद) बोल्सेभिकहरुलाई निर्वाचन गरी पठाउने अभियानमा जुटिन । तर त्यसको दुई महिनापछि नै उनी गिरफ्तार भइन र ६ महिनासम्म जेल परिन । जेल मुक्त भएपछि सन १९१३ को अगस्तमा उनी लेनिन र उनको पत्नी नाडेज्दा क्रुप्सकाया बसेको ठाउँ गालिसिया गईन । र, त्यसैबेला देखि महिला कामदार (Women Worker) “राबेत्नित्सा” को प्रकाशन र सम्पादनको कामको जिम्मा पनि लिइन ।

अर्मान्द युरोपका समाजवादीहरुले साम्राज्यावादीले चलाएको अन्धरराष्ट्रवादी युद्धको समर्थन गरेकोमा पटक्कै खुसि थिइनन । अतः उनी लेनिनले आग्रह गरे अनुसार आफ्ना हतियारहरु आफ्ना अफिसरहरु तिर तेस्र्याउ र सामाजवादी आन्दोलन शुरु गर भन्ने सामग्रीको प्रचारात्मक आन्दोलनमा जुटिन । अर्मान्द सन १९१५ मा स्वीटजरल्याण्ड गएर युद्धको बिरुद्धमा महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नमा जुटिन ।
सन १९१७ को पहिलो मार्चका दिन रुसको राजा निकोलस द्वितीयले सत्ता अस्थायी सरकारलाई सुम्पेको थियो भने विदेशमा बसेका बोल्सेभिकहरु देशको भविष्यलाई नयाँ आकारमा ढाल्ने बेलामा देश वाहिर हुनुपरेकोमा निकै चित्त दुखाएका थिए । तर जर्मनीको विदेश मन्त्रालयले देशको पुर्वी भागको मोर्चामा पनि आन्दोलनलाई बढाउन सक्ने अपेक्षाका साथ लेनिन, अर्मान्द र अरु २६ जना क्रान्तिकारीहरुका लागि पेत्रोग्रादसम्मको लागि विशेष रेल सुविधाको प्रवन्ध मिलाई दिएको थियो ।
अक्टोवर क्रान्ति सम्पन्न भएपछि अर्मान्दले मास्को सोभियतको कार्यकारिणी सदस्यको रुपमा काम गरेकी थिइन । उनी सोभियत सरकारले जर्मनीसित गरेको अत्यन्त विवाविदत र विश्वप्रशिद्ध ब्रेस्त—लितोभ्स्क सन्धीको कट्टर आलोचक थिइन । र, उनी सन १९१९ मा युद्धका समयमा बन्धक बनाईएका रुसी बन्धकहहरुलाई छुटाउन रुसी रेडक्रस मिसनको एउटा हिस्सा भएकी थिइन ।
पेत्रोग्राद फर्किएपछि उनी कम्युनिष्ट पार्टी र टे«ड यूनियनभित्र महिला समानताको लागि लडने जेनोदेलको (महिला संगठन) निर्देशक भएकी थिइन । र सन १९२० मा पहिलो कम्युनिष्ट महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलनको अध्यक्षता गरेकी थिइन । तर, उनलाई अचानक हैजाको रोगले ग्रस्त पारेकोले ४६ वर्षको उमेरमा नै दिवंगगत हुन पुगिन । उनका विषयमा समाजवाद तथा राजनीतिमा महिलाहरुको भूमिका मन नपराउने विरोधीहरुले अनेकौं आरोप लगाएका छन । लेनिनसितको अपवित्र सम्वन्धको विषयलाई उचालेका छन । तर पनि उनको स्वच्छ छवि कहिल्यै धमिलिएन । लेनिन र पत्नी क्रुप्सकायाकोेवीचमा इनेस्साको विषयलाई उचालेर कयौं पटक श्रीमान श्रीमतीको पवित्र सम्वन्धलाई क्षतविक्षत पार्न खोजे तर विरोधीहरु कहिल्यै सफल भएनन । समाजवादका लागि महिला अधिकार र ट्रेड यूनियन अधिकारका लागि इनेस्सा प्रात स्मरणीय रहेकी छन । उनको निरन्तर क्रान्तिप्रतिको अथक यात्राले सबैलाई ठूलो हौसला दिएको छ ।
समाजवादी क्रान्तिले १०० बर्ष पूरा गरेको उपलक्ष्यमा यसता महान प्रतिभाशाली समाजवादी महिला नेतृका विषयमा थप अनुसन्धान र अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

२१ औं शताब्दीमा महिला अधिकारका विषयमा नयाँ नयाँ चुनौतिहरु थपिँदै गएका छन । त्यसको समाधान पनि समाजवाद र पूर्ण महिला अधिकारप्राप्तिबाट मात्र संभव देखिएको छ । त्यसका लागि महिलाहरुले परिवर्तनशील तथा अग्रगामी राजनीतिमा बराबरीको जिम्मेवारी र भूमिका खेल्नु अपरिहार्य देखिएको छ ।

जय कार्की
कोटश्वर, पेरिसडाँडा
मंसिर १३,२०७५