देशद्रोहीकी आमा – म्याक्सिम गोर्की

प्रकाशित मिति : बुधबार, मंसिर १२, २०७५

(रुसको भोल्गा नदीको किनारमा रहेको निज्नी नोवगारोदको गरिब परिवारमा जन्मेका अलेक्सेयी म्याक्सिमोविच पेशकोवको बाल्यकाल दुःखपूर्ण रह्यो । बाल्यावस्थादेखि नै परिवारको जीविकाको लागि काममा लाग्नुपरेकोले औपचारिक शिक्षाबाट यिनी बञ्चित रहे । १८९२ मा मकरचुद्रा कथासँगै म्याक्सिम गोर्की (१८६८–१९३६) का रुपमा साहित्य आकासमा उदाएका यिनी रुसी समाजमा चेतनाको खेति गरेबापत पटकपटक जेल परे । रुसी क्रान्तिसित आफूलाई एकाकार गराउने प्रभावशाली लेखकका रुपमा चिनिने यिनी समाजवादी यथार्थवादका सिद्धान्तकार पनि थिए । यिनको कलम कथा,उपन्यास,नाटक,संस्मरण,समालोचना,जीवनी,बालसाहित्य आदि विभिन्न विधाहरूमा साधिकार चलेको पाइन्छ । आमा यिनको विश्वप्रसिद्ध उपन्यास हो । नेपाली लगायत संसारका विभिन्न भाषामा यसको अनुवाद भएको छ । यिनका धेरैजसो कृतिहरू र फुटकर रचनाहरू नेपालीमा अनुवाद भएको छ । यिनले आत्मपरक संस्मरण मेरो बाल्यकाल, मेरो विश्वविद्यालय र जीवनको बाटोमा गरी तिन खण्डमा लेखेका छन ।)

देशद्रोहीकी आमा

आमाका बारेमा जति जे गुणगान गरे पनि त्यो थोरै नै हुन्छ ।
कैयौँ सातादेखि शत्रुपक्षका सेनाहरूले यस शहरलाई फलामको पिंजरामा थुने सरी बन्दी बनाइराखेका थिए । शत्रु पक्षकाले आफ््नो किल्लामा राति बालेका आगाका राता लप्काहरू औँसीको जस्तो कालो अँध्यारोमा शहरको पर्खालमा ठोक्किंदा असङ््ख्य राता आँखाहरू लामबद्ध भएजस्तो देखिन्थ्यो । आगाका हुर्हुराउँदा विनाशकारी लप्काका घुर्कीपूर्ण उत्तालमा आँखा पर्दा बन्दी शहरका वासिन्दालाई विषादपूर्ण सोचले घुम्लुङ््ग छोप्दथ्यो ।
पर्खालका चरहरूबाट वा पर्खाल माथिबाट हेर्दा शत्रु सेनाको घेराउ झन झन बलियो र कसिलो बन्दै गएको जस्तो भान हुन्थ्यो । आगाका वरिपरि मडारिइरहेका काला छायाँहरू, कैयौँ युद्धघोडाहरू दौडँदाको टापको आवाज, हतियारहरूको खन्द्रयाङखुन्द्रुङ, शत्रुहरूको अट्टहास र जित्छौं भन्ने आत्मविश्वासका साथ शत्रुद्वारा गाइएको विजयगान । यसभन्दा बढी पीडादायी अरु थोक हुन्छ र ?
सिङगो शहरलाई आफ्नो पवित्र जल पिलाउने गरेका नदीहरू मानव शवले भरिभराउ थिए । पर्खालका आडका अङगुरका लहलहाउँदा लहराहरू शत्रुसेनाले छ््यान्नब्यान्न पारेर आगो लगाइदिएका थिए । फलपूmलका बगैँचा पनि नाश पारिदिएका थिए । सहर अब सबैतिरबाट फुङ््ग उडेको उजाड,उच्चाट र विरक्तिलो देखिन्थ्यो । शत्रु सेनाहरू तोप र बन्दुकले सुसज्जित भई गोलावारुद प्रहार गर्दै दिन प्रतिदिन सहरतिर नजिक झन नजिक लम्किरहेका थिए ।
सहरका युद्धसेनाका ससाना टोलीहरू भोको सहरको ससाना र साँगुरा सडकहरूमा ऊर्जा र उत्साहहीन मुद्रामा गस्ती गरिरहेका थिए । घाइतेहरूको चित्कार, नारीहरूको विलौना र बालबालिकाहरूको रोदन घरका झ््यालबाट निस्कँदै व्योममा फिँजिएको थियो । शत्रुले सुन्ला कि भन्ने त्रासले मानिसहरू साउतीको स्वरमा कुरा गर्थे, टुक्राटाक्री वाक्य बोल्थे, छिसिक्क आवाज आउँदा पनि शत्रु आइ पो हाल्यो कि भनी झस्केर कान ठाडा पार्थे ।
रात त अझ कष्टप्रद हुन्थ्यो । रात्रिको निरवतामा मानिसहरूको चित्कार र आर्तनादहरू झनझन टडकारो सुनिन्थ्यो । टाढाका डाँडाकाडाबाट काला छायाँहरू लुकीचोरी चाल मार्दै लुसुक्क शहरका भत्केका पर्खालतिर लस्केको देखिन्थ्यो । शत्रुको क्याम्पलाई ओझेलमा लुकाउँदै पहाडका गल्छीहरूबाट तरवारको प्रहारले क्षतविक्षत भएको ढालझैं लाग्ने कान्तिहीन चन्द्रमा बिस्तारै माथि आकाशमा उक्ल्यो ।
सहरका बासिन्दाहरू हारगुहार नपाएर निराश त थिए नै, श्रमले थकितगलित र भोकले हत्तुहैरान पनि थिए र तिनको मुक्तिको सम्भावना दिनहुँ क्षीणतर हुँदै गएको थियो । मानिसहरू भयभित आँखाले आकाशको चन्द्रमालाई हेर्दथे,पर्वतशृङ््खलाका धारिला डाँडाहरूलाई तथा गल्छीका काला उदरहरू देखेर झन सन्त्रस्त हुन्थे र शत्रुको किल्लाको हल्लीखल्लीले त तिनको सातै जान्थ्यो । आँखाले देख्ने हरेक वस्तुले तिनलाई मृत्युकै सन्देश दिन्थ्यो । तीउपर शान्त्वना प्रकट गर्नका लागि कठै त्यो आकाशमा एउटा ताराधरि थिएन ।
घरहरूमा साँझबत्ती बाल्न उनीहरू डराउँथे । सडकहरू पनि घनीभूत अन्धकारमा डुबेका हुन्थे । कालो पहिरनमा परिवेष्टित एउटी नारी अन्धकारपूर्ण सडकमा यसरी घुमिरहेकी देखिन्थी जसरी कुनै माछो समुद्रको अँध्यारो पिँधमा तैरिइरहेको हुन्थ्यो । सुईहरूको घुमाइमा चुपचाप रहेका घडीझैँ त्यो नारी पनि चुपचाप यताउता घुमिरहेकी थिई । उसलाई देखेर नगरका मानिसहरू अँध्यारैमा पनि साउतीका स्वरमा एकअर्कालाई डराईडराई सोध्थे, “यै हो त्यो आइमाई ? ” वा “त्यही आइमाई हो यो ? ”
“त्यही त हो नि !” एउटाले विश्वस्त गराउँदै भन्थ्यो ।
उसलाई देख्नासाथै उनीहरू लुक्थे, अथवा, टाउको निहु¥याएर उसका छेउबाट छिटोछिटो सरक्क बाटो काटदथे । रमनमा हिँडेका सिपाहीहरू उसलाई सजग गराउँदै भन्थे, “तिमी फेरि सडकमा निस्क्यौ, मोन्ना मरियाना ? आफ्नो ख्याल गर । होश गर, तिमी मारिन पनि सक्छयौ । नगरबासीहरू तिमीदेखि रिसाएका हुनसक्छन । अनि कसले तिमीलाई मा¥यो, त्यो कुरो पत्ता लगाउन कसैले चासो नराख्नसक्छ ।” ऊ केही बेर अडिन्छे, उनीहरूका कुरा सुन्छे । रमनका सिपाही अरु केही नभनी अगाडि बढछन । हतियारले सुसज्जित ऊतिर कसैले ध्यानै दिएका थिएनन । औँसीको जस्तो अँध्यारोमा एक्लै छोडिदिएका थिए उसलाई । निर्जन सडकमा ऊ घुमिरही, यताबाट उता, त्यताबाट यता । वल्लो सडकबाट पल्लो सडकमा र पल्लोबाट वल्लोमा गर्दै कालो अँध्यारो सहरको कालो दुर्भाग्यझैँ घुमिरहेको थियो । रातको निरवता विथोलिरहेको बालख बच्चाहरूको रोदनक्रन्दन, आर्तहरूको चित्कार, शत्रुबाट मुक्तिको उद्देश्यले गरिएको प्रार्थना र भजन तथा विजय र मुक्तिको आश मारिसकेका सिपाहीहरूको गस्तीको समवेत पदचापहरूले त्यस महिलालाई संयुक्त रुपमा पछयाईरहेका थिए ।
त्यही सहरकी बासिन्दा त्यही आमा आफ्नो छोराको बारेमा र आफ्नो देशको बारेमा सोच्दछे । उसको सहरलाई नष्ट पार्ने शत्रुसेनाको नाइके हो उसको आफ्नै प्यारो सुन्दर र हृदयहीन छोरा । एउटा समय यस्तो थियो –उसलाई आफ्नो छोरा उपर गर्व हुन्थ्यो । आफू जन्मेको, हुर्केबढेको देश र माटोको सेवा गरोस भन्ठानेर उसले आफ्नो छोरोलाई सेनामा भर्ति गराएकी थिई । छोरो सेनामा भर्ति भइसकेपछि उसलाई आफ्नो छोरा उपर झन गर्व भएको थियो—उसले देशलाई एउटा योद्धा उपहार दिएकी भन्ठानेकी थिई उसले । गुमानले ऊ गदगद थिई । उसको छोराले आफू जन्मेको र ऊ पनि जन्मेकी देशको, माटोको सेवा गर्ने छ भनेर । धेरै भएको छैन । अस्ति भर्खरको कुरो जस्तो लाग्छ । उसको शरीरको केस्राकेस्रामा यही सहर बसेको थियो । यस शहरको एकएक ढुङगा, एक एक घरले उसलाई आफ्ना अग्रजहरूको, पूर्खाहरूको सम्झनाले तरोताजा बनाइदिन्थ्यो । सहरका यी घरहरू जसले बनाएका थिए तिनको स्मृति आलो बनाइदिन्थ्यो । यो नगरको रक्षकको रूपमा उभिएको यो अग्लो पर्खाल तिनैले बनाएका थिए । यो माटो –धरती जहाँ उनीहरूको कला, सङ््गीत मौलाएको थियो । उनीहरूका आशा आकाङ््क्षा यही माटोमा हुर्के बढेका थिए । तर अब यो हृदयले एकजना प्रिय व्यक्ति गुमाइसकेको थियो । त्यसलाई माया मार्ने प्रयासमा उसको मन रुँदारुँदै छियाछिया भएको थियो । उसले आफ्नो हृदयको तुलोमा आफ्नो छोरा र देशप्रतिको प्रेमलाई तौली । तुलोको कुन चाहिँ तावा (पलडा) धेरै गह्रौँ छ –त्यो निक्र्यौल गर्न उसलाई निकै सकस भयो । त्यसैले ऊ रातभरि सडकमै घुमिरही –गह्रौँ मन बोकेर । कतिले त उसलाई चिनेनन पनि, चिन्नेहरू कतिपय त डरले लुके । धेरैले उसलाई मृत्युको साक्षात अवतार ठाने किनकि मृत्यु त तिनीहरूका लागि सङघारमै आइपुगेजस्तो भएको थियो । ढिलोचाँडो मान्छेले उसलाई चिने नै तर देशद्रोहीकी आमा भनेर । अनि त मान्छेहरू मुन्टो परक्क बटारेर फर्कन्थे, तर्केर छेउ लाग्थे ।
सहरको निर्जन क्षेत्रमा उसले एकदिन एउटी महिलालाई एक्लै एउटा शवको छेउमा घँुडा मारेर हलचल समेत नगरी बसिरहेको देखी । ऊ यसरी बसिरहेकी थिई –लाग्थ्यो ऊ धरतीकै एउटा अंश हो । अनुहार आकाशतिर फर्काएर त्यो आइमाई प्रार्थना गर्दै रहिछ । उसको अनुहार गहिरो दुःखमा निर्लिप्त थियो । पछिल्तिरको पर्खालको आडमा पहरा दिइरहेका सिपाहीहरू थिए । उनीहरू मसिनो स्वरमा कुरा गर्दै थिए तर तिनका हतियारहरू चाहिँ ढुङ््गाहरूमा टयाङटयाङ गर्दै समवेत स्वर निकालिरहेका थिए ।
देशद्रोहीकी आमाले सहानुभूतिपूर्वक सोधी,“तपाईँको पति ..?”
“होइन ।”
“ तपाईको भाइ..? ”
“मेरो छोरा । मेरा पति तेह्र दिनअघि युद्धमा मारिएका थिए । आज मेरो छोरो पनि सहिद भयो ।” अनि फेरि आफ्नो टाउको घुँडाका बीचबाट उठाउँदै माथि आकाशतिर हेर्दै मसिनो स्वरमा भनी,“देवी म्याडोनाले सब हेरिरहेकी छिन । म उनलाई धन्यवाद दिन्छु ।”
“किन ? ” सोधी उसले ।
अर्की भन्न थाली, “ऊ आफ्नो देशको लागि लडदालडदै सम्मानपूर्वक मरेको हो । ऊ असाध्य कमलो मनको भएको हुनाले मलाई डर लागिरहेको थियो –कतै ऊ पनि ईश्वर र मानवताको शत्रुसमान मरियानाको छोराले झैँ आफ्नाहरूलाई धोखा दिएर कतै वैरीपट्टि त लागोइन ? हुन सक्छ उसकी आमा मरियानाको कोखमै कुनै त्रुटि थियो होला र त ..।” मर्माहत मरियाना दुबै हातले आफ्नो अनुहार छोप्दै अर्कोतिर हिँडी । भोलिपल्ट ऊ नगर रक्षाका लागि तैनाथ सैनिकहरू समक्ष नगरद्वारमा पुगी र भनी, “मेरो छोरो तपाईँहरूको वैरी हो त्यसैले कि त मलाई मारिदिनुस कि त मेरा लागि ढोका खोलिदिनुस ता कि म शहरबाहिर ऊनिर जान सकुँ ।”
“तिमी एउटा मानिस हौ । तिम्रा लागि आफ्नो देश महान हुनुपर्छ । तिम्रो छोरो हाम्रा लागि जस्तो वैरी बनेको छ –तिम्रा लागि पनि ऊ त्यस्तै वैरी हो । ” उनीहरूले उसलाई सम्झाउन खोज्दै भने ।
“म उसकी आमा हुँ । म उसलाई माया गर्दछु त्यसैले उसले जे गर्दछ त्यसका लागि मलाई पनि दोषी मानिन्छ नै ।” उसले जिरह गरी ।
उसको कुरा सुनेर सैनिकहरूले मुखामुख हेरे र तुरून्तै आपसमा सरसल्लाह गरेर सबैको राय बुझेपछि नाइकेले ऊसँग भन्यो ,“ तिम्रो छोराले गरेको अपराधका लागि तिमीलाई मार्नु कदापि न्यायसङ्खत होवोइन । हामीलाई थाहा छ– यस्तो जघन्य अपराध गर्नका लागि तिमीले उसलाई प्रेरित गरिनौ । हामी तिम्रो पीडालाई बुझ्न सक्दछौँ तर अब शहरलाई तिम्रो दरकार पनि छैन । हुन त तिम्रो छोराले पनि तिमीलाई बिर्सिसकेको छ । त्यसैले तिम्रो वास्ता नगरेको होला । शैतान न ठहरियो । यदि तिमी त्यसको कर्तुतको लागि आपूmलाई जिम्मेवार ठान्छयौ भने त्यही नै तिम्रो लागि सजाय पनि भयो । यस्तो सजाय त मृत्युभन्दा झन भयावह हो नि !”
“अँ, हो त । ” स्वीकारोक्तिमा उसले भनी,“ यो त मृत्यु भन्दा पनि डरलाग्दो भयो ।”
र उसलाई शहरबाट बाहिर भौंतारिन जान तथा हण्डर खानका लागि उनीहरूले ढोका खोलिदिए । छोराले रक्तरञ्जित पारिदिएको आफ्नो त्यो मातृभूमिबाट ऊ पर जाँदै थिई । ऊ सुस्तसुस्त हिँडिरहेकी थिई । परसम्म पुग्दा पनि नगरद्वारबाट सैनिक सुरक्षाकर्मीहरू ऊ गएको हेरिरहेका थिए । धेरै पर पुगेर सानो कालो छायाँजस्तो हो कि हो कि जस्तो हुञ्जेलसम्म पनि तिनीहरूले उसलाई हेरिरहेथे । तर मरियानाका पाइलाहरू आफ्नो देशको माटोबाट अलग्गिन मानिरहेका थिएनन, त्यसैले ती अघि बढन पटक्कै मानिरहेका थिएनन । शहरको रक्षाका लागि लडदालडदै शहीद भएकाहरूको शव उपर श्रद्धाले शिर नमन गर्दै बाटामा भेटिएका हतियार पन्छाउँदै पछिल्तिर फर्केर उसले देशलाई शत्रुबाट जोगाउनका लागि लडिरहेका सिपाहीहरूतिर हेरी । उनीहरू आफूउपर प्रक्षेपण गरिएका हतियारहरू यताउति फ्याँकिरहेका थिए । आमाका लागि त ज्यान लिने हरेक हतियार डरलाग्लो नै हुन्छ । तिनी त जीवनको रक्षा गर्नेहरूको रक्षा गर्न चाहन्छिन्् ।
हिँडदाखेरी उ निकै सतर्क भएर अघि बढदै थिई मानौं उसले आफूसँग एक शिशि पानी बोकेकी छ र हिड््दाखेरीे त्यो शिशिको पानी थोपोधरि नचुहियोस्् भनी ऊ चनाखी छे । सम्पूर्ण निराशा उसले आफूसँगै लगि दिई भनी जाँदै गरेकी उसलाई हेर्दै सैनिकहरूले सोचेका होलान । आधि बाटोतिर पुगेपछि उसले फेरि आफ्नो सहरतिर फर्केर हेरी । वैरीको शिविरबाट एउटी नारी आफूहरूतिर आउँदै गरेको देखेपछि प्रसन्न भएर तिनीहरूले उसको सोधखोज गरे ।
“तिमीहरूको सेनापति मेरो छोरो हो ।” आफूलाई चिनाउँदै उसले भनी । कसैले पनि उसमाथि शंका गरेनन । तिनीहरूले उसको अभिवादन गरे । स्वागतमा गीत गाए । उसको छोराको बखान गर्दै प्रशंशाका पुलहरू पनि ठड््याए । तिनीहरू सबैका कुराहरू उसले पालैपालो सुनीरही । कुनै आश्चर्य नमानीकन उसको शिर गर्वोन्मत भइर््ह््यो । अन्त्यमा पालो थियो –एउटा युवकको । जुन युवक उसको सम्मुख उभिएको थियो त्यसलाई त्यो जन्मनु भन्दा पनि नौ महिना अघिदेखि नै ऊ चिन्दथी । ऊ त उसकै एउटा अभिन्न खण्ड थियो । उसले भिरेका हतियारहरूमा पनि बहूमुल्य रत्नहरू जडिएका थिए । सबै थोक उसले कल्पना गरे अनुसारकै थियो –सुप्रसिद्ध, मूल्यवान र प्रशंशायोग्य ।
“आमा ! ” उसको हातमा म्वाई खाँदै सेनापतिले भन्यो ,“तिमी मनिर आयौ । म असाध्य हर्षित छु । अब तिमी मसँगै भयौ नि । देखौली, भोलि नै म त्यो सहरलाई आफ्नो अधिनमा पार्ने छु ।”
“त्यो सहर जहाँ तिमी जन्मिएका थियौ । ” आमाले उसलाई पुराना दिनको सम्झना गराई ।
“म जगतका लागि जगतमा जन्मेको हुँ र म जगतलाई आफ्नो उपस्थितिको आभाष गराउन चाहन्छु । ” आफ्नो साहस ,शक्ति र सौर्यको अभिमान दर्शाउँदै उसले भन्यो , “ मैले तिम्रा खातिर मात्र यस सहर उपर धावा नबोलेको थिएँ । यो त मेरो जिउमा शुल झैँ बिझिरहेको छ । मेरो यशको बाटोमा बाधक बनिरहेछ । अब त भोलि नै म मुर्खहरूको गुँडलाई तहसनहस पारिदिनेछु ।”
“त्यही नगरलाई जहाँका हरेक ढुङ््गासमेतलाई तिम्रो बालपनको आलो सम्झना छँदैछ ।” आमाले भनी ।
“ढुङ््गाहरू बहिरा हुन्छन्् । मानिसले तिनलाई बोल्ने योग्य बनाइदिएपछि मात्र ती सजिव बन्ने हुन । अब त शिखरहरूलाई मेरा बारेमा सुनाइनु पर्दछ । म त शिखरतिर लम्किरहेछु । ”
“अनि मानिसहरू नि ? ” उसले सोधी ।
“अँ आमा , तिनलाई मैले बिर्सेको छुइँन । मलाई तिनको निकै आवश्यकता छ किनकि वीरहरूको सम्झनालाई तिनले नै साजी राख्न सक्दछन् । ”
“वीर त ती हुन् जो मृत्युका विरुद्ध जीवनका पक्षमा लडदछन्् र मृत्युउपर विजय प्राप्त गर्दछन्् ।”उसले भनी ।
“होइन । नगरलाई नष्ट गर्नेहरू , “ प्रतिवाद गर्दै उसले भन्यो, “नगर निर्माण गर्नेहरूझैँ नै महान हुन्छन्् । रोम कसले बनाएथ्यो –एइनियसले वा रोमुलसले तर एलरिकको नाम सबैलाई थाहा छ किनकि उसले रोमलाई धुुलिसात्् पारिदिएको थियो ।”
“हो, उसले सबै सर्जक नामहरू र तिनका कामहरूलाई पनि धुलाम्य पारिदिएको थियो । ” आमाले फेरि उसलाई सम्झाउने प्रयास गरी ।
घाम डुबुञ्जेलसम्म ती दुई यसरी नै कुरा गरिरहेथे । अभिमान र दर्पयुक्त उसका कुराहरू जतिजति ऊ सुन्दै जान्थी उसको गर्वोन्मत्त शिर निहुँरिदै हुन्थ्यो ।
एउटी आमा निर्माण गर्दछे । ऊ जीवन दिन्छे र जीवनको रक्षा गर्दछे । यसैले ऊसँग विनाशको कुरो गर्नु भनेको उसैलाई समाप्त पारिदिनु हो । तर उसलाई के थाहा –ऊ आफ्ना अभिमानी वाणीहरूले आफ्नै आमाको अस्त्तित्वलाई निषेध गरिरहेछ । एउटी आमा जहिले पनि मृत्युको विपक्षमा उभिन्छे । मानिसहरूका घरहरूमा मृत्युलाई आमन्त्रण गर्नेहरूको विपक्षमा उभिन्छे । मृत्यु बाँडिहिँड््ने सँग आमा सदैव घृणा मात्र गर्दछे । तर बिचरो छोरो यो सत्य बुझ््न असमर्थ छ किनकि मानिसको हृदयलाई रुवाएर प्राप्त गरिने शीत कीर्तिका लागि उ उत्ताउलिएको छ । तर आमा जसरी जीवनको सृजना र त्यसको पालनपोषण गर्नका लागि निर्भयतापूर्वक लाग्दछे त्यसैगरी जीवन संकटापन्न हँुदा त्यसको रक्षार्थ कठोर र निर्दयी पनि बन्न सक्छे भन्ने कुरो उसको समझभन्दा पर थियो ।
उ शिर झुकाएर छोराको पालमा बसिरही । विभिन्न सुविधायुक्त त्यही पालको झ््यालबाट उसले त्यो शहर देखी जहाँ उसले जीवनमा पहिलो पटक आफ््नो उदरमा अर्को एउटा जीवन गर्भस्थ भएको सुखानुभूति बोध गरी । त्यही गर्भस्थ जीवन आज त्यो शहरलाई विनाश गर्न कम्मर कसेर लागेको छ ।
अस्ताउँदो सूर्यको किरणले सहरका भित्ताहरूमा रङ््ग छरियो मानो सिङ््गो सहर घाउ नै घाउले भरिएको छ । देख्दादेख्दै सहर कालो भयो । आकाशका ताराहरूको टिमटिममाई कुनै शवयात्रामा सामेल भएका मलामी हातहरूमा बलेका मैनबत्ती झैँ लाग्दथे ।
उसले ती अँध्यारा घरहरू देखी जहाँ मानिसहरू शत्रुका डरले साँझ बत्ती पनि बाल्दैनथे । शहरका साँघुरा गल्लीहरूमा दुर्गन्धित शवको खात पनि उसले देखी । घाइते बनी मृत्युको मुखमा पुगेकाहरूको आर्तनाद पनि उसको कानमा गुञ्जिरहेको थियो । मृत्यु पर्खदैँ गरेकाहरू मसिना स्वरमा आपसमा साउती मार्दथे । आपूmलाई प्रिय र नजिकको लाग्ने शहरका सब कुराहरू उसले आफ्नो सेनापति छोराको त्यही शिविरबाट हेरेकी थिई । उसको सेनापति छोरा उसकै निर्णय र आदेश पर्खिरहेको थियो । नगरतिर हेर्दै गर्दा उसको आत्माले भन्यो ,‘तिमी त नगरका सबैकी आमा हौ । ’


आकाशमा बादल पहाडका शिरहरू माथिबाट खोँच र टारहरूतिर, ध्वस्त हुँदै गरेको सहरतिर शिकारी चराहरूझैँ वेग हान्दै थियो ।
“बाक्लो अँध्यारो भयो भने हामी आजकै रात आक्रमण गर्न सक्छौं !” सेनापति छोराले तरवार वल्टाईपल्टाई गर्दै भन्यो , “घामको चहकमा हतियारको चमकले आँखा तिर्मिर भएर निशानमा प्रहार गर्न गाह्रो हुन्छ ,कतिपय प्रहार त त्यसै खेर जान्छ । ”
आमाले भनी, “ आऊ बाबु , आफ्नो शिर मेरो छातीमा टेकाएर एकछिन आराम गर । संभ्ःm त, केटाकेटीमा तिमी कति दयालु थियौ । सबैजना तिमीलाई कस्तो माया गर्दथे । ”
आमाको आज्ञा शिरोधार्य गर्दै उसले आमाको न्यानो वक्षमा टाउको टेकायो र आँखा चिम्लदैँ आराममा लीन हुँदै भन्यो , “ मलाई यश निकै प्यारो लाग्छ । म तिमीदेखि पनि हुरुक्कै हुन्छु । म आज जे छु जस्तो छु त्यो सब तिम्रै देन हो । ”
“र नारी ! ” निहुरिएर छोराको मुहारमा हेर्दै उसले सोधी ।
“ती त बग्रेल्ती छन । कतिपय पटक त जसरी सँधै मिठाइ खाँदा अमन हुन्छ मानिस तीबाट त्यसरी नै अघाउँछन्् । ”
“तिमीलाई केटाकेटी पनि मन पर्दैनन ? ” सोधी उसले ।
“किन ? मारिनका लागि ? मैजस्तो कसैले तिनलाई मारिदेओस । त्यसले त मलाई निकै पीडा दिन्छ र बुढ््यौली र दूर्बलताका कारण म तीसँग साटो फेर्न पनि असमर्थ भइसक्नेछु ।”
“तिमी अत्यन्त सुन्दर त छौ तर बिजुलीझैँ बाँझो छौ ।”उसले सुस्केरा काढदै भनी ।
“अँ ,बिजुली झैँ ।” ऊ हाँस्यो दुई अधरहरूमा । आफ्नी आमाको वक्षमा उसले बालकलेझैँ मुख लुकायो । आमाले आफ्नो कालो पहिरनले उसलाई केटाकेटीलाईझैँ छोपछाप पारी अनि उसको मुटुमा आफ्नो छुरी स्वाट््ट धसिदिई । थरर्र काँप्यो ऊ फत्रयाकफत्रयाक छटपटायो र एक छिनमा लल्याकलुलुक भयो । आफ्नो छोराको मुटु कहाँनिर धडकिरहेको छ भन्ने कुरो आमाभन्दा राम्ररी अरू कसलाई थाहा हुन्छ र । उसका शस्त्रहरू चौकिदार ( सेन्ट्री)हरूतिर हुत्याएर सहरलाई सम्बोधन गर्दै उसले भनी,“ एकजना नागरिकको हैसियतले आफ्नो देशको लागि जे गर्न सक्थेँ मैले गरेँ । एउटी आमाको नाताले म अझ पनि मेरो छोरासँगै छु । अर्को सन्तानको आमा बन्नका लागि अब म निकै बुढी भइसकेँ । त्यसैले अब मेरो जीवनको कुनै अर्थ छैन । ”
छोराको रगतमा लतपतिएको छुरी भएभरको बल लगाएर उसले आफ्नो छातीमा धसी । यसपटक पनि उसको निशाना एकदम ठीक ठाउँमा परेको थियो ।
००००

युरेसियाका कथा युरोप र एसियाका प्रसिद्ध कथाकारहरुको नेपाली अनुवादको कथा संग्रह हो । ।।विभिन्न परिवेशका श्रेष्ठ कथाहरुको संग्रहको एउटा कथा यहाँ हामीले साभार गरेका छौ । जापान, चिन, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इरान, फ्रान्स, बेलायत, रुसका लाब्ध्प्रतिस्ठित कथाकारहरुको प्रतिनिधि कथाको अनुबाद बहुप्रतिभाशालीप्रख्यात कथाकार तथा लेखक इस्मालीले गर्नु भएको हो भने प्रकाशन शिखा बुक्सले जेठ २०७३ सालमा गरेको हो । (स.)