‘ए’ डिभिजन लिग : हिमालयन शेर्पा विजयी

प्रकाशित मिति : बुधबार, मंसिर १२, २०७५

काठमडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।

एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा भएको खेलमा हिमालयन शेर्पाले मच्छिन्द्र क्लबलाई २–० गोलले हरायो । शेर्पाको जितमा आशिष गुरुङ र कर्ण लिम्बुले गोल गरे । दुवै हाफका एक–एक गोल गरेको शेर्पाका लागि आशिषले २१ औं मिनेटमा खाता खोलेका थिए ।

दोस्रो गोल कर्णले ८९ औं मिनेटमा थपेका थिए । शेर्पाका इलरिच सिबी म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

जितसँगै चारखेलबाट १० अंक बनाएको शेर्पा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । दुई अंकमा सिमित मच्छिन्द्र ११ औं स्थानमा छ । शीर्ष स्थानमा रहेको मनाङको १२ र दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १० अंक छ ।