भोलि घोषणा हुने समाजिक सुरक्षा योजनामा, श्रमिकका लागि के-के ‘कोसेली’ छन् ?

प्रकाशित मिति : सोमवार, मंसिर १०, २०७५

काठमाडौं । सरकारले भोलि मंगलबार सामाजिक सुरक्षा योजना घोषण गर्दैछ । यसले औपचारिक क्षेत्रमा आवद्ध श्रमिकलाई समाजिक सुरक्षा प्रदान गर्ने ग्यारेन्टी गर्नेछ । श्रम मन्त्री गोकर्ण बिष्टले यो योजनालार्इ श्रमिकका लागि ‘नयाँ युग’का रूपमा अर्थ्याएका छन् ।

रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकवाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् । यही रकमबाट श्रमिकलाई पेन्सन र अवकास सुविधा मात्रै दिँइदै छैन, कार्यस्थलको हुने दुर्घटनाको बीमा, कामदारको उपचार खर्चसहित श्रमिकका अाश्रित परिवारका लागि पनि विभिन्न सुविधा घोषणा हुँदैछ ।

कोषले यस्तो रकमको १ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४० प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रति परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्ध अवस्था सुरक्षा योजनाको लागि खर्च गर्नेछ । सरकारले कामदारको समाजिक सुरक्षाका लागि रोजगारदाता आवद्ध गर्ने प्रक्रिया थालिसकेको छ ।

समाजिक सुरक्षा योजनाको कार्यविधि जारी गर्दै सरकारले यी ४ योजनाहरुमा कस्ता सुविधा दिने भन्ने स्पष्ट व्यवस्था गरेको छ ।

पेन्सन र उपदान योजना

समाजिक सुरक्षा कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चय कोष वापत र ८.३३ प्रतिशत उपदान वापत समेत गरी जम्मा १८.३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोष वापत गर्नेे १० प्रतिशत योगदानको रकम गरी जम्मा २८.३३ प्रतिशत रकमबाट कोषले वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गर्नेछ । यस अन्तरगत निवृत्तभरण योजना र अवकाश सुविधा योजना ल्याइँदैछ ।

यस योजनामा सहभागी हुन योगदानकर्ताले २०७४ साल भाद्र १९ गते भन्दा अगाडिको उपदान वापत श्रम नियमावली, २०७५ बमोजिम प्राप्त गर्नेे रकम रोजगारदाताबाट भुक्तानी लिई सो भन्दा पछाडिको उपदान रकम मात्र यस योजनाका लागि पठाउनुपर्नेे व्यवस्था गरिएको छ ।

निवृत्तभरण योजनामा २०७६ साल श्रावण १ गते पश्चात कुनै पनि रोजगारदातासँग रोजगार सम्वन्ध कायम भएका श्रमिकहरु, र सञ्चय कोष र उपदान प्राप्त गरिरहेका श्रमिकहरुको हकमा निजहरुले चाहेमा वा निजहरु कार्यरत प्रतिष्ठानमा यस योजनामा सहभागी हुने भनी सामूहिक सम्झौता भएको अवस्थामा समावेश हुन सक्नेछन् ।

निवृत्तभरण योजना अन्तर्गत योगदानकर्ताको अवकाश उमेर पुरा भएपछि निजले कोषमा जम्मा गरेको योगदान रकम -रोजगारदाताको तर्फवाट भएको योगदान समेत) र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगलाई १८० महिना -१५ वर्ष) ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण पाउने छन् ।

कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कूल योगदान रकम नियमानुसार एकमुष्ठ रुपमा प्रदान गरिनेछ ।

निवृत्तभरण प्राप्त गर्न योगदानकर्ताको उमेर साठी बर्ष पूरा भएको र कम्तिमा १८० महिना वा पन्ध्र वर्ष योगदान गरेको हुनुपर्नेछ ।

अवकाश सुविधा भने निवृत्तभरण योजना लागू हुनु अगावै रोजगारीमा रहेका योगदानकर्ताले दफा १९ को कोषमा जम्मा गरिएको सञ्चय कोष र उपदान वापतको योगदान रकम, रोजगारदाताको तर्फवाट गरेको योगदान र सोमा कोषले गरेको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने रकम निज अवकाश हुँदाका वखत एकमुष्ठ भुक्तानी पाउनेछ । यस सम्बन्धी अन्य व्यवस्था कोषले समय समयमा तोके वमोजिम हुने व्यवस्था गरिएको छ ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना

यो कार्यविधिले कामदारका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना ल्याएको छ ।

यसअन्र्तगत कामदारको औषधी उपचार तथा स्वास्थ्य सुरक्षा योजना छ । त्यस्तै योगदानकर्ता वा योगदानकर्ताको श्रीमतीलाई मातृत्व सुरक्षा योजना पनि ल्याइँदैछ ।
सामाजिक सुरक्षा कोषमा ६ महिना योगदान गर्ने योगदानकर्ताले यो योजना बमोजिमको औषधी उपचार तथा स्वास्थ्य सुविधा पाउने छन् । तर मातृत्व सुरक्षावापतको सुविधा १८ महिनाको अवधिमा बाह्र महिना योगदान गरेको अवस्थामा मात्र पाउने व्यवस्था कार्यविधिले गरेको छ ।

कामदारले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्र्तगत चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रिया वापतको शुल्क, रोगको परीक्षण तथा उपचार वापतको खर्च, औषधिको बिल वमोजिमको खर्च, योगदानकर्ता वा योगदानकर्ताको श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्मको शिशुको उपचार वापतको खर्चलाई समेटिएको छ ।

यस्तै अस्पतालमा भर्ना नभएको तर उपचारका लागि अस्पतालमा आवत जावत गर्न सक्ने अवस्था नभई घरैमा बसी उपचार गराएकोमा चिकित्सक वा स्वास्थ्यकर्मीले विरामीको घरमै गई प्रदान गरेको परामर्श सेवा बापतको शुल्कलाई पनि यो कार्यविधिले किटान गरेको छ ।

योगदानकर्तालाई अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वाषिर्क रुपमा एक लाख रुपैयाँमा नबढ्ने गरी भर्ना भएको अस्पतालमा सिधै भुक्तानी गरिनेछ । योगदानकर्ता वा योगदानकर्ताको श्रीमती तथा नवजात शिशुको उपचार खर्च समेत यही रकमको हदमा नवढ्ने गरी दावी गर्न सकिने छ ।

अस्पताल भर्ना भई उपचार गराउनुपर्ने अवस्था बाहेकका योगदानकर्ताहरुलाई चिकित्सकको प्रेस्कि्रप्सन बमोजिम वाषिर्क रुपमा बढीमा पच्चीस हजार रुपैयाँसम्म प्रदान गरिनेछ ।
सुविधा दावी गर्ने योगदानकर्ताले कुल दावी रकमको २० प्रतिशत आफ्नो तर्फबाट व्यहोर्नुपर्नेछ । महिला योगदानकर्ता वा योगदानकर्ताको पत्नी प्रसूति भएको अवस्थामा प्रसूति स्याहारको लागि प्रति शिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम उपलब्ध गराईनेछ ।

यस्तो रकम २४ हप्ता भन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत प्रदान गरिनेछ । पति र पत्नी दुवै योगदानकर्ता भएको अवस्थामा भने कुनै एक जनाले मात्र यस्तो सुविधा दावी गर्नु पर्नेछ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजना

यस्तै कार्यविधिले दुर्घटना तथा अशक्तता सुरक्षा योजना पनि ल्याएको छ । यसअन्तरगत अशक्तता वापतको सुविधा, योगदानकर्ता श्रमिक रोजगारीजन्य दुर्घटनामा परी उपचार गर्नुपर्ने भएमा यस योजना वमोजिमको सुविधा प्राप्त गर्न सक्नेछन् । यो सुविधा योगदान गरेको मितिबाट लागू हुनेछ । तापनि व्यवसायजन्य रोगको उपचार तथा सो सँग सम्बन्धित अन्य सुविधा कम्तीमा दुई वर्ष योगदान गरेपछि मात्र पाउनेछन् ।

कोषले योगदानकर्ता रोजगारीजन्य दुर्घटनामा परी वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च र रोजगारीजन्य वाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले सात लाख सम्मको मात्र उपचार खर्च व्यहोर्ने छ ।

तर प्राकृतिक विपत्तिको कारण दुर्घटना भएकोमा वा सडक दुर्घटना भएकोमा वा अन्य वीमा प्रणालीबाट सुविधा पाउने अवस्थामा सामाजिक सुरक्षा कोषले कुनै खर्च व्यहोर्ने छैन ।

रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगको कारण अस्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकम मासिक रुपमा निज काममा नर्फकंदासम्म पाउनेछ ।

रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी असक्षमता भएको योगदानकर्ताको असक्षमताको अनुपातमा निजले खाईपाई आएको आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी निजको असक्षमता प्रतिशतको आधारमा जीवनकालभर निवृत्तभरण सुविधावापत मासिक रुपमा रकम पाउनेछ ।

कोषले उपलब्ध गराउने शतप्रतिशत असक्षमता वापतको मासिक निवृत्तभरण रकम नेपाल सरकारले सम्बन्धित क्षेत्रका लागि तोकेको न्यूनतम पारिश्रमिक अंकको साठी प्रतिशत भन्दा घटी र न्यूनतम आधारभूत पारिश्रमिक अंकको तीन गुणा भन्दा बढी हुने छैन । तर असक्षमताको प्रतिशत विस वा सो भन्दा कम भएमा कोषले सो बमोजिम अनिवार्य अवकाशको अवधि र असक्षमता प्रतिशतको आधारमा हिसाब गरी भुक्तानी गर्न सक्नेछ ।

आश्रित परिवार सुरक्षा योजना

कोषले योगदानकर्ताको मृत्यु भएमा पति वा पत्नीले पाउने निवृत्तभरण, सन्ततिले पाउने शैक्षिक वृत्ति, आश्रति वावु आमाले पाउने सुविधा, अन्तिम संस्कार खर्च उपलब्ध गराउनेछ ।

दुर्घटना वा व्यवसायजन्य रोगका कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको साठी प्रतिशतको दरले निज जीवित रहेसम्म निवृत्तभरण पाउने व्यवस्था पनि गरिएको छ ।

योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको अठार वर्ष उमेर पुरा नभएको सन्तति रहेको अवस्थामा सो उमेर पुरा नभएसम्म त्यस्तो सन्ततिले शैक्षिक वृत्ति वापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको चालीस प्रतिशत रकम मासिक रुपमा पाउनेछ । तर एक भन्दा वढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको साठी प्रतिशत रकमलाई दामासाहीले प्रदान गर्ने व्यवस्था भएको छ ।

कुनै सन्तानले निरन्तर अध्ययनरत रहेमा त्यस्तो सुविधा एक्काइस वर्षको उमेर पुरा नभए सम्म प्रदान गर्न सकिने व्यवस्था कार्यविधिमा छ ।

जुनसुकै कारणले योगदानकर्ताको मुत्यु भएमा वा कुनै योगदानकर्ता स्थायी असक्षमता भई लामो समय सुविधा पाएपछि मृत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रति परिवार सदस्य वा हकवालालाई पच्चीस हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराईने व्यवस्था पनि गरिएको छ ।