रुसी कथा : जुलुस

अलेक्जेन्डर सेराफिमोविच प्रकाशित मिति : शनिबार, मंसिर ८, २०७५

युरेसियाका कथा संकलन तथा अनुवाद इस्माली
प्रकाशक सिखा बुक्स जेठ २०७३

(अलेक्जेण्डर सेराफिमोविच (१८६३–१९४९) रुसी आख्यान साहित्यका लोकप्रिय स्रष्टा मानिन्छन । पिटर्सवर्ग विश्वविद्यालयमा पढदा यिनी लेनिनका दाइ अलेक्जेण्डर उल्यानोवका सहपाठी थिए । क्रान्तिकारी गतिविधिमा लागेबापत यिनी मेजेनमा निर्वासित गरिए । त्यहाँ वामपन्थी राजनीतिज्ञहरूको सरसङगतमा परेर तिनबाट प्रभावित भई माक्र्सवादतिर लहसिए । १८८९ देखि लेख्न थालेका यिनको उपन्यासहरू फलामे बाढी (द आइरन फ्लड,१९२४) र बालुवा( सैण्ड,१९५६)ले यिनलाई रुसी जनतामाझ निकै लोकप्रिय बनायो । १९१७मा यिनले बोल्सेभिक पार्टीको सदस्यता लिए । यिनी अर्डर अफ लेनिन (१९३३) र स्तालिन पुरस्कार(१९४३)बाट सम्मानित गरिएका थिए ।)

काला पोसाक पहिरिएका र कुममा कुम जोडदै हिँडिरहेका मानिसहरूको झुण्ड सहरको केन्द्रबाट गइरहेको थियो । तिनका हात–हातमा झण्डा थियो । रातो झण्डा । तिनीहरूकै साथीहरूको रगतले रङ्गिएको रातो झण्डा । मार्च गर्दैगरेका यी मानव लस्करहरूको असङख्य कण्ठबाट निस्किरहेको एकीकृत स्वरहरूले वरिपरिका तमाम विशालकाय भवनहरूलाई थर्थर थर्काउँथे – मजदूर वर्ग ! यी शब्दहरूमा जति स्वाभिमान थियो ,त्यति नै नौलोपन पनि । यी शब्द निद्र्वन्द्व हुँदै ती काला बगालहरूको शिरमाथिको व्योममा तरेली खेल्दैथे ,जसको न त सिरानको न त पुछारकै कतै अत्तोपत्तो थियो ।
छानो भएको टोप, घाँटी छोपिने ज्याकेट र काला ओभरकोट पहिरिएका यी मानिसहरू अघि बढदै थिए, अघि, झन अघि । यीमध्ये केही यस्ता नवयुवक पनि थिए , जसको हँसिलो सुकुमार अनुहारमा कहिल्यै पसिना नि आएको थिएन भने कतिपय मानिसहरू यस्ता थिए जसले उमेरको लामो चौतारी बिसाइसकेथे; जसका अनुहारमा समयको चडकनले र अनुभवले समुद्रको झैँ गम्भिरता थोपरिदिएको थिए, मानौँ ती अझ पनि विचारको समुद्रमा रुमल्लिएका होऊन । सायद, दासताको पुरानो संस्कारका विरुद्ध नयाँ धारणाहरूले उत्पन्न गरिदिएको द्वन्द्वले उनीहरूको मस्तिष्कमा खैलाबैला मच्चिएको थियो । नयाँधारणहरू जुन सबै कुराको, जसमा ती अभ्यस्त भइसकेका थिए, बिल्कुल विपरीत थिए ।
झण्डा फहराउँदै बगालपछि बगाल आउँदै थियो र हावाको तरङगमा तरेली खेल्दै थियो तिनको सामूहिक समवेत स्वर – “हामीलाई चाहिँदैन सुनको गड्ढी ।” स्वरमा स्वर थपिँदै गयो । बोलीमा बोली जोडिँदै गयो । हुँदा –हुँदै सडक ,चोक र गल्लीहरूमा यो गीत गुञ्जिन लाग्यो । सहरै थर्कमान भएझैँ लाग्यो र गीत विशृङ्खलित जिन्दगीको छटपटी र अत्यासहरूमा संवेदना बनेर चारैतिर छरियो र एउटा नयाँ शक्तिको रूप लिन थाल्यो । यो शान्तिगीत रचनाका रूपमा होइन ,बरू त्यो जनसमुद्रको आँधीमय विचारहरूमा प्रकट भइरहेथ्यो, जसले आफूलाई मान्छेका रूपमा चिन्न थालेथे ।
“साथीहरू ..! ” बोल्ने मान्छे अडियो । चारैतिर श्मसानजन्य चकमन्नता व्याप्त भयो । उसले जडवत काला जनसमुद्र उपर एक दृष्टि दौडायो र पर कतै मार्च गर्दै गरेकाहरूको पदचाप सुन्यो अनि उसले हात उठायो हावामा, र हल्लाउँदै दृढ स्वरमा बोल्न थाल्यो, “साथीहरू, हाम्रो शक्ति जुन अहिले देखिएको छ त्यो संख्याका कारणले होइन । हामी अघि बढिरहेछौँ र हामीसँग हतियार समेत छैन । हामी अगाडि बढिरहेछौँ । निहत्था हामीसँग केही छ भने काम गर्दा–गर्दा हाम्रा हातमा परेका ठेला । एकै दर्जन सशस्त्र मान्छे आउँदा नि हाम्रो रगतको खोलो बग्छ यही सडकमा । तर पनि हाम्रा शत्रुहरू हामीलाई आतङ्कित र त्रस्त दृष्टिले हेर्दै छन, किन ? किन डराउँछन ती हामी निहत्थासँग ? ”
“हाम्रा शत्रु हाम्रा हातले डराएका होइनन । ती त हाम्रा हृदयदेखि डराएका हुन । ती जागृतिदेखि, चेतनादेखि डराउँछन । ती हाम्रा मनको तृष्णा र हृदयको चाहनासँग डराउँछन । तिनीहरू चाहन्छन –हाम्रो तृष्णा र त्यो पनि मुक्तिको चाहना कहिल्यै तृप्त नहोस । हामीमा चेतना आइसकेको छ । यस्तो चेतना, जस्तो पहाडका सतहमा देखिएको धाँजा । हामीले त्यो धाँजा चिनिसकेकाछौँ, जसले हामीलाई दास बनाइराखेको छ । हामी तमाम दासहरू, कमाराहरू त्यस धाँजाको एकातिर एकत्रित छौँ र हामीलाई कमारा बनाउनेहरू अर्कातिर अर्थात पारिपट्टि । हामी दुवै थरीलाई थाहा छ, अब सम्झौताको कुनै बाटो छैन । यसैले गर्दा हाम्रा शत्रु हामीसँग अत्तालिन्छन, डराउँछन हामीदेखि । मनुष्यमाथि मनुष्यको हुकुमी सर्पको फणालाई हामीले अनिवार्यतः कुल्चिनुपर्दछ ।”
कमारा बनाउनेहरू र कमाराहरूको निरन्तर सङघर्षको चर्चा तिनले यसभन्दा अघिपनि कतिपय पटक सुनिसकेका थिए तर पनि उनीहरू फेरि त्यही कुरा बडो चाख मानेर सुनिरहेका थिए, किनभने शब्दहरूमा नयाँपन थियो, जस्तो कि बैँसमा प्यार नौलो लाग्दछ । नयाँपनको पनि आफ्नो सौन्दर्य थियो र त्यो सौन्दर्यमा पनि पवित्रता थियो जसरी मानवताका लागि जुन कुरा पुरानो छ त्यही कुरा मानिसका लागि नयाँ हुन्छ ।
एकपटक फेरि कालो जनप्रवाह घरहरूको जडपङिक्तका वीचबाट अघि बढदै थियो । झण्डाहरूको गाढा रातो धब्बा चमचमाउन लाग्यो र जनसमुद्रमाथिको व्योममा गीतको स्वर गुञ्जिन थाल्यो ।
“सुनका गड््डी चाहिन्न हामीलाई …..”
परको मटयाइलो सडक तुवाँलोमा बेरिएझैँ लागिरहेथ्यो –सुनसान सागरको बलौटे किनारझैँ निर्जन, सम्म –समथर, जसमाथि एउटा जलपक्षी कावा खाइरहन्छ । मानिसहरूले शिर उठाए । उनीहरूको नाक र आँखिभौँ फर्फराइरहेथ्यो र निधार तन्केको थियो ।
मट््याइलो बलौटे तटको आकार बढ््दै गयो । जुन कुरा यतिञ्जेल उदास र मन नलाग्नेजस्तो लागिरहेथ्यो, त्यही अब भयावह भइदियो । बल्ल थाहा भयो, त्यो त सागर तट होइन, जनसमुद्र पो थियो, सारा एउटैजस्तो थियो –जड र मौन । मानौँ शताव्दियौँदेखि लेऊ–काईले ढाकिएर चट्टानहरूका बीचमा मिल्केको कुनै ढुङ््गा होस, खिइँदै चोइटिदै मिल्केको । तिनका निस्तेज आँखाहरू बढ््दै गएको भीडमा केन्द्रित थिए ।
अफिसरको आदेश पाउनासाथै बिगुल बजाउनेले बिगुल बजायो । सङ््िगनहरू एकैसाथ चमचमाउँदै हावामा तरङ्गित भए, हातहरूमा सँधिएर बसे र तिनका टुप्पाहरू हान्निदै आउँदै गरेको जिउँदो–जाग्दो जनसागरतिर सोझिए । राइफलहरूका मुख मानिसहरूतिर सोझिए ।
चारैतिर स्तब्ध भयो तर छिनभरका लागि मात्रै । अचानक वातावरणको यो तनाव टुट््यो र मृत्युका मुखमा उभिएका हजारौँ जवान र वृद्धहरूको स्वर एकैसाथ सुनियो –
“हामी भयौँ सहिद भाग्यको लडाईँमा
हामी भयौँ सहिद …..।”
यो मृत्यु अभियान गीत बिदाको सन्देश थियो–धमिला आकाशका लागि, रगतको लालिमाजस्तो रातो सूर्यका लागि र सास रोकेर उभिएकोझैँ लाग्ने त्यस नगरका लागि । जुलुसमा सम्मिलित तमाम मानिसहरू गाउँदै अघि बढेपछि छेउछाउमा, पेटी–सडकमा र गल्लीमा एकत्रित हजारौँ मानिसहरूले तिनको सम्मानमा आफ्ना टोप फुकालेर हातमा लिए ।
“जनताका लागि मनमा प्यार लिई हामी भयौँ सहिद….
हाम्रो यो बलिदान श्रमिकहरूका लागि, हामी भयौँ सहिद. ।”
मृत्यु अभियानमा निक्लेको जुलुस र खैरो बर्दी पहिरेका मानिसहरूका बीचको दूरी घट््दै जाँदै थियो । निख्रिँदै गएको जीवन र नजिकिँदै गएको मृत्युका बीचको दूरी खुम्चिँदै थियो ।
“आगोझैँ भर्भराउँदा शब्दमा लेख्नेछौँ गाथा,
हामी भयौँ सहिद …। ”
हजारौँ मानिसहरू यो मृत्युञ्जयी गीत गाउँदै थिए र सडकहरूमा, विशालकाय भवनहरूका सेता भित्ताहरूमा शोकको प्रतीकझैँ काला झण्डाहरू फहराइरहेका थिए ।
अधिकृतले आफ्ना पौरखी अभ्यस्त नजरले घटदै गएको मृत्युको दूरीको अनुमान लगायो र हातमा समाइराखेको तरबार माथि उठायो । उसको तरबार घामको टहकमा विजुलीझैँ चम्क्यो । त्यसैबेला उसका ओठ चलमलाए र उसले फायरको आदेश दियो ।
“बिदा साथीहरू, शुभबिदा भाइहरू ….” भन्दै बढ््दै गएको जीवित लहरहरूले मृत्युको दूरीलाई हटाउन मेटाउन थाले । संगनहरू छचल्किएको पानीझैँ जमिनमा खस्दै थिए र पहिलेदेखि हतासिएका–अत्तालिएका तर अबचाहिँ प्रसन्नचित्त हाँसो अधरमा सजाउँदै फौजीहरू जनप्रवाहमा मिसिँदै थिए । तिनको अनुहार पहेँलिएको तर यौवनले भरिपूर्ण थियो । चल्दोफिर्दो कालो रङग त्यो अनन्तजनको बाढीमा खैरौ मोर्चा त्यसरी नै बिलायो, जसरी गुडदै गएको धारिलो चट्टान समुद्री किनारतर्फ उठ््दै गरेको छालमा समाविष्ट हुन्छ ।
अधिकृतले आफ्नो जड तरवारलाई तल झुकायो र अर्कातिर फर्कियो । मेसिनगनहरू मूर्खझैँ त्यहीँ ठडिइरहे । लाखौँ जनहरू मृत्युको गीत गाउँदै सडकमा मार्च गर्दै अघि बढदा त चिहानहरूको जडता र मृत्युको गीतले एउटा नयाँ जीवन प्रस्फुटित भयो । यो जीवन शक्ति र विजयको प्रतीक थियो । नयाँ जीवन सुनौलो घामझैँ हजारौँ मानिसका अनुहारमा क्रान्ति बनेर फक्रेको थियो । सडकका पेटीमा एकत्रित खचाखच भीड घोक्रो सुकाई –सुकाई मार्च गर्दै गरेकाहरूलाई बधाई दिँदै थियो र तिनको अभिनन्दन गर्दै थियो ।
०००