सान्ज घलेको दुई कविता

सान्ज घले प्रकाशित मिति : बिहिबार, कार्तिक २२, २०७५

सान्ज घले

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्म दिवसको अवसरमा सान्ज घलेको दुईवटा कविता तपाईहरु समक्ष प्रस्तुत गरेका छौं । घलेका कैयौं कविताहरु हिन्दी अखबार, समय प्रवाह र चौतारीमा प्रकाशन भएका छन् । यी दुई कविताको शीर्षक भने हामी आफैले राखेका छौं । –सम्पादक

अस्तित्व

जमानासंग रङ्ग फेर्न नजानेर

म एक्लो भएँ

कसैको साथको आशले म

पल पल जलें

अञ्जुली भरीको खुशीमा

रमाउने बरु

अस्तित्व आफ्नो मेटाएर माया

सर्वोपरि मान्नु कसरी रु

तनको सुन्दरताको मापदण्डमा

डुल्ने नयनहरु

हृदयको सुन्दरताको मापन सक्छ पो

गर्नु कसो गरि रु

संकुचित मन, सशंकित नजरले तेरस्याउँने

प्रश्नचिन्ह भारी

बुझाउन गाह्रो भो हर व्यक्तिलाई

हुँदैन चरित्रहीन एकल नारी

अनन्त यात्रा

तिम्रो संझनाहरुको गर्भ बोकी

हिंडिरहेको  छु यहाँ

डगमगाउँछ पाउ यथार्थको

धरातलमा ठेस लागि

सहाराको हात छैन त्यहाँ

आतंकित बनी छाम्छु म

हलचल शिशुको

मेरो शून्यताको साक्षीको

असमय गर्भ

तुहिनु भएन यहाँ

चाँडै हुर्किएर मुक्त हुन खोज्ने

शिशुको छ चाहना

उनलाई अँठ्याएर जिउन

खोज्दै छु म बहाना

अमुर्त छ रुप शिशुको

बज्र छ उसको प्रहार

उम्कने प्रयासमा मेरो गर्भबाट

गर्दैछ प्रहार बारम्बार

जिन्दगीको कठोर यात्रा

अझै मेरो छ बाँकी

सँझनारुपी शिशु बिना

गाह्रो छ

बिताउन जीवन एकाँकी

चर्चराउँदो छाती

घाइते गर्भ बोकी

गर्नु छ तय

अनन्त यात्रा मलाई

पल पलको पीँडामा

आनंद लिँदै

जीवन यो समर्पण

उनको स्मृतिलाई

कन्दराबाट

-दार्जिलिङ डायरी ग्रुप