शरदको पोखराले चुम्यो पीपीएलको उपाधि, पारसको चितवन ३ विकेटले पराजित

प्रकाशित मिति : मङ्लबार, कार्तिक २०, २०७५

पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले चुमेको छ ।पारस खड्काको चितवन राइनोजलाई ३ विकेटले हराउँदै शरद भेषवाकरको पोखराले उपाधि जितेको हो ।

मंगलबारको खेलको सुरुवाती चरणमा पोखरा चितवनमाथि हावी भएको थियो । पछिल्लो समयमा चितवन खेलमा फर्किने प्रयास गरेपनि जित पोखराकै पक्षमा गएको हो ।चितवनले दिएको १६१ रनको लक्ष्य पच्छाएको पोखराले १९.२ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको हो ।

रवीइन्दर सिंहले सर्वाधिक ५८ बलमा ९० रन बनाए । पोखराका लागि कप्तान शरद भेषवाकरले २२ रन जोडे ।अन्तिम २ ओभरमा ४ विकेट गुमाएको स्थितिबाट पोखराले अन्ततः उपाधि रक्षा गरेको हो । घरेलु टोली सुरुमा राम्रो लयमा भएपनि अन्तिममा धरमराएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनाएको हो । चितवनका लागि कप्तान पारस खड्काले अर्धशतकीय इनिङस खेले । कप्तान पारसले ३७ बलमा ९ चौकासहित ५१ रन जोडे ।

अनिल ३७ रनमा आउट भए । त्यस्तै सन्नी पटेलले ४३ रन जोड्दा आरिफ शेखले १४ रन बनाए ।उपाधिसँगै विजेता पोखराले २७ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सिमित बनेको चितवनले १० लाख रुपैयाँ पायो ।