गृहमन्त्री र आइजीपी सिध्याउने यस्तो पो रहेछ तयारी

प्रकाशित मिति : मङ्लबार, कार्तिक २०, २०७५

अन्डरवर्ल्ड डन दाउद इब्राहिम शैली पछ्याउँदै व्यक्तिहत्या तथा फिरौती असुल्दै आएका कुख्यात गुण्डा नाईके समिरमानसिंह बस्नेतले हाईप्रोफाइल हत्या गरी गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल हटाउने षडयन्त्र सफल पार्ने योजना बनाएको रहस्य खुलेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

महानगरीय अपराध महाशाखाले गत साता पक्राउ गरेका तीन अभियुक्तको बयानबाट यस्तो डरलाग्दो तथ्य खुलेको हो । सुटर अंमर रानामगर, लोप्साङ लामा र रोशन बुढाथोकीको बयानले यस्तो खुलासा गरेको हो । त्यो बयानको भिडियो रेकर्ड गृह मन्त्रालय पुगेको छ ।उच्च स्रोतका अनुसार गुण्डा नाइके बस्नेतले पछिल्लो समय प्रतिष्ठित मिडिया मालिकको हत्या योजना बनाएको स्रोतले जनाएको छ ।

उक्त हत्या योजनाको सूचना अपराध महाशाखाले पाएपछि गोप्य विशेष टोलीले मिडिया मालिकमाथि निगरानी गर्दै सुटरको खोजी थालेको थियो । दुई महिनाको निगरानी पछि महाशाखाको टोलीले बस्नेतका तीन सुटरलाई पक्राउ गरिसकेको छ ।

सुटरको पक्राउसँगै तत्कालका लागि गुण्डा नाइके बस्नतको योजना असफल भएको छ । उक्त योजनामा बस्नेतको मात्र हात नभई केही राजनीतिक व्यक्ति र प्रहरीकै उच्चअधिकारीको समेत संलग्नता रहेको आशंका छ । सुटरको पक्राउ अगाडि नै बस्नेतको योजना तुहिएपछि गृहमन्त्रीको ठाडो आदेशमा बस्नेतलाई मुस्ताङ कारागार सरूवा गरिएको थियो ।

तर उनको परिवारले बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि उनलाई पुन अदालतमा हाजिर गराउन काठमाडौं झिकाईएको हो । हाल बस्नेत केन्द्रीय कारागारकोे गोलघरमा छन् । बस्नेतले मिडिया मालिकका लागि किन सुटर खटाए भन्ने विषयमा प्रहरी र गृहमन्त्रालयले सुक्ष्म अनुसन्धान थालिसकेको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार यस बिषयमा छानबिन समीति बन्न सक्छ । कारागारमा रहेका बस्नेतको प्रहरीका केही अधिकारीसँग समेत नियमित सम्पर्क रहेको प्रमाण समेत महाशाखाले फेला पारेको छ । प्रहरीको खोजीमा रहेका अभियुक्तसँग समेत प्रहरीका केही अधिकारी नियमित संम्र्पकमा रहेको अनुसन्धानमा खुलासा भएको छ ।

यो संम्पर्कले प्रहरीका केही अधिकारी पनि बस्नेतको काममा सहयोगी भएको गृह मन्त्रालयको ठम्याई छ । सुरक्षामा अस्थिरता कायम गरी बस्नेत आइजी खनाल बर्खास्त भएको देख्ने इच्छामा रहेको सूटरले नै बताएका छन् ।

आफ्ना मित समेत रहेका कुख्यात गुण्डा नाइके घैंटे भनिने कुमार श्रेष्ठको ईन्काउन्टरको बदला लिन बस्नेतले मिडिया मालिक हत्याको योजना बनाएको उच्च प्रहरी स्रोत बताउँछ । उक्त योजना पूरा हुँदा सुरक्षा अस्थिरता आउने र गृहमन्त्री थापा र आइजी खनाललाई नैतिक प्रश्न उठ्न सक्ने थियो ।

को हुन् बस्नेत ?

काठमाडौं बाफलका स्थानीय बस्नेतले २०६० सालबाट गुण्डागर्दीको सुरूवात गरेका हुन् । बाफलमा टोले गुण्डाका रूपमा उदाएका बस्नेतलाई तत्कालीन समयमा अर्का गुण्डा नाइके काजी शेर्पाले मलजल गरेका थिए । ठमेलबाट दीपक मनाङ्गेले लखटेपछि समूह खडा गर्न थालेका शेर्पाले बस्नेतलाई भित्राएका थिए ।

मनाङ्गेलाई आक्रमण गर्ने योजना बनाएर हातहतियार सहित ठमेल छिरेका शर्पा सहित बस्नेतलाई तत्कालीन लैनचौर प्रहरी प्रमुख ईन्सपेक्टर हाल एसपी अशोक सिंहले आधा दर्जन तरबार र खुकुरीसहित ज्याठाबाट पक्राउ गरेका थिए ।

बस्नेतको यो पहिलो प्रहरी हिरासत थियो । केही सार्वजनिक अपराधमा २४ दिन हिरासतको बसाइँ पश्चात धरौंटीमा रिहा भएपछि शेर्पा र बस्नेतले चक्रेबाट रिसाएका कुमार घैंटेलाई समूहमा भित्राएका थिए । कुमार घैंटेको आगमनसँगै यो समूह झनै उग्र रूपमा गुण्डागर्दीमा संगल्न हुन थाल्यो ।

२०६१ मा ठमेलको संचयकोष चोकमा ग्याङ फाईट हुँदै गर्दा तरबार सहित प्रहरीको भ्यानमा ठोकिन पुगेका बस्नेत राति हिरासतको बाथरूमको झ्यालबाट फरार भएका थिए । घैंटे, बस्नेत र शेर्पाको समूहले रात्रिकालीन र रेष्टुरेन्ट र बालुवाखानीलाई आयस्रोतको माध्यम बनाउँदै संगठित रूपमा फिरौती धन्दा पनि चलाउने थाले ।

मेनपावर, कलेज हुँदै टेण्डर कब्जामा यो समूह सक्रिय हुन थाल्यो । शेर्पा ठेकदारकै रूपमा स्थापित हुन थाले भने गुण्डागर्दीको नाइके कुमार घैंटे बन्न पुगे । घैंटेका मुख्य सहयोगीका रूपमा बाफलका बस्नेत उदाए ।

तर तीन वर्ष अगाडि प्रहरी ईन्काउन्टरमा घैंटे मारिएपछि बस्नेतले त्यसको बद्ला लिन प्रहरीलाई निशाना बनाए । रहस्य खुलासा भएपछि बस्नेत फरार भई भारतको बिभिन्न ठाउँमा बस्दै आएका थिए । प्रहरीले तत्कालीन समयमा साजन गुरूङ र कारजोन गुरूङको पक्राउसँग बस्नेतको प्रहरीमाथि आक्रमण गर्ने योजना तुह्यो ।

घैंटे इन्काउन्टरमा मारिएपछि प्रहरीका तत्कालीन महाशाखाका एसएसपी सर्वेन्द्र खनाल (हाल आईजी)सँग बदला लिन समूहलाई परिचालन गर्दै आएको सूचनाको चुहावट भएपछि बस्नेत फरार भई भारत छिरेका थिए ।

भारतमा मनोज पुनसँग भेट भएपछि पुनः बस्नेतले काठमाडौंमा फिरौंतीको धन्दा चर्काएका थिए । फिरौंतीको रकममा कुरा नमिल्दा व्यवसायी तथा निमार्ण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गरेको समेत पुष्टि भईसकेको छ ।

दावा लामाको हत्या योजना, दुर्गा तिवारीको हत्या समेत बस्नेतकै योजना र आदेशमा भएको गत साता पक्राउ परेका तीनजना सुटरले खुलासा गरेका छन् । सुटरले बस्नेतकी पत्नीे माया शेरचनले हतियारको व्यवस्थापन र खर्चको चाँजोपाँचो मिलाउने गरेको बयान दिए । माया पनि अहिले प्रहरी हिरासतमा पुगेकी छिन् ।

घैंटेको ईन्काउन्टरपछि भारतमा लुकेका बस्नेतलाई विवादित ठेकेदार सन्तोष गौतमले सूचना दिने गरेको समेत पक्राउ परेका सुटर मध्यका लोप्साङले बयान दिएका छन् । लोप्साङले भने, ‘मैले चिनेको छैन, तर समिरलाई ठेक्कापट्टा सबन्धित सूचना र ठेकदारको नम्बर सन्तोष भन्ने व्यक्तिले उपलब्ध गराउँदै आएका थिए । नियमित जसो सन्तोष भन्ने व्यक्ति र समिरको भाईबरमा कुरा हुन्थ्यो ।’

हत्या भएको एक महिना अगाडि दश अर्बको हुलाकी राजमार्गको टेण्डर चिनियाँ कम्पनीलाई दिलाउन गौचन सफल भएका थिए । जसमा गौचनको समूहले महासंघको नाममा ठेक्का दिलाईदिए बापत ५० करोड कमिशन लिएका थिए ।

उक्त पैसा ठेक्का दिलाउने निकायदेखि महासंघका पदाधिकारीमा समेत भागबण्डा गरिएको थियो । महासंघ स्रोतका अनुसार भागबण्डामा नपरेका ठेकदार सन्तोष गौतमले गुण्डा नाइके बस्नेतको प्रयोग गरेर गौचन हत्या भन्दा एक महिना अगाडिदेखि गौचनलाई तीन करोडको अफर गर्दै आएको थियो । तर, गौचनले यी सब कुरा हल्का रूपमा लिदै वास्ता नगरेपछि बस्नेतको आदेशमा गौचनमाथि गोली प्रहार गरिएको सुटर अंमर राणाले समेत पुष्टि गरेका छन् ।

को हुन् सन्तोष गौतम ?

प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटेका पार्टनरका रूपमा चिनिने हेटौंडाका सन्तोष गौतमले गुण्डाका नाइकेलाई सहयोग र दुरूपयोग गर्दै आएको महासंघ स्रोत बताउँछ । गौतमले घैंटेका मित समिरमान बस्नेतलाई सहयोग गरी दुरूपयोग गर्दै आएको रहस्य समेत अहिले खुलासा हँुदै आएको छ । गौतमको गोली काण्डमा संलग्नता छ वा छैन भन्ने बारेमा प्रहरी टोलीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको स्रोत बताउँछ ।

स्रोतका अनुसार गौतमको अपराध महाशाखा र सिआईबीका केही भ्रष्ट प्रहरीसँग राम्रो सम्बन्ध रहेका कारण उनी अनुसन्धानको दायरामा सजिलैसँग तानिन सकेका छैनन् । घैंटे इन्काउन्टर पश्चात गुमनाम रहेका गौतम प्रहरीसँग हिमचिम बढाउन पुगेका थिए । घैंटेको करोडौं रकम उनीसँग भएको भन्दै अपराध महाशाखाका तत्कालिन प्रमुख खनालले निगरानी राखेका थिए । घैंटेपत्नी पिङ्की शेर्पाले समेत गौतमसँग करोडौं रूपैयाँ भएको दाबी गर्दै आएकी छिन् ।

गौतमले भने चिनजान भएको तर कुनै व्यवसायीक साझेदारी नभएको दाबी गर्ने गरेका छन् । गजुरमुखी निमार्ण सेवाको शेयर होल्डर समेत रहेका गौतमले कुनै ताका टेण्डर कब्जा गर्नकै लागि घैंटेलाई आफ्नो कम्पनीमा भित्राएका थिए । गौचन हत्या पश्चात बनेको तत्कालिन डिआईजी गणेश केसीको छानबिन समीतिले समेत गौतमको बयान लिएको थियो । तर केही नेता र प्रहरीकै सक्रियतामा गौतम जोगिएको स्रोतको दाबी छ ।