आजका पत्रपत्रिकाः साइकलमन्त्री लालबाबुसँग गाडीको लस्कर र कतारसँग श्रम सम्झौता नवीकरणको तयारि

प्रकाशित मिति : मङ्लबार, कार्तिक २०, २०७५

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकामा जीप दुर्घटनामा १० जनाको मृत्यु भएकोदेखि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टै भेला बोलाएको, केन्द्र परिवर्तनको होडबाजीमा स्थानीय तह लागिपरेको सम्मका खबर समाचारले स्थान पाएका छन् ।

त्यसैगरी, देशकै प्रदूषित सहरमा काठमाडौं दरिएको, कतारसँग श्रम सम्झौता नवीकरणका लागि सरकारले तयारी थालेको, सरकारको प्रिन्टिङ मेसिन थन्क्याएर स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजीलाई दिइएको लगायत खबरलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै महत्त्व दिएर पहिलो पृष्ठमा समेटेका छन् । साथमा साइकलमन्त्रीको परिचय बनेका लालबाबु पण्डित गाडीमन्त्रीमा परिणत भएको खबर पनि छ ।

‘साइकलमन्त्री’सँग गाडीको लस्कर

कान्तिपुर दैनिकले आज आफ्नो पहिलो पृष्ठमा प्रस्तावित निजगढ विमानस्थल क्षेत्र निरीक्षण उपसमितिले दिएको सुझावलाई मुख्य समाचारको रुप दिएर छापेको छ । समाचार अनुसार उपसमितिले वन फाँडेर शहर बनाउनु जायज नहुने सुझाव दिएको छ ।

‘घना जंगल फँडानी गरेर शहर बसाउनु आवश्यक छैन’, विमानस्थल अध्ययन उपसमितिका संयोजक माधवकुमार नेपाललाई कोट गर्दै कान्तिपुरले लेखेको छ, ‘कमभन्दा कम क्षतिमा विमानस्थल बनाउनुपर्छ भन्नेमा हामी छौं ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माण शुरु हुनुअगावै २४ लाख रुख काट्ने तयारी गरेपछि यसको पक्ष र विपक्षमा चर्को बहस भइरहेको छ । उत्पन्न विवादबीच त्यसको निरुपण गर्न उपसमिति टोलीले विज्ञ, सरोकारवाला तथा सम्बन्धित मन्त्रीसँग द्रुतमार्गको माथिमाथि निजगढसम्म पुगेर विमानस्थलको साँधसीमाना हेरेको हो ।

कान्तिपुरमै साइकलमन्त्रीका रुपमा चिनिने लालबाबु पण्डित ‘गाडीमन्त्री’मा परिणत भएको अर्को सामग्री पनि छ ।

सम्पत्ति विवरण बुझाउँदा सवारी साधनका नाममा एउटा साइकल मात्रै उल्लेख गरेका यिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ ।

मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय सचिव, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएको समाचारमा उल्लेख छ । उनको घरायसी काममा समेत सरकारी गाडी, इन्धन र चालक छन् ।

कान्तिपुर लेख्छ– उनी मन्त्रालयले उपलब्धत्र गराएको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् । यसबाहेक उनलाई गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ । यो गाडी अधिकांश समय मन्त्रीकै निवासमा हुन्छ । मन्त्रीपत्नी विमला महतले मन्त्रालयकै नाममा रहेको बा १ झ ९८४७ नम्बरको गाडी प्रयोग गरिरहेकी छन् ।

देशकै प्रदूषित शहरमा काठमाडौं पहिलो

नेपालको शहरमध्ये सबैभन्दा बढी प्रदूषित काठमाडौं रहेको राजधानीले लेखेको छ ।

विभाजन पदार्थ अर्थात् पार्टिकुलर म्याटर ९पीएम० २ दशमलव ५ का अनुसार काठमाडौंपछि नेपालगञ्ज र दाङ बढी प्रदूषित छ ।

पीएम २ दशमलव ५ अनुसार काठमाडौंमा सोमबार ७६ दशमलव ५ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको वातावरण विभागको प्रदूषण तथा नियन्त्रण शाखालाई उद्धृत गर्दै राजधानीले खबर लेखेको छ ।

राधजानीमै बिचौलियामार्फत् घुस सेटिङ मिलाएर मालदार अड्डामा कर्मचारी सरुवा हुने गरेकोदेखि कांग्रेस सभापति शेरबहादुर देउवाले विजय गच्छदारलाई उपसभापति बनाउने तयारी गरेकोसम्मका खबर पनि छन् । नेकपाको एकतामा देखिएको भद्रगोललाई राजधानीले एंकर बनाएको छ ।

सरकारको प्रिन्टिङ मेसिन थन्क्याएर निजीलाई जिम्मा

स्मार्ट लाइसेन्स छपाइ बेथितिबारे कारोबारले आज खोजबिन गरेको छ ।सरकारले आफ्नो प्रिन्टिङ मेसिन थन्क्याएर स्मार्ट लाइसेन्स छपाइको जिम्मा निजीलाई दिएको छ ।

समाचार अनुसार सरकारले निजी कम्पनी मालिका इन्कर्पोरेट प्रालिलाई थर्मल प्रिन्टिङ विधिबाट ५ लाख कार्ड ४५ दिनभित्र प्रिन्ट गर्नेगरी सम्झौता गरेको हो । उसले कार्ड छपाइसमेत शुरु गरिसकेको समाचारमा उल्लेख छ ।