मुख्यमन्त्रीलाइ नै अपशब्द प्रयोग गरेर गाली गर्ने केशव स्थापित, आफ्नै मतिका कारण दुर्गति

प्रकाशित मिति : शुक्रबार, कार्तिक १६, २०७५

यदि राजनीतिमा धैर्य, परिपक्वता र स्थिर हुन्थे भने केशव स्थापित आज नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को माथिल्लो नेतृत्वमा पुग्नुपर्ने व्यक्ति हुन् । किनकि ०४७ सालमा गठित तत्कालीन एमालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष केपी ओली हुँदा केशव स्थापित महासचिव थिए ।

ओलीपछि युवासंघको दोस्रो अध्यक्ष बनेका स्थापित आफ्नै स्वभावका कारण राजनीतिमा पछि परेनन् मात्र, धेरै विवादमा मुछिए । उनीभन्दा पछि युवा संघको अध्यक्ष बनेका अधिकांश युवा नेताहरु पार्टीको पदाधिकारी र स्थायी कमिटी अनि राज्यको मन्त्री बनिसक्दा स्थापितलाई भने प्रदेशमन्त्री पनि पचेन ।

मि टु अभियानको पहिलो तारो बनेका स्थापितमाथि काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मिला प्रजापतिले लगाएको आरोपका कारण उनी रक्षात्मक अवस्थामा थिए । महानगरपालिकाले रश्मिलाको आरोप निराधार रहेको भनेर उनको बचाउ गरेका बेला स्थापित भने आफ्नाहरुबाट सहानुभूति लिनुपर्नेमा उल्टै मुख्यमन्त्री डोरमणि पौडेलसँग झगडामा उत्रिए ।

पूर्वमेयर स्थापितलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश ३ को मन्त्री बनाएका थिए । मुख्यमन्त्री डोरमणि पौडेल उनलाई शुरुदेखि नै रुचाइरहेका थिएनन् । प्रदेशको सबैभन्दा महत्वपूर्ण मानिने भौतिक पूर्वाधार मन्त्री भएका स्थापितले विकास निर्माणमा धेरै काम गर्लान् भन्ने अपेक्षा थियो । तर, यसपटक उनी बेपर्वाह ढंगले प्रस्तुत भए ।

मन्त्रिपरिषद बैठकमा स्थापितको ‘जिरो परफरमेन्स’ को मूल्यांकन भएपछि सुधार गर्न लाग्नुपर्नेमा मुख्यमन्त्रीमाथि अभद्र ढंगले प्रस्तुत भए । क्याबिनेट बैठकमा सहभागी मन्त्रीहरुका अनुसार उनी पछिल्लो समय असन्तुलित र आबारा ढंगले प्रस्तुत हुने गरेका थिए ।

स्थापितप्रति सहानुभूति जनाउनुपर्ने ठाउँ कतै नदेखिएको उनीहरु बताउँछन् । सायद यो सबै बुझेर उनलाई बर्खास्त गर्ने मुख्यमन्त्री पौडेलको निर्णयलाई प्रधानमन्त्री ओलीले पनि समर्थन जनाए ।