सासू–बुहारी बेपत्ता पछि बुहारी मृत फेला, सासू खोई ?

प्रकाशित मिति : बिहिबार, कार्तिक १५, २०७५

बैतडीमा सासू–बुहारी बेपत्ता भएकोमा बुहारी आज मृत फेला परेकी छन् भने सासू बेपत्ता रहेकी छन् ।मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउँगाउँकी ३० वर्षीया निर्मला भट्ट रहेकी खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । बेपत्ता हुनेमा मृतक निर्मलाकी सासू ५२ वर्षीया पार्वती भट्ट रहेकी छन् ।

बुधबार घाँस काट्न भनेर घरबाट निस्केकी निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासू पार्वती खोजतलास गर्न जाँदा पार्वतीसमेत बेपत्ता भएकी प्रहरीले जनाएको छ ।दुवै रातिसम्म पनि घर नफर्किएपछि घरपरिवारका अन्य सदस्य खोजतलास गर्दा निर्मला बिहीबार बिहान स्थानीय ओडीगाउँ जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

निर्मलाकी सासू पार्वती अहिलेसम्म पनि बेपत्ता रहेकी छन् । बेपत्ता पार्वतीको खोजीका लागि प्रहरी चौकी खोचलेकबाट प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । घटना रहस्यमय रहेकाले थप अनुसन्धान अगाडि बढाइएको छ ।

सुत्केरी भत्ता वितरण भएन्

स्वास्थ्य संस्थामा बच्चा जन्माउने बित्तिकै सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता बैतडीका आमाले पाउन सकेका छैनन् । सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएबापत रु दुई हजार र नेपाल सरकारको प्रोटोकलअनुसार चार पटक जाँच गराएमा पाउनुपर्ने रु ८०० चालू आर्थिक वर्षमा वितरण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थामा बच्चा जन्माउने बित्तिकै आमालाई सुत्केरी भत्ता दिनुपर्ने नीति भए पनि सुत्केरी भत्ता वितरण गर्न नसकिएको उहाँले बताउनुभयो । जिल्लाका १० वटै स्थानीय तहमा सुत्केरी भत्ताबापतको रकम अपुग भएकाले सुत्केरी भत्ता वितरण गर्न नसकेको सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजकले जनाएका छन् ।