युगको पुकार-स्वर्निम गुरुङ

कविता

प्रकाशित मिति : बिहिबार, कार्तिक १५, २०७५

हे नारी !
ईश्वरको सुन्दर रचना 
कोमल हृदयी
ममताकी खानी
सौर्न्दर्यकि प्रतिमूर्ति
धैर्यकि देवी।।
सहनशीलताको अथाह सागर
यस्ता कैंयौ नामहरुले
सिंगारिएकी छेस तँ,
विशेषणका मीठा शब्दहरूले
सधैं नै ठगिएकि छेस तँ
भो धेरै भो
यी नामका अलंकारलाई
च्यातिदे अब,
उपनामको आडमा
बाँधिएको साँग्लो
तोडीदे अब
किनकि…
देवी सरह आज
पूज्य छैनस तँ,
तँलाई हेर्ने नजरहरू
बदली सकेको छ
तँलाई पूज्ने हातहरूले
तेरो अस्मिताको बर्को
च्यात्न थालेको छ
यसैले…
सहनशीलता तोड अब
धैर्यतालाई छोड अब
तँलाई हेर्ने वासनायुक्त आँखाहरूलाई
फोडने साहस राख
तेरो देहलाई लुछ्नु खोज्ने
पापी हातहरूलाई
तोडने हिम्मत राख
डढेलो लगाईदे ती बस्तीहरूमा
जहाँ धर्मका नाममा
अन्धविश्वासको खेती लगाई
कामपिपाशु राक्षसहरू
तँलाई लुछ्नलाई
घात लगाई बसेका छन् 
जलाईदे ती कामुक देहहरू
जसले फक्रिन नपाएका
कलिला कोपिलाहरूलाई
निर्दयताका साथ
भोगेका छन्।
हे नारी ! 
अबला बन्न छोडी दे अब
सहनशीलतालाई त्यागेर
आक्रोशित बन,
धैर्यतालाई त्यागेर
उग्र बन।
हेर त
तँ जस्ता कति नारी
चन्द्रमामा पुगिसके,
तँ जस्ता कति नारीले
सागरमाथामा पाइला टेकिसके
वायुविमान उडाईसके
राष्ट्रपति ,प्रधानमन्त्री बनिसके
यसैले
विद्रोहको शंखनाद गर
प्रण गर अब
आफ्नो सुरक्षाकवच आफै बन्ने,
आफ्नो अस्मिताको रक्षा आफै गर्ने
किनकि …
यूग अब बदलिसकेको छ
किनकि..
यूगले अब कोल्टे
फेरि सकेको छ

स्वर्निम गुरुङ, Darjeeling

नोटः यस कविताको भाव अनुसार प्रयोग गरिएकोपेन्टिङ एआईटियुसीको राष्ट्रिय महाधिवेशनको समयमा बेंगालुरुमा प्रदर्शन गरेको फोटो प्रदर्शनी अवोलोकन गर्नेक्रममा अन्टुफ उपाध्यक्ष तथा पत्रकार जय कार्कीले खिचेको हो । सो बेला निर्भया सामूहिक बलत्कार र हत्याकाण्डले भारत हल्लिएको थियो । तर पेन्टिङको आर्टिष्टबारे जानाकारी भएन ।-Editor