चिनियाँ पत्रकारलाई कार्यवाहक राष्ट्रपतिले भने, नेपाल आर्थिक समृद्धिको मार्गमा छ, प्रचार गरिदिनुहोस

प्रकाशित मिति : बुधबार, कार्तिक १४, २०७५

कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार गरिदिन चीनका पत्रकारहरुलाई आग्रह गरेका छन् ।

मंगलबार अपरान्ह भएको भेटमा नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारहरुलाई कार्यवाहक राष्ट्रपतिले चीनमा प्रचारप्रसार गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन आग्रह गरेका हुन् ।

कार्यवाहक राष्ट्रपतिलाई भेट्न अल चाईना जर्नालिस्ट एशोसिएसनका महासचिव पान काङ नेतृत्वको ६ सदस्यीय प्रतिनिधि मण्डल उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेको थियो । भेटमा कार्यवाहक राष्ट्रपतिले नेपाल आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको समेत बताए ।

नेपाल आर्थिक समृद्धिको मार्गमा छ । जलविद्युत, कृषि, पर्यटन, जडिबुटी क्षेत्रको विकास र पूर्वाधार निर्माण नेपालको समृद्धिको आधार हुन्’, उनले भने, चिनियाँ पत्रकार मित्रहरुलाई मेरो आग्रह छ, नेपालको पर्यटनको बारेमा चीनमा प्रचार प्रसार गरिदिनुस्, ताकी धेरै भन्दा धेरै चिनियाँ मित्रहरु नेपालको भ्रमणमा आउन् ।

कार्यवाहक राष्ट्रपतिले चीन र नेपालका पत्रकारहरुले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन योगदान दिनुपर्ने बताए । ‘पत्रकारहरुले जनतालाई सु–सुचित गराउनुपर्दछ ।
त्यसका सँगसँगै मित्रराष्ट्रको सम्बन्धलाई प्रगाढ बनाउन पनि योगदान दिनुपर्दछ’, नेपाल पत्रकार महासंघका अध्यक्ष लगायतका पदाधिकारीहरु समेतको उपस्थितिमा उनले भने, ‘नेपाली र चिनियाँ पत्रकारहरुले दुई देशको सम्बन्धलाई जनस्तरसम्म थप प्रगाढ बनाउन मद्दत पुर्याउनु होस् ।

कार्यवाहक राष्ट्रपतिसँगको भेटमा अल चाईना जर्नालिस्ट एशोसिएसनका महासचिव काङले नेपाल चीन सम्बन्धलाई थप प्रगाढ बनाउन दुई देशका पत्रकारबीच बलियो सहकार्य भईरहेको बताए । उनले समृद्धिका लागि नेपालले अत्यन्त सम्भावना बोकेको उल्लेख गर्दै नेपालको पर्यटन प्रवद्र्धन लगायतको क्षेत्रमा आफूहरुको सक्दो सहयोग हुने बताए ।