तामाकोशीको शेयर बाँडफाँड आज हुने, दोलखावासीले न्यूनतम ३४ देखि अधिकतम १०२ कित्ता शेयर पाउने

प्रकाशित मिति : बुधबार, कार्तिक १४, २०७५

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी निर्माणको अन्तिम चरणमा पुगेको दोलखा स्थित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाबासीका लागि आज पहिलो चरणको शेयर बाँडफाँड गर्ने भएको छ ।

माथिल्लो तामाकोशी आयोजनाको शेयर विक्रि प्रवन्धक नागरिक लगानी कोष र सहायक प्रवन्धक सनराईज क्यापिटलले २ लाख ७६ हजार आवेदकको लागि आज शेयर बाँडफाँड गर्ने भएको हो ।

माथिल्लो तामाकोसी आयोजनाका प्रमुख बिज्ञानप्रसाद श्रेष्ठले हिजो धितोपत्र बोर्डवाट शेयर बाँडफाँडका लागि अनुमति प्राप्त भएको र आज बाँडफाँड हुने जानकारी दिनुभयो ।

आयोजनाले सर्वसाधारणलाई छुट्टयाएको २ करोड ६४ लाख ७५ हजार कित्ता शेयर मध्ये पहिलो चरणमा दोलखाबासीका लागि १० प्रतिशत अर्थात १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गरिएको थियो ।

दोलखावासीका लागि निश्काषन गरिएको १ अर्व ५ करोड ९० लाख बराबरको शेयरमा तेब्बर भन्दा बढी अर्थात करिव पौने ३ करोड बराबरको शेयर आवेदन परेको थियो ।

दोलखावासीलाई न्यूनतम ३४ देखि १०२ कित्ता सम्म

आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निश्कासन गरिएकोमा करिव २ लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए ।

आयोजना प्रभावित क्षेत्रका आधारमा आज बाँडफाँड हुने शेयरमा क वर्गको क्षेत्रका आवेदनकर्ताले कम्तिमा १ सय २ कित्ता, ख वर्गकाले ४८ कित्ता र ग वर्गकाले न्यूनतम ३४ कित्ता पाउने सम्भावना रहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । आवेदकको बाँकी रकम अबको ५ दिनभित्र आवेदन भरेको खाता मार्फतनै फिर्ता हुने उहाँले बताउनुभयो ।

१० आवेदन रद्ध हुने

माथिल्लो तामाकोशी आयोजनाले गत साउन १४ देखि भदौ १६ गतेसम्म दोलखावासीका लागि शेयर निश्काशन गरेको थियो ।

पहिलो चरणको समय अवधिमा पनि शेयर आवेदनकर्ताको भीड नघटेपछि थप ५ दिन थपेर भदौ २१ गतेसम्म शेयर आवेदन भर्ने व्यवस्था मिलाईएको थियो ।

शेयर आवेदन गरेका मध्ये १० जनाले दुई स्थानवाट आवेदन दिएको पाईएको र उनीहरुको आवेदन रद्ध हुने प्रवक्ता न्यौपानेले बताउनुभो ।

दोश्रो चरणको शेयर खुल्दै

यसैबीच, आयोजनाले दोलखाबासीको शेयर बाँडफाँड लगत्तै दोस्रो चरणमा सर्वसाधरणका लागि शेयर निष्कासन गर्ने तयारी पनि गरेको छ । दोस्रो चरणमा साधारण शेयर अन्तर्गत सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन हुने माथिल्लो तामाकोशी आयोजनाले जनाएको छ ।