प्रदेश २ मा शिक्षा मन्त्रीको मर्यादाक्रम मिचेको गुनासो

प्रकाशित मिति : शुक्रबार, कार्तिक ९, २०७५

रौतहटमा बिहीबार सम्पन्न एक कार्यक्रममा संघीय मन्त्रीको मर्यादाक्रम मिचिएको गुनासो आएको छ ।मुस्लिमहरुको संगठन जमिअत उलमाए नेपालको आयोजनामा गौरमा सम्पन्न अल नेपाल शैक्षिक जागरण सम्मेलनमा केन्द्रीय शिक्षा तथा बिज्ञान प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई प्रमुख अथितिको ब्याच लगाइदिए पनि कार्यक्रम सञ्चालकले मुख्यमन्त्री लालबाबु राउतलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मञ्चमा राखेका थिए ।

यो घटनापछि नेकपाका नेताहरुले आयोजकले नियतबस मन्त्री पोखरेलको मर्यादाक्रम मिचेको आरोप लगाएका छन् । कार्यक्रममा सहभागी नेकपाका नेता रजिउदिन आलमले काँग्रेस र संघीय समाजवादी फोरमले मन्त्री पोखरेलको मर्यादाक्रम माथि हमला गरेको आरोप लगाए ।

‘केन्द्रीय मन्त्री पोखरेलको उपस्थिति भएको कार्यक्रममा उहाँलाई प्रमुख अतिथी नबनाएर मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई प्रमुख अतिथि बनाउनुमा काँग्रेस र फोरम नेताहरुको षडयन्त्र रहेको छ’ नेता आलमको आरोप छ ।

संघीय समाजबादी फोरमका जिल्ला संयोजक धर्मेन्द्र पटेलले केन्द्रीय मन्त्री पोखरेल ढिलोगरी आउनु र कार्यक्रममा सञ्चालकद्धारा प्रमुख अतिथि मुख्यमन्त्री गद्धीलाई पहिलै घोषणा गर्नु कमजोरी भएको स्वीकार गरे ।

तर उनले कसैको मर्यादाक्रममाथि जानीजानी प्रहार नभएको प्रस्टयाए ।आयोजक जमिअत उलमाए नेपाल निकट नेक महमद हुसैनले कसैप्रति भेदभाव नगरेको दावी समेत गरेका छन् ।संघीय सरकार र प्रदेश सरकारबीच मनमुटाव भइरहेका बेला यस्ता घटनाले राम्रो सन्देश नजाने जानकारहरुको भनाई छ ।