मन्त्रिमण्डल विस्तार हुँदै । सुदुरपश्चिम प्रदेश

प्रकाशित मिति : बिहिबार, कार्तिक ८, २०७५

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार हुन थालेको छ ।

नौ महिनाअघि गठित मन्त्रिमण्डल असोजमा एकजना राज्यमन्त्री थपिएपछि अहिले पुनः विस्तार हुने चर्चाले सत्तारुढ दल नेकपाभित्र बहस चुलिएसँगै आकांक्षीको दौडधुप चलेको हो ।

नेकपा सुदूरपश्चिम प्रदेश स्रोतका अनुसार अझै भूगोल, लिङ्ग तथा अन्य राजनीतिक विषयलाई दृष्टिगत गरी थप दुईवटा राज्यमन्त्री थप्नुपर्ने पार्टी्भित्र बहस चलेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत एक÷एकवटा राज्यमन्त्री थप्ने गरी पार्टी्भित्र छलफल चलेको बताइएको छ ।

प्रदेशको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै आलोचना समेत हुँदै आएको छ । दुर्गम जिल्ला बझाङबाट प्रत्यक्ष निर्वा्चित विपना मल्ल प्रदेश भरिमा एक्लो निर्वा्चित महिला जनप्रतिनिधि हुनुहुन्छ ।

हाल मन्त्रिमण्डलमा समावेश भएका सबै महिला समानुपातिकबाट प्रतिनिधित्व गर्ने भएकाले प्रत्यक्ष निर्वा्चित, दुर्गम क्षेत्रको महिला मल्ललाई मन्त्रिमण्डलमा समावेश गर्नुपर्ने चौतर्फी दबाब पार्टी्भित्र सिर्जना भएको छ ।

यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी, आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह बाजुरा, भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा डडेल्धुरा, आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा अछाम र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट बैतडी जिल्लाबाट प्रतिनिधित्व गरेका छन् ।

त्यस्तै, सभामुख अर्जुनबहादुर थापा बझाङ र उपसभामुख निर्मला जोशी बडालले दार्चुलाबाट प्रतिनिधित्व गर्नुभएको थियो ।

प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायका अनुसार प्रदेशसभा सदस्यहरूको जम्मा सङ्ख्याको २० प्रतिशतसम्म मन्त्रिमण्डल विस्तार गर्न सकिने संवैधानिक प्रावधान रहेको छ ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलको आकार ११ सदस्यीय बनाउन सकिने मुख्य न्यायाधिवक्ता उपाध्यायले जानकारी दिनुभयो ।