ने क पाको सचिवालय बैठक बस्दै, माधव नेपाल पक्षको असन्तुष्टि र एकीकरण विस्तार मूख्य कार्यसूची

प्रकाशित मिति : आइतवार, कार्तिक ४, २०७५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक तीन साता पछि आज (आइतबार) र भोली (सोमबार) बस्दैछ । बैठक विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुरु हुँदैछ । सचिवालयको बैठकमा पार्टी र सरकारको कामको समीक्षा तथा जिल्ला कमिटीका एकीककरण सम्बन्धि कार्यसूचीमा छलफल हुने बताइएको छ ।

यस्तै सरकारले जनभावना र मर्म मुताविक काम गर्न नसकेको र जनगुनासो चुलिएको भन्दै सरकारको कामको गम्भीर समीक्षा हुने पनि सचिवालय स्रोतले जानकारी दिएको छ ।

माधव नेपाल पक्षको असन्तुष्टि र एकीकरण विस्तार बैठकको मूख्य कार्यसूची

भदौ २८ गते बसेको पार्टी सचिवालयको बैठकले एकीकरणसम्बन्धि नयाँ मापदण्ड तयार पार्न पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको थियो ।

तर, असोजको पहिलो साता बसेको सचिवालयले प्रदेशको अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज नै तोकेपछि ने क पाका तेस्रो वरियताका नेता रूष्ट बन्न पुगेका छन् । र, उनले निर्णयप्रति असहमति जनाउँदै लिखित असन्तुष्टि बैठकमा राखेका छन् ।

उनका अनुसार सचिवालय निर्णय गर्ने थलो नभएको र अध्यक्षद्वयलाई मापदण्डसम्बन्धि प्रस्ताव तयार पार्न मात्रै जिम्मेवारी दिएको भन्दै असन्तुष्टि दर्ता गरेका छन् । विशेषतः नेता नेपाल पक्षको विरोध गण्डकी र पाँच नम्बर प्रदेशको इन्चार्ज चयनप्रति छ ।

मुख्यमन्त्री रहेका पृथ्वीसुब्बा गुरूङ र शंकर पोखरेललाई गण्डकी र पाँच नम्बर प्रदेशको इन्चार्ज तोकेर दोहोरो जिम्मेवारी दिएको र यसअघि पार्टीले तय गरेको मापदण्ड लत्याइको भन्दै नेता नेपालले विरोध जनाएका हुन् ।

नेता नेपालकै माग बमोजिम कात्तिक १३ र १४ गते स्थायी कमिटीको बैठक बोलाइएको छ र, त्यहाँ सम्पूर्ण विषय छलफल हुने ने क पाले जानकारी दिएको छ ।