समितिमा महिलाको ६० प्रतिशत नेतृत्व : उपसभामुख

प्रकाशित मिति : आइतवार, अशोज ७, २०७५

उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभाका समितिहरूमा ६० प्रतिशत महिलाको नेतृत्व हुनु सुखद भएको बताएकी छिन् । महिला कानुन व्यवसायीहरूको २७औँ सम्मेलनलाई राजधानीमा शनिबार सम्बोधन गर्दै तुम्बाहाम्फेले राज्यका हरेक निकाय अब समावेशीकरणतर्फ उन्मुख भएको बताइन् ।

‘लैंगिक प्रतिनधित्व समानताका आधारमा हुनुपर्छ भन्ने महिला आन्दोलनको उद्देश्य थियो,’ उनले भनिन् ‘बिस्तारै व्यवहारमा लागू हुँदै जानु खुसीको कुरा हो ।’ प्रतिनिधिसभाका १० मध्ये ६ समितिको नेतृत्व महिलाले गरेका छन् । राष्ट्रिय सभाका ४ मध्ये २ र २ संयुक्त समितिमध्ये एकको नेतृत्व पनि महिलाले गरेका छन् ।

तुम्बाहाम्फेले संविधान कार्यान्वयनका लागि मौलिक हकसँग सम्बन्धित १६ वटा कानुन निर्माण भइसकेको स्मरण गराउँदै कानुन निर्माण प्रक्रियामा सहभागिता जनाउन कानुन व्यवसायी महिलालाई अपिल पनि गरिन । उनले स्थानीय तहको न्यायिक समितिको नेतृत्व उपमेयरले पाउनु पनि सुखद पक्ष भएको औँल्याइन् । कानुन व्यवसायी पृष्ठभूमिका महिलाको प्रतिनिधित्व भएको खण्डमा नेतृत्वमा पुग्न अझै सहज हुने उनले बताइन् ।