डोल्पाको दर्दानाथा कथा हो-नेपाली भाषा बोल्न नआउदा कुटपिट भए पछि मृत्यु

प्रकाशित मिति : आइतवार, भदौ २४, २०७५

काठमाडौं  : ‘म सानो हुँदाको घटना हो यो । उपल्लो डोल्पाबाट मेरो मामाको छोरा नागरिकता बनाउन सदरमुकाम गएछन् । उनलाई नेपाली भाषा बोल्न नआउने । तीन महिनासम्म सदरमुकाममै बसे । अति भएपछि कार्यालयमा झगडा गरेछन् । उनीमाथि कुटपिट भयो । गहिरो चोटपटक लाग्यो । समयमा उपचार भएन। घाउ पाक्यो । त्यही घाउकै कारण उनको मृत्यु भयो । गुरु रानाग रिन्छेन रिन्पोछेले एकै सासमा उपल्लो डोल्पाको कथा सुनाए  त्यो घटना भएको दशकौं बितिसक्यो । उपल्लो डोल्पाबाट १२ वर्षको उमेरमै काठमाडौं पसेका रानाग अहिले ४५ वर्षका भए । आजभोलि मानिसहरू उनलाई ‘डोल्पो बुद्ध’ उपनामले बोलाउँछन् । यो उपनाम कसरी रहन गयो ? यसको लामो कथा छ ।

उनको खास नाम फुर्वा टासी गुरुङ हो । वि.सं. २०३० सालमा उपल्लो डोल्पाको साल्दाङ–१ जन्मिए । आमाबुवाले ६ वर्षको उमेरदेखि नै लामा पढ्न गुम्बामा राखिदिए । अवतारी लामा उनी त्यसपछि बने रानाग रिन्छेन रिन्पोछे । बाल्यकाल गुम्बामा बित्यो । औपचारिक शिक्षा लिन पाएनन् । ६ वर्ष यात्सेर गुम्बामा पढेपछि बुवा नोर्बु गुरुङ र आमा बोन्छोकले आफ्ना कान्छा छोरालाई पढ्न काठमाडौं पठाए । काठमाडौं आएर टुसालमा रहेको उगेन दोङाक छोइलिङ गुम्बामा पढ्न थाले । १२ वर्षमा ‘मास्टर डिगनिटी’ पास गरी लामा गुरु बने ।

बिचबिचमा डोल्पा जाने–आउने क्रम चलिरह्यो । आफूले पढेको शिक्षाले गाउँमा तात्विक अन्तर आएको देखेनन् । उस्तै देख्थे डोल्पा । उस्तै देखे गाउँको दुःख । उस्तै देखे अँध्यारो । पाँच वर्षे बालिकाहरू टाढाबाट पानी बोकिरहेका । बालकहरू चौंरीको पछिपछि कुदिरहेका । स्कुल थिएन । उस्तै थियो, तल्लो डोल्पा आउँदा भोग्नुपर्ने समस्या । उस्तै थियो, उपल्लो डोल्पालीले कलम किन्न पनि घुस खुवाउनुपर्ने विडम्बना । भन्छन्, ‘भाषा नबुझिने । कलम किन्न पनि घुस दिनुपथ्र्यो ।’ सदरमुकाममा महिनौं कुर्थे, उनी कतिपय रित्तै फर्किन्थे । कुर्नेहरू प्रायः मौसम नमिलेर बिरामी पर्थे । भन्छन्, ‘चिसो ठाउँको मान्छे । मौसम नमिलेका कारण कति मर्थे पनि ।’

उस्तै देखे, झमेला । उस्तै देखे दुःख । भन्छन्, ‘पैसा नहुने । भाषा पनि नबुझ्ने । लेखपढ गर्न पनि नआउने । मनपरि हुन्थ्यो प्रशासनमा । मेरै मामाले लालपुर्जाको लागि १० वर्षसम्म दुःख पाउनुभयो ।’ उनले देखे चुनावमा मात्रै आउने नेताको उस्तै लस्कर । भन्छन्, ‘नेताहरूले चुनावको बेला भेडा बाख्रा जस्तै गर्थे हामीलाई । उनीहरूलाई भोट नदिए कुट्थे पनि ।’

सबै समस्याको मुल जरो शिक्षा ठाने उनले । भन्छन्, ‘शिक्षाले नै डोल्पालीको आँखा खोल्न सक्छ भन्ने लागिरह्यो ।’

अनि सुरु भयो स्कुल

२०५५ सालमा उनलाई साथीभाईले घुम्न हङकङ बोलाए । गए । तर यात्रामा अंग्रेजी बोल्न नआउँदा निकै अप्ठेरो ब्यहोरे । भन्छन्, ‘नेपाली भाषा पनि राम्रोसँग बोल्न नसक्ने म अंग्रेजी बुझ्न झनै गाह्रो भयो ।’ ३ महिनाको यात्रामा उतै पूजापाठ गरे । केही पैसा जम्मा गरे । अनि, अलग्गै सपना देख्न थाले । स्कुल देख्नै नपाई चौंरीको पछिपछि दगुर्ने बाल्यकालीन साथीभाई सम्झे । शिक्षाको उज्यालोबाट बञ्जित डोल्पा सम्झे । उनको दिमागमा उपाय फु¥यो । सम्झिँदै भन्छन्, ‘त्यो पैसाले गाउँका भाइबहिनीलाई पढाउँछु भन्ने लाग्यो ।’ तर हङकङका साथीहरूले उनलाई दुईचार जनालाई पढाउने भन्दा स्कुल नै खोल्न हौसला दिए ।

त्यसपछि काठमाडौंमा २०५९ सालबाट स्कुल सुरु गरे । जिल्ला शिक्षा कार्यालयबाट सम्बन्धन लिए । स्कुलको नाम राखे स्नोल्याण्ड रानाग स्कुल । विद्यार्थी खोज्न गाउँ पुगे । टुहुरा, बाआमाबिच छोडपत्र भएपछि छाडिएका, द्धन्द्धपीडित र गरिब असाहयलाई उनले पढाउने मापदण्ड बनाए । मापदण्ड अनुसारका १२ जना केटाकेटी लिएर काठमाडौं आए । नयाँ बानेश्वरमा एउटा फ्ल्याट भाडामा लिएर स्कुल सुरु गरे ।

 

अब स्कुल तयार भयो । विद्यार्थी आइपुगे । तर, शिक्षक छैन । भन्छन्, ‘आफूलाई पढाउन नआउने । शिक्षक कहाँ खोज्ने ? समस्या भयो ।’ धेरै दिनसम्म शिक्षक बिना अलपत्र परिरह्यो स्कुल । बौद्धकी याङ्गी तामाङ भेटिइन् । उनलाई पढाइदिन आग्रह गरे । उनी आफैँ कक्षा १० मात्रै पढेकी रहेछिन् । उनैले पढाउन थाले ।

तर, फेरि अर्को समस्या आइप¥यो । भन्छन्, ‘कक्षा सुरु भएको केही महिनामै गाउँको बच्चाहरू फोहरी हुने भन्दै स्कुल सार्न घरबेटीले किचकिच गर्न थाल्यो ।’ त्यसपछि रानाग पोकापुन्तरा बोकेर विशालनगर सरे । भाडामा फ्ल्याट लिएर स्कुल चलाउन थाले । विदेशमा बस्ने साथीहरूले उनलाई आर्थिक सहयोग गर्न थाले । उनले पनि पूजापाठ गरेको पैसा स्कुलमै खर्च गरिरहे । ‘विशालनगरमा आएपछि अलि राम्रो भयो,’ भन्छन्, ‘विदेशी भोलिन्टियर पनि हेर्न आउन थाले । केही सहयोग प्राप्त भयो ।’ ८ जना शिक्षक थपिए । विद्यार्थी संख्या ६० पुग्यो ।

उनी पूजापाठ गर्न विदेश गइरहे । पाठपूजा गरेको पैसा स्कुलमै खर्च गर्थे । त्यो पैसा जोहो गरेर बुढानिलकण्ठ सरे । मासिक १ लाख तिर्ने गरी घर भाडामा लिए । विद्यालयलाई १० कक्षासम्म पढाउन मिल्ने बनाए । हिमाली भाषा पनि कक्षामा समावेश गरे । अहिले १८० विद्यार्थीलाई २५ जना शिक्षक÷शिक्षिकाले पढाइरहेका छन् ।

ती सबै विद्यार्थीले कुनै पनि शुल्क तिर्नु पर्दैन । सबैका ‘बुवा’ उनी नै हुन् । पास आउट भई बाहिर प्लस टु पढ्नेहरू पनि त्यहीँ होस्टेलमै बस्छन् । भन्छन्, ‘७ ब्याच पास आउट भइसक्यो । एसएलसीमा एप्लस ल्याउने विद्यार्थी धेरै छन् ।’

वितेको १६ वर्षमा धेरै परिवर्तन भयो गाउँमा । पहिला मानिसहरू स्कुल जान मान्दैन थिए । स्कुल पनि थिएन । अहिले पढ्नुपर्छ भन्ने सोचको विकास भएको उनी बताउँछन् । त्यही पढेका विद्यार्थीमध्ये १२ जनाले स्नातक पास गरे । उनकी बहिनी पेमा डोल्मा गुरुङले पनि स्नातक पास गरिन् । अहिले दाइलाई सघाउँदै छिन् । उनी स्नोल्याडकी प्रिन्सिपल समेत हुन् । कोही विदेश गइसके । भन्छन् ‘कोही अमेरिका छन् । कोही युरोप पुगे ।’

उनको गाउँमा स्कुल खुलिसकको छ अहिले । कोही गाउँ फर्किएर स्कुल चलाइरहेका छन् । स्कुलबाटै पढेर कोही इन्जियिरियङ बन्ने तरखरमा छन् । कोही उपल्लो डोल्पाको पहिलो डाक्टर बन्दैछन् । भन्छन्, ‘ग्याल्जेन गुरुङ गरिब परिवारको छोरा हो । उ अहिले गन्डकी मेडिकल कलेज पोखरामा पढ्दैछ ।’ स्नोल्याण्डमा पढेका बच्चाहरू बाबुआमासँगै नागरिकता बनाउन सदरमुकाम आएको देख्दा उनी दंग पर्छन् ।

१० कक्षा पढिसकेपछि विद्यार्थीलाई भोलिन्टिएर गर्न गाउँ पठाउँछन् । उनी आशावादी छन् । भन्छन्, ‘अबको १० वर्षमा गाउँको मुहार अझै फेरिन्छ पक्कै ।’ पहिला उनको कुरा सुन्न तयार नहुनेहरू अहिले उनको अघि नतमस्क हुन्छन् । उनलाई उपल्लो डोल्पालीले भन्न थालेका छन् ‘डोल्पो बुद्ध ।’ अर्थात ज्ञानको ज्योति बाड्ने बुद्ध ।

कसरी चल्दैछ स्कुल ?

सातवर्षदेखि बुढानिलकण्ठस्थित रुद्रेश्वरमा स्कुल सञ्चालन गरिरहेका छन् उनी । ७ जनाको सञ्चालक समिति छ । शिक्षकलाई सरकारी स्केल अनुसारै तलब दिन्छन् । वार्षिक २ करोड खर्च हुने उनी बताउँछन् । बैंकबाट ऋण निकालेर स्कुलको लागि जग्गा किन्ने र स्कुललाई प्लसटुसम्म पु¥याउने उनको योजना छ ।

स्कुल चलाउन निकै मुस्किल परिरहेको उनी बताउँछन् । पूजापाठ गर्न विदेश गइरहन्छन् उनी । ताइवान, हङ्कङ अलि बढी गइरहने ठाउँ हुन् । युरोप पनि जान्छन् बेलाबेला । विदेशमा सहयोग संकलन गरेर ल्याउँछन् । काठमाडौंमा चिनजानका मानिस कम भएकाले समस्या परिरहेको उनको भनाइ छ । भाषाको समस्याले उनलाई पछ्याउन अझै छाडेको छैन । भन्छन्, ‘औपचारिक शिक्षा नपढेकाले गाह्रो भइरहेको छ । विदेशीलाई इङ्लिसमा बुझाउन सकेको भए अझै सहयोग प्राप्त हुन्थ्यो होला ।’

पूजापाठसँगै रानाग विदेश गइरहनुमा उनको अर्को शिप सहयोगी बनेको छ । त्यो हो, उपचार । उनी उपचार पनि गर्छन् । विदेश गएर त्यहीवापत पारि श्रमिक लिन्छन् । अनि, स्कुल चलाउँछन् ।

स्कुलभित्रै छात्र र छात्राका लागि छुट्टाछुटै होस्टेलको व्यवस्था छ । अविवाहित उनी पनि स्कुलकै एउटा कोठामा बस्छन् । स्कुल छाडेर बाहिर निस्कन मन नलाग्ने उनी बताउँछन् । भन्छन्, ‘सानासाना भाइबहिनी छन् । उनीहरूको एकदमै माया लाग्छ । तिनीहरूलाई छाडेर बाहिर बस्न मनै लाग्दैन ।  अन्नपुर्ण पोस्टबाट सावर