समाजले मलाई फरक फरकरुपमा चिन्दछ –इस्माली

अन्तर्वार्ता

प्रकाशित मिति : आइतवार, भदौ १७, २०७५

(त्रि.वि.सानोठिमी क्याम्पसका गणित शिक्षाका प्राध्यापक महेश्वरप्रसाद उपाध्याय साहित्यमा इस्मालीका नामले परिचित छन् । जनकपुर अञ्चलको महोत्तरी जिल्लाको औरहीमा जन्मेर किशोरावस्थासम्म त्यहीँ बिताएका र हाल काठमाडौँ वानेश्वरमा बसोबास भएका यिनको कलम बालसाहित्यमा पनि चल्ने गरेको पाइन्छ । गणित शिक्षाका स्नातकोत्तर यिनी नेपाली भाषामा गणितको कोश तयार पार्ने पहिला कोशकार हुन् । पारिजात सिर्जनशील पुरस्कार(२०५३),मैनाली कथा पुरस्कार(२०६६),हृदयचन्द्रस्मृति सम्मान (२०७४) आदिबाट सम्मानित यिनी समाजवादी यथार्थवादी धाराका पक्षधर मानिन्छन् । आफ्नो लेखनीमा प्रायशः तराईको जनजीवनको सम्यक र संघर्षशील चित्र उतार्न रुचि राख्ने यिनका बारेमा स्नातकोत्तर र उत्तरस्नातकोत्तर तहका कतिपय शोधार्थीहरूले शोधपत्र पनि लेखिसकेका छन् । प्रस्तुत छ अग्निचक्र मासिकले यिनीसँग गरेको कुराकानी— सम्पादक ।)

अक्षरवार्तारूपी यो कुरोकानी परिचयबाट नै थालौँ कि ..?
अवश्य । परिचय नै नगरी त कुरै गर्न मिलेन नि । कुरो खुल्दैन पनि । अग्निचक्रसँगको मेरो चिनजान पातलै हो । ज्ञानको विविध विधाको संयोजित स्वरूप बोकेर प्रकाशित हुने गरेको यो पत्रिका स्तरीय र पठनीय छ । अग्निचक्रले मलाई कसरी चिन्दछ म जान्दिन तर विभिन्न समाजले मलाई फरकफरक रूपमा जान्दछ चिन्दछ । मलाई मानामुठीको जोहोमेसोको बाटो देखाइदिने विद्याको अनुरागीहरूको समाजतिरका धेरैजसोले मलाई गणित शिक्षकका रूपमा चिन्दछन् । आफ्नो जीवनको चार दशकभन्दा पनि बढीको समय यही काम गरेर बिताइँदैछ । गणित पढनेपढाउने भएकैले पनि हो कि बेरोजगार कहिल्यै हुनु परेन,बरु ठाउँ धेरै चहारियो । शिक्षकको पेसामा सुखशयलभन्या त्यस्तै हो । यो जगतमा म मेरो आमाबुबाले दिनुभएको नाम महेश्वरप्रसाद उपाध्यायका नामले परिचित छु । यही मेरो औपचारिक चिनारी हो । त्यसपछिमात्र मेरो लेखकीय चिनारी इस्मालीले पालो पाउँछ । इस्मालीका नामबाट मैले आफैँले आफूलाई न्वारान गरेको हँु —२०३५ सालतिर । इस्माली हुनुभन्दा पहिले म महेश गरीब भएँ । महेश गरीबका रूपमा मैले झण्डै दर्जन जति रचना लेखेँ — कथा,कविता । २०३१ देखि २०३५ सम्म । त्यसपछि मैले महेश गरीबलाई बिदा दिएँ र इस्मालीलाई स्वागत गरेँ । साहित्यकारका रूपमा मलाई चिन्नेहरूले यो नेपालीको शिक्षक होला भन्ठान्दछन् । अनि २०३५ कै उत्तरार्धतिर मैले महेश पौडेललाई पनि आफू बनाएँ । यो आकस्मिक रूपमा बन्यो, हठात् । भयो के भने २०३५ सालको विद्यार्थी आन्दोलनमा म जेल परेँ —निवारक नजरबन्दमा । तर म नेता भने थिइनँ, आन्दोलनकारीमात्रै थिएँ । नेता लुकिगए होलान्, मैदानमा देखिए हामी जस्ता आन्दोलनकारी, हालिदिए जेलमा । यही बेलाको गिरफ्तारीमा मैले महेश पौडेललाई म बनाएँ । कुरो बुझ्नु भयो नि । तीन त्रिलोक चौध भुवनका कुरा बुझ्ने पत्रकारले यो कुरो नबुझ्ने होइन पनि । त्यसरी बनाएको महेश पौडेललाई पछि मैले बाल साहित्य लेख्ने जिम्मेवारी बोकाइदिएँ । बाल साहित्यका क्षेत्रमा भने मेरो चिनारी पातलै होला जस्तो लाग्दछ । अहिले यसो विचार गर्दा त म तीन नामको त्रिवेणी बनिसकेको रहेँछु — महेश्वरप्रसाद उपाध्याय, इस्माली र महेश पौडेल । यी तीनै जना समानान्तर रूपले नै हिडिरहेका देखिन्छन् । यो त्रिवेणीबाट दुई दर्जनभन्दा बढी पुस्तक आएका छन् ।

अनि यो तीन थरिका रूपलाई कसरी संयोजन गर्न भ्याउनु भएको छ त ?

अँ, यो संयोजन गर्ने काम भने चुनौतिपूर्ण नै छ । संयोजन नमिल्दा कहिले को कहिले को सक्रीय भइदिने र अर्को गुमनाम भइदिने जस्तो थिति बेलाबखत बनिरहेको हुन्छ । अनि शुभेच्छु साथीहरूले चिन्ताचासो व्यक्त गर्दछन् ,स्पष्टिकरण दिँदै पनि हिँडनु पर्ने थिति पनि बन्दछ बेलाबखत । तर पनि समग्रमा साहित्यकार इस्मालीको सक्रीयता नै बढी भएको देखिन्छ । तथापि पछिल्ला दिनहरूमा गणितज्ञ व्यक्तित्व अपेक्षाकृत बढी सक्रीय रहेको देखियो भन्नु अन्यथा होवोइन । फलस्वरूप नेपाली भाषामा पहिलो गणित कोश नेपाली गणित कोश आयो । लगभग ११५० पृष्ठको यो कोश गणितमा रुचि राख्ने जोसुकैका लागि पनि उपयोगी ग्रन्थ हो भन्ने लाग्दछ ।
नेपालीमा पनि गणित कोश हुन्छ र ? गणितको पठनपाठन त अङ्ग्रेजीमै हुन्छ , होइन र ? यो नेपाली गणित कोश भन्ने कस्तो कोश हो त ?
गणित नेपालीमा हँुदैन भन्ने मानसिकता साम्राज्यवादी औपनिवेशिक दास मानसिकता हो । हामी शिक्षा,ज्ञान,प्रविधिमा पछि परेको हुनाले यस्तो मानसिकताले हामीलाई पछारिरहेकै छ । अहिले त हामी अङ्ग्रेजी हाईहाईको जमानामा छौँ । पूर्वप्राथमिक कक्षादेखिनै हामी आफ्ना सन्तानलाई अङ्ग्रेजी सिकाउन जोडबल गरिरहेका छौँ । अङ्ग्रेजी नजानिकन नपढिकन ज्ञान जानिँदैन भन्ने मानसिकताले हामी पीडित छौँ । हामीले के कुराको हेक्का राखेनौँभने हाम्रा पुर्खाले त संस्कृतमै गणित पढेपढाएका थिए । न्युटनले सत्रौँ शताब्दीमा पत्ता लगाएका गुरुत्वाकर्षणको सिद्धान्त त वराहमिहिरले छैठौँ शताब्दीमै बोलेका रहेछन् , फ्रान्सेली गणितज्ञ पास्कलले सत्रौँ शताब्दीमा प्रतिपादन गरेको अङ्कगणितीय त्रिभुज त पिङ्गलले ई.पू.दोश्रो शताब्दीमै प्रतिपादन गरेका रहेछन् । हामीले आफ्नो भाषालाई समृद्ध बनाउन पनि त्यति चासो दिएका छैनौँ । हामी बढी पराश्रयी भयौँ । हुन त अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा पनि भयो । तर अहिले पनि चीन, कोरिया,जापान,जर्मनी,फ्रान्स लगायत विश्वका कतिपय देशहरू माथिल्लो तहसम्मै आफ्नै भाषामा सिक्नेसिकाउने गर्दछन् । हामीलाई त्यसो गर्न विभिन्न कारणले अप्ठ्यारो होला तर पनि आधारभूत तहको शिक्षा क्रमशःमातृभाषा र क्षेत्रीय भाषामा, माध्यमिक शिक्षा राष्ट्र भाषामा र उच्च शिक्षा राष्ट्र भाषा र अन्तर्राष्ट्रीय भाषामा भन्ने कुरो शिक्षाविदहरू भनिरहेकै छन् । यसो हुँदा सिकाइ उपलब्धि उच्च हुन्छ भन्नेमा शिक्षाशास्त्रीहरूको मतैक्य छ । त्यसैले गणितको पठनपाठन पनि माध्यमिक तहसम्म नेपाली भाषामै हुनु वाञ्छनीय छ । आफ्नो भाषामा पठनपाठन गर्नका लागि विभिन्न प्राविधिक शब्दावली पनि निर्माण र विकास गर्नपर्ने हुन्छ । यसो गर्दा आफ्नो भाषा पनि समृद्ध हुन्छ । शब्द निर्माण गर्न अल्छी मानियोभने पराश्रयी भइन्छ, आफ्नो भाषा पनि गरिब हुन्छ । गणितका क्षेत्रमा त्यस्तो गरिबिलाई थोरै भएपनि यसले केही सम्बोधन गर्ने प्रयास गरेको छ भन्ने मलाई लागेको छ ।
यो नेपाली गणित कोश शब्दकोश,अर्थकोश, अवधारणा कोश, इतिहास कोश, गणितज्ञकोश , नेपाल कोशको मिश्रित रूप हो, त्यसैले अङ्ग्रेजीमा चाहिँ नेपाली म्याथेम्याटिकोपेडिया भनियो । विभिन्न विषयका पनि यस्ता कोशहरू नेपाली भाषामा लेखिनु पर्दछ । अचेल नेपाली भाषालाई वर्णशङ्कर बनाइँदै गरेको दुःखद अवस्था छ । यसको परिष्कार वाञ्छनीय छ ।

गणित सम्बन्धी यहाँका अरू सामग्रीहरू पनि छन् त ? के के छन् ? कस्ता प्रकृतिका सामग्रीहरू छन् ?

छन् ,अरु सामग्री पनि छन् । निम्न माध्यमिक तहदेखि मैले गणित पढाउने काम थालेँ र क्रमशः उच्च तहमा पढाउने अवस्थासम्म पुगेँ । लामो समयसम्म मैले स्नातक तहमा रेखीय योजना (लिनियर प्रोग्रामिङ) भन्ने विषय पढाएँ । हाम्रोमा धेरै बिस्तार नपाएको तर व्यवहारिकप्रायोगिक विषय थियो त्यो । विभिन्न विषयको खासखास पाठको संयोजन गरेर तयार पारिएको विषय थियो त्यो । त्यसैले उपयुक्त पाठ्यपुस्तकको पनि अभाव थियो । त्यो अभाव हटाउने प्रयास स्वरुप इष्टतमीकरण र रेखीय योजना (अप्टीमाइजेसन एण्ड लिनियर प्रोग्रामिङ) नामको पुस्तक तयार पारेँ । केही वर्षपछि पाठ्यक्रम परिमार्जन भयो अनि त्यसैलाई परिष्कार गरेर अद्यावधिक बनाएर एन इन्ट्रोडक्सन टु लिनियर प्रोग्रामिङ पुस्तक लेखेँ । अलिपछि मनमा के लाग्योभने गणितको पठनपाठनमा यतिका वर्ष लागियो,पश्चिमा गणित पढियो पढाइँदैछ तर हाम्रो भन्ने गरेको ‘पूर्वीय गणितमा के छ त ? को को छन् त ?’ भन्ने लागेर त्यताको अध्ययन थालेँ र त्यसको सारलाई प्रमुख पौरस्त्य गणितज्ञ पुस्तकको रूप दिएर त्यो ज्ञानलाई बाँडचुड गर्ने प्रयास गरेँ । अलि पछि नेपालीमा गणित विद्यामा आरम्भिक योगदान दिने गणितज्ञ र तिनका कृतिबारे खोजखाज पारेर नेपाली गणितका सात प्रबन्ध भन्ने सानो पुस्तक लेखेँ । स्नातक तहसम्मका विद्यार्थीहरूका लागि तथा तत् तहमा पढाउने शिक्षकका लागि समेत उपयोगी पुस्तक अ ह्याण्डबुक अफ अन्डरग््रयाजुयट म्याथम्याटिक्स नामको हातेपुस्तक पनि तयार पारेँ । यी पुस्तकबाहेक जनसङ्ख्या अध्ययनका लागि उपयोगी पुस्तक जनसङ्ख्या गतिशीलता तथा परिमाणात्मक विधिहरू (बि.एड.) तथा जनसङ्ख्या अध्ययन (कक्षा ११) मा श्री नवराज थापासँग मिलेर लेखियो । जनसङ्ख्याका यी दुबै पुस्तकमा मैले गणितखण्डको काम गरेँ । त्यस्तै अनुसन्धानात्मक गणित शिक्षा प्राध्यापक डा.हरिप्रसाद उपाध्यायसँगको सहकार्यमा श्री सरिता लुइँटेलसमेत मिलेर तयार पार्ने काम भयो । गणित पढाउने शिक्षकहरूका लागि यो निकै उपयोगी पुस्तक हो भन्ने कुरो पुस्तक पढने अध्येताहरूले नै भनेका हुन् । पछिल्लो काम चाहिँ नेपाली गणित कोश नै हो । गणितका विभिन्न विषयक्षेत्रका फुटकर प्रबन्धरचनाहरू पनि विभिन्न जर्नल र पत्रिकाहरूमा प्रकाशित भएका छन् ।

अनि साहित्यसँग कसरी साइनो गाँसियो त ?

साहित्यसँगको साइनो गणितभन्दा जेठो हो । साहित्यसँगको चिनाजानी प्रवेशिका अध्ययनपछिदेखिको हो । प्रवेशिका परीक्षापछिको फुर्सदिलो समयमा सस्तामस्ता अनि रुमानी साहित्य पढने बानी बस्यो । त्यस्तै पढ्दापढ्दै यस्तै लेख्न त सकिँदो हो भन्ने पनि लाग्न थाल्यो । प्रयास पनि गर्न थालियो । समाजमा हुनेखाने र हँुदाखानेबीचको विभेद निकै चर्को थियो ।(अहिले पनि छँदैछ नि ।) हुनेखानेहरू शासक वर्गका आफन्तमा दरिन्थे अनि हुँदा खानेहरू तिनको शासना खप्न बाध्य हुन्थे । त्यो शासनाप्रति मनमा एक किसिमको वितृष्णा, विरोध जाग्दथ्यो तर त्यसलाई प्रकट गर्नसक्ने भौतिक हुति जुटाउन सकिने सामथ्र्य नाईँ । त्यसैले विभेदप्रतिको उकुसमुकुस मनमा गुम्सिएर बसिरहेकै थियो । यही गुम्फनलाई अक्षरमा उतार्ने अभ्यास गर्न थालियो । एक दुई पाना लेख्दै राख्दै गर्नथालियो पनि । त्यसपछि शिक्षाशास्त्रतर्फको प्रवीणता तहको पढाइ पढ्न जनकपुर अञ्चल महोत्तरी जिल्लाको मान्छे नारायणी अञ्चलको बीरगञ्ज आइयो । यो २०३० सालतिरको कुरो हो । जनकपुर बीरगञ्ज जोडने पूर्वपश्चिम राजमार्गको पथलैया ढल्केबर खण्ड तत्कालीन सोभियत सङ्घको सहयोगमा भर्खरभर्खर बनेको थियो । यहीँ कलेज पढ्दापढ्दै स्थानीय पत्रिकामा एउटा कथा छापियो २०३१ सालमा, ऋणको थिचो शिर्षकको कथा । त्यही कथा मेरो पहिलो कथा बन्यो । छापिएपछि अरूले पनि पढ्ने भए । गाउँकाले पनि पढे । पढेपछि ‘ए ,त्यो यस्तो पो लेख्ने भयो’भनी ताना कस्ने हिसाबले भन्न पनि थाले । अनि , मैले ठीक गरेँछु भनी मलाई लाग्नथाल्यो । र , म त्यता लाग्यालाग्यै गरेँ । यसरी साहित्यसँगको मेरो साइनो बाक्लिँदै गयो ।

गणित र साहित्यमा समानता वा विविधता के पाउनु हुन्छ ?

गणित र साहित्य वाङ्मयका दुई पृथक विधा हुन जुन परस्पर सम्बन्धित जस्ता लाग्दैनन् । गणित रुखो, अगम्य र दुरुह मान्ने गरिएको पाइन्छ भने साहित्य जनमनको ढुकढुकीबाट निस्केको विभिन्न स्वरहरू सारेगमपधनिसा एउटै भएर झङ्कृत भई गुञ्जिएको मनोहारी सङ्गीत जस्तो । साहित्यले विकृतिविसङ्गतिको निर्मूलनका साथै समाजको सुधारसहितको हित, सदाचार र अग्रगमनको आग्रह राख्दछभने गणित मानव हितका लागि परिस्थिति र प्रकृतिको व्याख्याविश्लेषण (खासगरी साङ्ख्यिक र पारिमाणिक)मा केन्द्रित रहने गर्दछ । साहित्यको श्रोत समाज र मान्छे (प्राणी) हो भने गणितको श्रोत प्रकृति र मानवीय (सामाजिक,आर्थिक) राष्ट्रिय, अन्तर्राष्ट्रिय आवश्यकता हो । साहित्य स्थानीय÷अन्तर्राष्ट्रिय भाषामा लेखिन्छ भने गणित वैश्विक भाषामा । विश्वभरि गणितको भाषा एउटै हुन्छ । बट्र्राण्ड रसेल,सोफिया कोवालेवस्काया,लुई क्यारोल,उमर खय्याम जस्ता कतिपय गणितज्ञहरू अब्बल साहित्यकार रहे भने कार्ल स्याण्डवर्ग, भोल्तेयर, पिङ्गल, पहलमानसिँह स्वार जस्ता साहित्यकारहरूको गणितीय योगदान अबिष्मरणीय रहेको पाइन्छ । जर्मनेली गणितज्ञ कार्ल वायरस्ट्रास त भन्दथे कि काव्यिक(साहित्यिक) मन नभएको मान्छे त अब्बल गणितज्ञ हुनै सकोइन । साहित्यकार गणितज्ञहरूको पनि लस्कर नै छ ।

इस्माली नाम किन राख्नु भयो ? के अर्थ छ यो नामको ?

लेखन यात्राको सिकारु चरणमा केही रचनाहरू लेखिसकेपछि, ती प्रकाशित भइसकेपछि तीप्रति सकारात्मक नकारात्मक टीकाटिप्पणी हुनु स्वभाविक नै थियो । यस बीचमा मनमा के पनि लाग्यो भने नकारात्मक सोच राख्नेहरू पछिपरन्तु प्रत्युत्पादक बनिदिन सक्लान् । फेरि म त सत्ताको प्रतिपक्षी पनि भएँ । सत्ताको कोपभाजनबाट जोगिन कतिपय साहित्यकारले उपनाम वा छद्म नामले लेख्ने पनि गरेका हुन । शेक्सपियरको एउटा प्रचलित उक्ति पनि थियो — नाममा के छ र ? अर्थात् नाम जे भएपनि हुन्छ । नाम र अर्थको लागि हत्ते हालेर कहिल्यै दौडिइएन । अर्को कोणबाट पनि सोचियो—हाम्रा नामहरू जाति,वर्ण, धर्म, संस्कृति र स्थान सापेक्ष छन् । त्यसैले लेखकीय नाम पनि हुने, जाति, वर्ण, धर्म निरपेक्ष पनि हुने भन्ठानेर मैले २०३५ सालदेखि यो नाम रुचाएँ । यो नामको श्रोत मेरै कथा एउटा यस्तो संसारको पात्र एस्माली हो । त्यही नामको पहिलो वर्ण फेरेर इ राखेँ र इस्माली बन्यो । तदुपरान्त साहित्यिक लेखनमा यही नाम चलिरहेको छ । यो अर्थ निरपेक्ष ठानेर वरण गरिएको नाम हो तर यसलाई कतिपयले मुसलमान नाम ठानेका छन्, कतिपयले मगर नाम ठानेका छन् भने कतिपयले गुल्मी जिल्लाको इस्माको भएकोले इस्माली भएको भन्ठानेका छन् । यो मेरो ज्ञानको सीमितताका कारणले हुन गएको हो ।

साहित्य किन लेख्ने ? केका लागि लेख्ने ? साहित्यमा किन लाग्नु भयो ?

साहित्य शब्दमा स र हित शब्दहरू लुकेका छन्, त्यसैले यसले हितसमेत भन्ने बोध गराउँदछ । अर्थात् साहित्य समाजको हितका लागि, मानव जातिको हितका लागि लेख्ने लेखिने कुरो हो । साहित्य लेख्नु भनेको समाजसँग आफ्नो सरोकार दर्शाउनु हो, समाजसँग आफूलाई जोडनु हो । र, समाजसँग जोडिनुभनेको समाजको ठूलो हिस्सासँग अपनत्व दर्शाउनु हो र यो बहूसङ्ख्यक खण्ड भनेको विभेदमा पिल्सिएको, किनारामा पारिएको, अभावमा निसासिइरहेको अनि अधिकारविमुख पारिएको जनसङ्ख्या हो । (भनिन्छ, सैकडा एकले संसारको आधा र सैकडा दशले जगतको सैकडा पचासी सम्पति ओगटेका छन् । सन् २०१३ को तथ्याङ्क ।) त्यसैले साहित्य मेरा हकमा समाजबाट त्यस्ता विभेदहरूको निर्मूलन हो, अर्थात् समाजको अग्रगामी आमूल रूपान्तरणको पक्षमा जागरण प्रवाह गर्ने माध्यम हो ।

साहित्यका कुनकुन विधामा तपाईँको रुचि छ ? आख्यानमा केन्द्रित हुनाका खास कारणहरू छन् कि ? के कति कृतिहरू प्रकाशित छन् ?

पहिलो प्रकाशित रचना कथा नै भएतापनि प्रारम्भमा कविता, निबन्ध पनि लेखियो । तर पछिपछि कथामै केन्द्रित भइयो । यही विधामा आफूलाई, आफ्ना अभिष्टहरूलाई अभिव्यक्त गर्न सहज र सुविधाजनक लाग्न थाल्यो । आख्यानको शक्ति जबर्जस्त बलशाली हुँदोरहेछ भन्ने कुरो सबैले बोध गरिआएकै कुरो हो । चलचित्रले आफ्ना दर्शकलाई आफूसँगसँगै दौडाएझैँ कथा—उपन्यासले पनि पाठकलाई उसको यथार्थ जगतबाट उसलाई अलग्याएर आफू सँगसँगै हिँडाउछ । यस्तो सम्मोहन अरु विधामा विरल हुन्छ । लेख्न त कहिलेकाहीँ गीत पनि लेखियो, यात्रा संस्मरण पनि लेखियो । उपन्यास पनि लेखियो । तर चिनारीचाहिँ कथाले नै बनायो । अहिलेसम्म सङ्ग्रहका रूपमा आएका कथाकृतिहरू माछो माछो भ्यागुतो(२०५२), घाम घामजस्तो छैन (२०५८), काट जर्किन डी (२०६४), इस्मालीका प्रतिनिधि कथाहरू (२०६७), श्रीको खोजी(२०७३) प्रकाशित भइसकेका छन् । कामरेडको कोट लगायत केही प्रकाशनको प्रतीक्षामा पनि छन् । सेतो आतङ्क(२०३९) र जिरोमाइल (२०५६) उपन्यास प्रकाशित भइसकेको छ भने उपन्यास दुर्धर्ष पनि प्रकाशनोन्मुख छ ।

अँ साँच्चि एउटा उपन्यास त प्रतिबन्धित थियो क्यारे नि..

हो, सेतो आतङ्क । त्यो उपन्यास पञ्चायतको जवानीमा लेखियो । गाउँ फर्क राष्ट्रिय अभियान भनेको पञ्चायतको जवानी हो । त्यसले पञ्चायतलाई झनझन निरङ्कुशतातर्फ उन्मुख गरायो । त्यही निरङ्कुशताको परिणाम थियो २०३५—३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रह । जनमत सङ्ग्रहमा सुधारिएको पञ्चायतले वरमाला पहिरियो र निरङ्कुशता फेरि नयाँ परिधानमा देखिन थाल्यो । यही समयको चित्र उतार्ने प्रयास सेतो आतङ्क मार्फत् गर्ने प्रयास गरियो । यो मेरो पहिलो उपन्यास थियो । घोषित रूपमै यो प्रतिबन्धित भएको त होइन तर त्यसबेलाको दमनको अवस्थाले गर्दा सुरक्षित रहन प्रकाशक पनि छद्म नाममा आए र प्रेस पनि । किताब लगभग हाताहाती नै बिक्यो पनि । तर दमन बढ्दै गएकोले अर्को संस्करण निकाल्न जाँगर चलाएनन् तिनले । त्यो कुरो त्यतिकै भयो । धेरै पछि श्री हरिप्रसाद रेग्मीले स्नातकोत्तर तहको अध्ययनमा शोधपत्र लेख्ने सिलसिलामा त्यो पुस्तक धुइँपताल खोजे तर पनि फेला पार्न हम्मेहम्मे प¥यो । मैसँग पनि त्यो पुस्तक थिएन । बल्लतल्ल उनले ‘खै मसँग त थियो, पुलिसले लग्यो कि , च्यात्चुत पारिरथ्यो’ भन्ने मान्छे भेटेछन् । भोजपुरतिरका ती मान्छेले त्यसैका निहँुमा झण्डै मलाई लगेनसम्म भनेछन् । घर गएको बेलामा हेरुँला भनेर आश्वस्त गराएछन् । पुस्तक भेटिएछ, लगेको रहेनछ, च्यातचुत पारेर त्यहीँ मिल्काएछ । उनको हात पर्दा सबै पाना ठाडो च्यातिएको अवस्थामा थियो । टेप टाँसीवरी फोटोकपी गराएर काम चलाए उनले । यो जानकारीपछि प्रतिबन्धको कुरो झन फिँजियो । र मसँग नभएकोले त्यो फोटोकपी —किताब मलाई नै दिए उनले । त्यो पनि शोधपत्र लेख्ने अर्काले लगेका, फर्काउँदै फर्काएनन । भेटघाटै पनि हरायो ।

अनुवाद पनि गर्नुहँुदो रहेछ ? अनुवादका लागि सामग्रीको छनोट कसरी गर्नुहुन्छ ? अनुवादकले केकस्ता कुरामा ध्यान पु¥याउनु पर्दो हो ? केकस्ता कृतिहरू अनुवाद गर्नुभएको छ ? अनुवादको आगामी कुनै योजना पनि छ कि ?

हो अनुवाद पनि गर्नेगरेको छु । साहित्यिक रचनाहरू चाहिँ अङ्ग्रेजी र हिन्दीबाट नेपालीमा तथा गणितीय सामग्री त नेपालीबाट अङ्ग्रेजीमा पनि गरेको छु । साहित्यिक रचना नेपालीबाट हिन्दीमा पनि गरेको छु । यस्तो अनुवाद योजनाबद्ध र प्रायोजित अनुवाद होइन, स्वतःस्फूर्त अनुवाद हो । त्यसैले छनोटका खास आधार भन्दापनि आफ्नो पठनमा परेका र पढदा आफूलाई राम्रो लागेका रचनाहरू अनुवाद गर्ने गरेको छु । यस्तो अनुवादमा प्रायशः फुटकर कथा, कविता र निबन्धनै पर्दछन् । युरोप र एसियाका लब्धप्रतिष्ठित कथाकारहरूको कथाहरूको अनुवादको सँगालो पनि प्रकाशित भएको छ —युरेसियाका कथा शिर्षकमा । फुटकर कथाहरूको माला गाँसेर त्यसलाई सँगालोको रूप मैले नै दिएको हँु । भर्खरै एउटा उपन्यासको अनुवाद पनि प्रकाशित भएको छ —अक्लान्त कौरव । बङ्गाली उपन्यास हो यो । मैले चाहिँ हिन्दीबाट अनुवाद गरेँ । यस्तो अनुवादले तत् देशका समाज, सभ्यता आदि बुझ्न हामीलाई सघाउ पु¥याउँदछ र त्यहाँको साहित्यिक प्रवृत्तिको पनि अध्ययन गर्ने अवसर दिन्छ । अनुवाद गर्ने काम पनि चुनौतिपूर्ण काम हो । कुनै रचनाको अनुवाद गर्दा त्यहाँको भुगोल, समाज, सभ्यता, संस्कृति र भाषाको राम्रो ज्ञान हुनु अपेक्षित छ, अन्यथा अनुवादमा न्याय गर्न धौधौ पर्दछ ।
आगामी योजनाबारे अहिले त्यस्तो सोचिहालिएको त छैन, पछि केही हुनसक्ला पनि ।

बालसाहित्यमा पनि यहाँको कलम चलेको देखिन्छ ? यस विधामा केकस्ता कृति आएका छन् ?

अँ, बाल साहित्यमा पनि अलिअलि कलम चलाएको छु, महेश पौडेलका नामबाट । यी महेश पौडेलको जन्म २०३५ साल चैतमा भयो । धेरै समयसम्म यिनी गृष्मबहादुर देवकोटाको पुस्तक नेपालको राजनीतिक दर्पण भाग ४ मा थुनिएर बसे । ती पनि त कतै देखिनु प¥यो भनेर बालसाहित्यको जिम्मा त्यता गयो । बालकथा सङ्ग्रहहरू अर्को एउटा पृथ्वी (२०५७), चिम्पाञ्जीको चिन्ता(२०६६), गरिमा र गणित (२०७५ ), अ चिम्पाञ्जीज वरी (ई.२०१६,चिम्पाञ्जीको चिन्ताको अङ्ग्रेजी अनुवाद) अनि बाल उपन्यास नानीहरूको पुरुषार्थ (२०६०) प्रकाशित कृतिहरू हुन् । अझ खुसीको कुरो त के भने महेश पौडेलका बालसाहित्यका कृतिले आआफ्नो ३—४ जन्म पनि देख्न पाएका छन् ।

तपाईँ प्रगतिवादी साहित्यकारका रूपमा चिनिनुहँुदो रहेछ ? साहित्यको अन्य धारा र यो धारामा के भिन्नता देख्नु भएको छ ?

साहित्यमा आधुनिकतासँगै मानवतावाद र सुधारवाद देखा प¥यो । यसले समाजका उत्पीडित वर्गप्रति सहानुभूति र सद्भाव देखायो र उत्पीडित वर्गलाई दयाको पात्र बनायो । यही क्रममा उत्पीडित वर्गमा अधिकारचेतना जागृत भयो र ठाउँठाउँमा अधिकार पाउनका लागि उसले संघर्ष ग¥यो । यही जागरण, यही संघर्ष साहित्यमा पनि अभिव्यक्त भयो । यसैलाई प्रगतिशील साहित्य भनियो । प्रगतिशील साहित्यको दार्शनिक र राजनीतिक आधार पनि छ । द्वन्द्वात्मकता, वर्ग संघर्ष, समानता र राज्यसत्तामा पाखुरा बजाएर गरिखाने वर्गको स्वामित्वप्रतिको अपनत्व यसका आधारभूमि हुन । युरोपमा त उन्नाइसौँ शताब्दीको मध्यतिरै शोषित उत्पीडित वर्ग शक्तिशाली बनेर राज्यसत्ता हातमा लिएको देखिन्छ । हामीकहाँ चाहिँ बिसौँ शताब्दीको उत्तरार्धतिर साहित्यमा यो चेतनाले प्रवेश पायो । सन् १९१७को अक्टुबर क्रान्तिले श्रमजीवी वर्गलाई राज्यसत्ता सुम्पिदियो । र, संसारमा शोषितउत्पीडित जनताको पहिलो राज्य बन्न पुग्यो रुस,पछि सोभियत सङ्घ बन्न पुग्यो । प्रगतिवादले मौलाउने, झाङ्गिने अवसर पायो त्यहाँ । र त्यसले साहित्यको यो धारालाई समाजवादी यथार्थवाद भन्ने नाम जुराइदियो । प्रगतिवादी धारा यथार्थवादको बृहत्तर फलकमा बिस्तारित नवीनतम धारा भएको तथा विश्वसाहित्यमै यो मूलधारा रहेकोले अरू धारा योभन्दा धेरै पछि परिसकेको भान हुन्छ ।

अहिले लेखिँदै गरेको साहित्यलाई कसरी हेर्नुभएको छ ?

अहिले भूमण्डलीकरणले विश्वलाई गाँजेको छ । यो भूमण्डलीकरण साम्राज्यवादको उच्चतम रूप हो । यसले समस्त देशको भाषा,साहित्य,कला,धर्म,संस्कृति,पहिरन,मनोरञ्जन,खानपान,अर्थ,राजनीति आदिमाथि धावा बोलेको छ । यो हाम्रो कोठाकोठामा छिरेको छ । यसले हाम्रो चिन्तनमाथि धावा बोलेको छ । आचारविचारमाथि धावा बोलेको छ । साहित्यमा यो उत्तरआधुनिकवादी भनेर छिरेको छ । तर सँगसँगै साहित्यका अरु धारा पनि सक्रीय नै छन् । प्रगतिवाद पनि सक्रीय नै छ । साहित्यमा उत्पीडितहरूको, किनारामा पारिएकाहरूको, विभेदमा पारिएकाहरूको सङ्घर्षशील स्वर मुखरित भइरहेको छ । साहित्यको मूलधार नै यिनै स्वरहरू हुन । प्रगतिवादले आरम्भदेखिनै यी स्वरहरू गुञ्जायमान पारिरहेकै हो । तर अहिले तिनको मुक्तिको बाटो पहिल्याउने कुरामा कतिपय साहित्यकारहरू अलमलमा परेका हुन कि जस्तो पनि देखिन्छ । कुनै नयाँ नारा आयोभने के बुझ्नु पर्दछ भने पुराना पुँजीवादी साम्राज्यवादी सूत्रको सम्मोहन समाप्त भयो र जगतलाई अल्मल्याउन यो नयाँ चिज आयो । प्रगतिवादसँग यस्तो लप्पनछप्पन छैन । राजनीतिमा बिसौँ शताब्दीको साठीकै दशकमा देखिएको र सारमा साम्राज्यवादलाई नै सघाउने यो अलमल र भ्रम अहिले नयाँ आवरणमा प्रकट भइरहेको छ । मानव जातिको मुक्तिको महाअभियानमा यस्ता अलमल र भ्रमहरू बेलाबेलामा विभिन्न आवरण र स्वरूपमा देखा परिरहने हुन्छ । यसलाई भेदन गर्नु जरुरी हुन्छ । हामी चाहिँ दोहोरो मारमा परेका छौँ । विश्व साम्राज्यवादको कहर त खपिरहिएकै छ, भारतीय विस्तारवाद÷प्रभुत्ववादको कहर पनि हामी प्रेमले भोगिरहेका छौँ । हाम्रो भाषिक र सांस्कृतिक चोखोपनलाई त्यसले नराम्ररी गिजोलीरहेको छ । यसरी भाषिक रूपमा त हामी अङ्ग्रेजी र हिन्दीबाट उस्तै पीडित छौँ । हिन्दीले त हाम्रो तराइ क्षेत्रका राष्ट्रिय भाषाहरूलाई पनि सौतेनी बनेर दुःख पो दिइरहेको छ ।

साहित्यलाई अनुत्पादक भन्दछन् नि ?

साहित्य उत्पादक वा अनुत्पादक भन्ने कुरो हाम्रो सोच्ने विचार गर्ने तरीकामा भर पर्दछ । साहित्य असार साउनमा रोपाईँ गरेर कात्तिक मङसिरमा बाली भित्र्याइने उत्पाद होइन नै । यसको प्रभाव असर थाहा पाउन लामो समय कुर्नु पर्दछ । यसले मान्छेको चिन्तनधारालाई बदल्ने, सुदृढ पार्ने गर्दछ । हालैको अनुसन्धानबाट त साहित्य मानिसको मनको निराशा समन गर्ने, अवसाद (डिप्रेसन) को उपचारको प्रभावकारी औषधिको रूपमा पनि सिफारिस गर्न सुझाइएको छ । हो, साहित्य लेखेर एकादुई अपवादबाहेक धन आर्जन होवोइन । सस्ता रुमानी साहित्य र यौन साहित्यका पाठकको बगाल ठूलो होला, तर थोरै भएपनि गम्भीर साहित्यका गम्भीर र प्रभावशाली पाठक छन् । यो साहित्यको उत्पाद होइन त ?

साहित्यिक ऊर्जा कसरी प्राप्त हुन्छ ?

साहित्यिक ऊर्जा यही समाजबाट र जनजीवनबाट नै प्राप्त हुने हो । समाजलाई हेर्ने आँखा, त्यसबाट उत्पन्न हुने संवेदना, सार्थक र स्वाधीन जीवन जिउनका लागि मान्छेले भोगेको पीडा, बेहोरेको सास्ती, त्यसबाट माथि उठन गरेको सङ्घर्ष आदि नै साहित्य लेखनका लागि प्रेरक बन्दछन् । यसका अतिरिक्त अध्ययन, अनुसन्धान, साधना आदिले पनि स्रष्टालाई ऊर्जाशील बन्न बनाउन सहयोगी भूमिका निर्वाह गर्दछन् ।

तपाईँलाई मनपर्ने, प्रभावित पार्ने विश्वका र नेपालका साहित्यकारहरू कोको हुन् ? साहित्य पढ्न मन गर्ने तर कसलाई पढ्ने भनी अलमलिएका अनुरागीलाई कोको पढ्नका लागि सुझाउनु हुन्छ ?

पठनका क्षेत्रमा म निकै पछाडि नै रहेको ठान्छु आफूलाई । विश्वका त के आफ्नै देशका लेखकहरू पनि पढ्न भ्याएको छुइँन । मेरो आफ्नै व्यस्तताका कारणले पनि यसो हुन गएको हो । तथापि समाजको अग्रगामी रूपान्तरणका पक्षमा, मानवजातिको बहूसङ्ख्या (किनभने अहिले जगतमै अल्पसङ्ख्याका पक्षधर सत्ता रहेको देखिन्छ) को पक्षमा कलम चलाउने स्रष्टाहरू पठनमा पर्ने मन पर्ने स्रष्टाहरू हुन् । युरोप र एसियाका केही आख्यानकारहरू त मैले युरेसियाका कथामा पनि समेट्न भ्याएको छु । नाम नै उल्लेख गर्नपर्दा त्यो सुचि निकै लामो बन्न जानेहुन्छ ।
०००

केही समय पश्चात साहित्यकार तथा कथाकार इसमालीद्धारा अनुदित भारतीय चर्चित लेखिका महाश्वेतादेवीको उपन्यास अक्लान्त कौरव यसै अनलाइनमा धारावहिक प्रकाशन गर्दैछौं ।
–सम्पादक कम्युनिष्टअनलाईन.कम