राजधानीसँग दोलखा जोड्ने लामोसाघुँ–जिरी सडक १० दिनभित्र सुधारिने’

प्रकाशित मिति : शुक्रबार, भदौ ८, २०७५

भाद्र ८, २०७५ ‘लाईफलाईन’ मानिदै आएको राजधानीसँग दोलखा जोड्ने लामोसाँघु—जिरी सडकलाई १० दिनभित्र सुधार्न निर्माण कम्पनीले लिखित प्रतिबद्धता गरेका छन् ।

३ नम्बर प्रदेश सरकारले दोलखाको चरिकोटमा विहिवार आयोजना गरेको कार्यक्रममा निर्माण कम्पनीले उक्त सडकका कुनै पनि प्रकारको यातायात सहज ढंगले सञ्चालन गर्नसक्ने बनाउने प्रतिबद्धता गरेका हुन्  । स्तरउन्नती गर्ने क्रममा अधकल्चो छाडिएको उक्त सडक विग्रदा दोलखा जिल्लावासीहरु लामो बैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन् ।

१३३ किलोमिटरमा आउजाउ हुने मार्ग छाडेर करिब १९१ किलोमिटर यात्रा गरिरहेका छन् । निर्माण कम्पनीको एकतर्फी लापरवाहीले सडक निर्माणमा ढिलाई भैरहेको मामलासँग जोडेर आयोजित कार्यक्रममा संघीय सरकारका संसद, प्रदेश सरकारका मन्त्री र माननीयहरुको उपस्थिति थियो ।

कार्यक्रममा निर्माण कम्पनीले १० दिनभित्र सडक सुधार्न लिखित प्रतिबद्धता गरेको र नगरे कार्वाही भोग्न तयार भएको प्रतिनिधिसभा संसद पार्वत गुरुङले बताए । चारदशकअघि स्वीस सरकारले निर्माण गरेको लामोसाँघु जिरी सडकको चौडा बढाउन भारतीय एक्जिम बैंकले लगानी गरिरहेको छ ।

उक्त सडक खण्डको खाडीचौरदेखि मुढेसम्मको २५ किलोमिटर निर्माणको जिम्मा लिएको सुनौलो खिम्ती कालोसूची र मुद्दामालामा फसेपछि सडकको अवस्था नाजुक हुँदै गएको हो । सुनौलो खिम्तीका साझेदार कम्पनीहरु भारतको सीमान्चल र नेपालको गौरीपार्वती छन् ।

मुढेदेखि चरिकोटसम्मको सडक निर्माणको काम सुनौलो खिम्ती, शंकर माली र भारतको सकील हैदरले लिएका छन् । दुवैतर्फका सडक खण्डको निर्माणमा विभिन्न वाहना झिक्दै ढिलाई गरिदै आएको छ ।

प्रदेशमन्त्रीहरु अरुण नेपाल, कैलाश ढुंगेल र केशव स्थापितसहित रोहबरमा १० दिनभित्र सडकको खाल्डाखुल्डी टाल्ने, हिलो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइएको हो । उक्त कम्पनीहरुलाई आयोजनाले कालोसूचीमा राख्ने पत्रचार गर्दा पनि अटेर गरिरहेको आयोजना प्रमुख केदार नेपालले बताए । कार्यक्रममा आयोजना र निर्माण कम्पनीको मिलोमतोमा निर्माण कार्य ढिलाई भएको भन्दै आक्रोश पोखिएको थियो । सडकको दुरावस्थाले विरामीको मृत्यू भएको, हेलिकप्टरबाट खर्च गरी उद्धार गर्नु परेको गुनासा सहभागीहरुले गरेका थिए ।

विग्रिएको सडकबाट ढुवानी गर्न नसक्दा माथिल्लो तामाकोसी आयोजनाको लागत बढ्दै गएको जस्ता समस्या राखिएको थियो । प्रदेश सांसदहरु पशुपति चौलागाई, विशाल खड्का, सरस्वति वस्नेत, हिमाली गोलेले उक्त सडक समस्याले जिल्लाको सर्वत्र घाटा र दु:ख थपिदै गएको बताए । दोलखा र सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षकसहितले तत्काल सडक सुधार निर्माण सुरु गर्दा शान्तसुरक्षाको प्रत्याभूति दिने प्रतिद्धता गरे ।