आज गोली चल्दा एक बालककाे मृत्यु १२ जना स्थानीय घाइते

प्रकाशित मिति : शुक्रबार, भदौ ८, २०७५

कञ्चनपुर– बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट कञ्चनपुर भीमदत्तनगरपालिका भासीका १३ वर्षीय किशोर भट्टको मृत्यु भएको हो । गोली लागेर २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा भीमदत्त नगरपालिकाकै युवराज भट्ट र  मनोज खड्का रहेका छन् ।

करिव ८ राउण्ड भन्दा वढी फायर गरिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको हो ।

निर्मला पन्तको हत्या प्रकरणमा एमाले नेता भीमबहादुर रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो । नेता रावलले कांग्रेसले निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।