आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले कञ्चनपुरको आन्दोलन र प्रधानन्यायाधीश सिफारिस परेको छ ।

प्रकाशित मिति : शुक्रबार, भदौ ८, २०७५

८ भदौ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि मुख्य प्राथमिकतामा कञ्चनपुरको आन्दोलन र प्रधानन्यायाधीश सिफारिस परेको छ ।

निर्मला पन्तको बलात्कार गरी हत्या गर्नेको पहिचान गरी कारबाही गर्न माग गर्दै बिहीबार भएको प्रदर्शनका क्रममा प्रहरीले गोली प्रहार गर्दा ६ जना घाइते भएकाेलार्इ पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर कभरेज गरेका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा गरेको सिफारिसलाई पनि आजका अखबारहरूले महत्त्व दिएर लेखेका छन् ।  वरिष्ठ न्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि परिषद्ले पुनः प्रधानन्यायाधीश सिफारिस गरेको हो ।

यसका अतिरिक्त नेपाल वायु सेवा निगमले नयाँ गन्तव्य नपाएको, प्रहरीमाथि विश्वासको संकट देखापर्न थालेको, व्यस्त सडकमा दिउँसै पिच गर्दा जाम बढेको, ३ हजार विद्यालयमा शिक्षक दरबन्दी शून्य रहेकोलगायत समाचारले पनि आजका पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा स्थान पाएका छन् ।

‘प्रदर्शनकारीमाथि गोली’ शीर्षक दिएर मुख्य समाचार लेखेको कान्तिपुर दैनिकले गोपनीयता विधेयकसँगै मोरङ रंगेलीको परिवर्तित यातायात साधनबारे सामग्री छापेको छ ।

नयाँ पत्रिकाले प्रहरीमाथि विश्वासको संकट देखापर्न थालेको दाबी गरेको छ । नयाँ पत्रिकाले कञ्चनपुरको बलात्कार, भक्तपुरको अपहरण र निरु पाल धम्की प्रकरणमा प्रहरीले गरेको अनुसन्धानलाई दृष्टान्तका रूपमा पेश गर्दै जनतामा प्रहरीमाथि अविश्वास बढेको उल्लेख गरेको छ ।

महेन्द्रनगर प्रदर्शनमाथि मुख्य समाचार लेखेको अन्नपूर्णले नेपाल वायु सेवा निगमले नयाँ गन्तव्य पाउन नसकेको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्णमै सोमलाल सुवेदीको एक लेख पनि छ । जसमा सुवेदीले एडीबीमा इमान्दारितापूर्वक काम गरिरहेका बेला छापामार शैलीमा सरकारले फिर्ता बोलाएको भन्दै त्यसको कारण माग गरेकाे उल्लेख गरेका छन् । आफूखुसीले एडीबीमा सहसचिवस्तरको जागिर खान गएका सुवेदीले सबैतिरबाट घेराबन्दीमा पार्दै मुख्यसचिवबाट बहिर्गमन गराइएको दाबीसमेत उक्त लेखमा गर्न भ्याएका छन् । उनले भनेका छन्– मलार्इ सबैतिर घेराबन्दीमा पार्दै मुख्यसचिवबाट बहिर्गमन गर्न निरन्तर प्रयास गरियाे ।

अन्य पत्रिकाहरुले जस्तै महेन्द्रनगरमा जारी आन्दोलनबारे समाचार लेखेको नागरिकले स्थानीय तहका बेथितिलाई पनि आज उधिनेको छ ।

समाचार अनुसार जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका लागि आधारभूत अहावश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम सुविधामा खर्च गरिरहेका छन् । प्रदेश १ का अधिकांश स्थानीय तहमा बिरामी चढ्ने एम्बुलेन्स नभए पनि प्रमुख चढ्न लाखौंको गाडी खरिद गरिएको समाचारमा उल्लेख छ ।

गोरखापत्रले काठमाडौंमा भवन बनाउन नयाँ मापदण्ड तयार गरेकोलाई एंकर बनाएको छ भने राजधानीले निर्मला हत्या प्रकरणपछि भइरहेको प्रदर्शनलाई मुख्य समाचार बनाएर छापेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज