हामी भने त्यही गीत गाइरहन्छौं – कृष्णसेन इच्छुक

प्रकाशित मिति : बुधबार, भदौ ६, २०७५

हामी भने त्यही गीत गाइरहन्छौं
–कृष्णसेन इच्छुक
हाम्रा स्वरहरुमा प्रतिवन्ध लगाउंदै
हाम्रा ओठहरुमा ताल्चा लगाउंदै
तिमी भन्छौ— गाउन त गाउ
तर यो गीत नगाउ
हामी भने त्यही गीत गाइरहन्छौं ।
हाम्रा विचारहरुमा प्रतिवन्ध लगाउंदै
हाम्रा हातहरुमा हत्कडी पहि¥याउंदै
तिमी भन्छौं — लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौं ।
हाम्रा आस्थाहरुमा प्रतिवन्ध लगाउंदै
हाम्रा खट्टाहरुमा नेल भिराउंदै
तिमी भन्छौं— हिंड्न त हिंड
तर यो वाटो नहिंड
हामी भने त्यही वाटो हिंडीरहन्छौं
ओ शासक—प्रशासकहरु
अस्वीकार्य छ हामीलाई
तिम्रा निरंकुश आदेशहरु
तिमी जतिसुकै हुकुम र फरमानहरु जारी गर
तिमी जति सुकै जुलुम र उत्पीडनहरु शुरु गर
सक्छौ भने हाम्रा चेतनाहरुमा प्रतिवन्ध लगाउ
र,
सत्यलाई कैद गर
तर ओ तानाशाहहरु
तिम्रा बर्बर स्वेच्छाचारका बिरुद्ध
हामी भने निरन्तर आवाज उठाईरहन्छौं ।
उठाईरहन्छौं हामी तिम्रा विरुद्ध संघर्षका हातहरु
कसिरहन्छांै हामी तिम्रा विरुद्ध विद्रोहका मुठ्ठीहरु
ओ अत्याचारका पहरेदारहरु
अन्तिम जीत हाम्रै हो
तिम्रो हारमाथी विजयको झण्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौं

— यो कविता कृष्ण सेन इच्छुकको इतिहासको यस घडीमाबाट लिएको हो शीर्षक पनि हामीले नै राखेका हौं । २०६४ सालको मजदुर बुलेटिनमा प्रकाशित ।