गलत लाग्छ मलाई मेरो देशको इतिहास –भूपी सेरचन

प्रकाशित मिति : आइतवार, भदौ ३, २०७५

जब म
यो भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलि जस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोको बीचमा माटो खनेर
बसेका मानिसहरु
यो भूकम्पपीडित गजूरहरु
य िसालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधैं त्यहीं–सधैं उस्तो र
सधैं एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असंख्य सीताहरुलाई सधैं
बाटो–दोबाटोमा,
गल्ली–गल्लीमा,
बजार–बजारमा,
देश–विदेशमा,
युक्लिप्टसका रुखहरु झैं नङ्गयाइएको देख्छु
अनि जब देख्छु असंख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल र चूपचाप उभिएका
आफ्नो आत्माको गीत झारेर
कल्कीका बोटहरु झैं
दुर्ब हात तल झारेर
तब मलाई गरुँ–गरुँझैं लाग्छ
आफ्नै रगतको उपहास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलि जस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई लाग्छ गलत
मेरो देशको इतिहास
सुन्छुः अमरसिंह कांगडासम्म बढेको कुरा
सुन्छुः तेञ्जिङले सगरमाथा चढेको कुरा
सुन्छुः बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छुः अर्निकोको कलाले विश्व–मन हरेको कुरा
सुन्छुः सधैं सुन्छु र केवल सुन्छु
तर मलाई हुँदैन विश्वास ।
जब म
यी भोकमा डुबेका चोकहरुमा,
यी वैलाएका कलि जस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास
—(२०१७ –चिराक)