महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि नदीले तटबन्ध भत्कायो, एक सय घर डुबानमा

प्रकाशित मिति : सोमवार, साउन २८, २०७५

महेन्द्रनगर: महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि माहाकाली नगरपालिका–१ बयलबन्द क्षेत्रमा निर्माण गरिएको तटबन्ध भत्किन थालेको छ ।

नदीमा पानीको बहाव बढेपछि तारजाली बगाएर तटबन्ध भत्काउन थालेको हो । आइतबार रातिदेखि त्यस क्षेत्रमा निर्माण गरिएको तटबन्ध भत्काउन सुरु गरेको महाकाली नगरपालिकाको १ नं. वडा कार्यालयले जनाएको छ ।

महाकाली नगरपालिका–१ का वडा अध्यक्ष अर्जुनदत्त भट्टले आइतबार रातिदेखि बयलबन्द क्षेत्रमा निर्माण गरिएको तटबन्धमा क्षति पुग्न थालेको बताए ।

‘नदीमा पानीको बहाव बढिरहेको छ’ उनले भने, ‘तटबन्धमा लगाइएको १२÷१३ वटा तारजाली बगाइसकेको छ ।’ अविरल वर्षापछि महाकालीमा पानीको बहाव बढेको हो ।

‘अहिले पानीको बहाव कम हुँदा अलिकति तटबन्ध भत्काउन थालेको छ’ उनले भने, ‘पानीको बहाव उच्च भएर आयो भने तटबन्ध पुरै भत्काउने खतरा बढेको छ ।’

उनले तटबन्ध भत्किए माहाकाली नगरपालिकाको १ र ३ नम्बर वडा नै खतरामा पर्ने बताए । तटबन्ध भत्किए महाकालीको भंगालो नै गाउँ पसेर ठूलो क्षति गर्न सक्ने डरले स्थानीय त्रसित छन् । भारतले विहान ८ बजे दार्चुलास्थित धौलिगंगाको बाँध खोलेकाले कञ्चनपुरमासमेत महाकालीमा पानीको बहाव धेरै हुने देखिएको छ ।