हामीले ईतिहास कायम गरियको कुरा बजारमा प्रचार गर्न सकेनौं : प्रचण्ड

प्रकाशित मिति : आइतवार, साउन २७, २०७५

पूर्वप्रधानमन्त्री प्रचण्डले आफूलाई नोबेल शान्ति पुरस्कारको दाबेदारका रुपमा समेत प्रस्तुत गरे । उनले त्यसतर्फ संकेत गर्दै भने – ‘एकथरि मान्छेलाई युद्ध र शान्ति प्रक्रियाबाट आएको व्यक्तिलाई विश्व शान्ति दूत बनाउने, नोवल शान्ति पुरस्कार दिने कुरा नराम्रो लाग्न सक्छ । तर, यो आग्रह-पूर्वाग्रहको कुरा हैन, यो ऐतिहासिक तथ्यको कुरा हो ।’

प्रचण्डले व्यक्त गरेको भनाइ उनकै शब्दमा-

नेपालमा जो शान्ति प्रक्रिया भयो, त्यो एक सफल शान्ति प्रक्रियाका रुपमा रहेको छ, ‘सक्सेसफूल स्टोरी’का रुपमा । अस्ति के भयो भने, ८/१० देशका कोही पूर्वसभामुखहरु, मन्त्रीहरु, सांसदहरु, अमेरिका, फिलिफिन्स, क्याम्वोडिया, जापान, चीन, भारतका, थुप्रै नेताहरुका यहाँ एउटा मिटिङ भएको थियो । केही समयपछि नेपालमा एउटा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । आइक्याप भन्ने एशियाका राष्ट्रिय पार्टीहरुको ।

उहाँहरुको कार्यकारीको बैठक चलिरहेको रहेछ । मलाई प्रधानमन्त्रीजीले जानुपर्छ भन्नुभो । म किन जाने, प्रधानमन्त्री गए भैहाल्यो नि भनें । मैले त्यहाँ नजाने हिसावले बिल्कुल अनौपचारिक हिसावले बालुवाटार गएको थिएँ । प्रधानमन्त्रीजीले धेरै नै जोड गर्नुभएपछि गएँ ।

त्यहाँ परिचय दिनेबारेमा एकजनाले ‘प्रचण्डजीका बारेमा अलि धेरै इन्फरमेशन दिनुपर्‍यो’ भन्नुभो । उदघोषकले मेरा बारेमा सबै बताएपछि त्यहाँका सहभागीहरुले हामीले उहाँलाई विश्वको शान्तिदूतको एम्वासडर दिन चाहेका छौं भनेर एवार्ड दिनुभयो । सबैले बधाइ दिनुभयो ।

यो आफैं हेर्दा त सामान्य परिघटनाजस्तो लाग्ला । त्यहाँ सहभागीहरुले के भने भन्दा यो नेपालका नेताहरुले नोवल शान्ति पुरस्कार प्राप्त गर्न सक्छन् भन्ने कुराको पहिलो कदम हो ।

त्यसैले हामीले हाम्रो शान्ति प्रक्रियालाई विश्वभरि आर्थिक विकासका लागि किन सदुपयोग नगर्ने भन्ने सानो संकेत त्योभित्र छ । यद्यपि एकथरि मान्छेलाई यो त्यति राम्रो नलाग्न सक्छ । युद्ध र शान्तिप्रक्रियाबाट आएको व्यक्तिलाई विश्वशान्ति दूत बनाउने, नोवल शान्ति पुरस्कार दिने कुरा नराम्रो लाग्न सक्छ । तर, यो आग्रह-पूर्वाग्रहको कुरा हैन । यो ऐतिहासिक तथ्यको कुरा हो । यो तथ्यबाट त हामी गुजि्रएर आई नै सक्यौं ।

हामीले केही रेकर्ड त बनायौं- परिवर्तनको, शान्ति सम्झौताको, संविधान निर्माण, सरकार निर्माण, पार्टी एकता र राजनीतिक स्थिरताको ।

यो सबै हेर्‍यो भने हामीले दुई दशकभित्र थुप्रै रेकर्डहरु बनायौं । रेकर्ड त हामीले बनाउँदै हिँड्यौं । तर, आफैंले बनाएका रेर्कडहरु मार्केटमा राम्रोसँग बेच्नचाहिँ सकेका छैनौं । त्यसैले मैले कहिलेकाँही भन्ने गरेको छु, यी रेर्कडहरु ल्याटिन अमेरीकी देश वा युरोपमा बनेका भए के हुन्थे होलान् ?

यी रेकर्ड नेपालमा बने, कम्युनिस्टहरुले बनाए । त्यसैले यसको त्यति महत्व भएन । यो हामीले बनाएका रेकर्डको महत्व आजको दुनियाँ आफ्नो हातमा भएका देशहरुलाई मन परेको छैन । त्यसैले हामीले नै राष्ट्रिय र अन्तर्राष्ट्रिय आयामहरुका रूपमा उठाउनुपर्छ ।