विश्वका कार्यकारी पदमा रहेका १० जना युवा नेताहरु

प्रकाशित मिति : आइतवार, साउन २७, २०७५

एजेन्सी । सामान्यतया युवा भन्नाले ४० वर्ष मुनिका मानिसहरुलाई जनाउँछ । यो समूह समाजको सबैभन्दा सक्रिय उमेर समूह भएकाले उनीहरुको समाजको सबै क्षेत्रमा हस्तक्षेप हुने गर्छ । झन् समाजको नेतृत्वदायी विधा राजनीतिमा नहुने कुरै भएन ।

आज विश्व युवा दिवसको अवसरमा यहाँ त्यस्तै ४० वर्षमुनिका विश्व राजनीतिमा प्रभावशाली रहेका केही युवा राजनीतिज्ञको चर्चा गरिएको छ ।

यी युवा नेताहरु लोकतन्त्रिक व्यवस्था, राजतन्त्रदेखि तानाशाही व्यवस्थासम्मको नेतृत्व सम्हालिरहेका छन् । एक जनाबाहेक बाँकी सबै आफ्नो देशका कार्यकारी पदमा रहेका छन् । यहाँ उनीहरुको पृष्ठभूमि र प्रभावको बारेमा चर्चा गरिएको छ ।

१. इम्यानुयल म्याक्रो, फ्रान्सेली राष्ट्रपति ,१९७७ डिसेम्बर २१ (४० वर्ष)

इम्यानुयल म्याक्रो यो सुचिमा रहेका सबैभन्दा पाको मात्रै होइनन्, सबैभन्दा शक्तिशाली नेता पनि हुन् ।

सन् २०१७ मेमा फ्रान्सको राष्ट्रपतिमा चुनिएर म्याक्रोले सबैभन्दा कम उमेरमा उक्त पदमा आसिन हुने इतिहास बनाए । राष्ट्रपतिमा चुनिदाँ उनी ३९ वर्ष मात्र थिए । रोचक कुरा उनी एक वर्षअघि आफैले स्थापना गरेको मध्यपन्थी पार्टी ‘एन मार्च’ बाट चुनाव लडेका थिए ।

कन्जरभेटिभ र सोसललिष्ट पार्टीका उम्मेद्वारहरु पालैपालो जस्तो राष्ट्रपति चुनिएको फ्रान्समा एक वर्ष अघि मात्र स्थापना भएको पार्टीको उमेद्वारले राष्ट्रपति पद जित्नु एक आश्चर्य मानिएको छ ।

यो विजयलाई विभिन्न तरिकाले विश्लेषण गरिँदैछ । धेरै विचारमा कन्जरभेटिभ र सोसलिष्ट पार्टीमा बढेको भ्रष्टचार र अकर्मण्यताबाट वाक्क भएका र मरिन ल फेनको उग्र दक्षिणपन्थी पार्टीको अप्रत्यासित बृद्धीले आत्तिएका मतदाताहरुले ‘एन मार्च’ लाई जिताएको मान्छन् ।

पार्टी एक वर्ष पुरानो भए पनि म्याक्रोको राजनीतिक पृष्ठभूमि भने पुरानो हो । उनी यस अघिका राष्ट्रपति फ्रान्स्वा होलाण्डेको शासनकालमा अर्थमन्त्री थिए । शासनको अन्त्यतिर अत्यन्त अलोकप्रिय भएको होल्यान्दोको शासनकालको केही थोरै लोकप्रिय मन्त्रीमा म्याक्रो पनि एक थिए ।

विभिन्न नीतिहरुमा सरकारसँग मतभेद भएपछि म्याक्रोले सन् २०१७ मा सरकार मात्र त्यागेनन्, एक अलग पार्टी स्थापना गरे ।

राजनीतिक विचारधारामा माक्रोले आफूलाई मध्य–वामपन्थी बताउने गरेका छन् । विश्वभरका प्रेसले उनलाई डोनाल्ड ट्रम्पले शुरु गरेको उग्र राष्ट्रवादी धारलाई टक्कर दिने उदार नेताको रुपमा प्रस्तुत गर्ने गरेका छन् ।

२.भोलोदीमीर ग्रोयीस्म्यान, युक्रेनी प्रधानमन्त्री ,जन्म १९७८ जनवरी २० (४० वर्ष)

भोलोदीमीर ग्रोयीस्म्यान पनि आफ्नो देशको इतिहासका सबैभन्दा कान्छा प्रधानमन्त्री हुन् । यसका साथै उनी युक्रेनका पहिलो यहुदी प्रधानमन्त्री पनि हुन् ।

उनी सन् २०१६ अप्रिलमा संसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए ।

उनी युक्रेनका राष्ट्रपति पेत्रो पोरोशेन्कोको नजिकका व्यक्ति मानिन्छन् । पोरोशेन्को सन् २०१४ मा रसिया पक्षधर राष्ट्रपति भिक्टर यानुकोभिचलाई सत्ताच्युत गरिए पछि सत्तामा रहिरहेका छन् ।

उनका राजनीतिक आलोचकहरुले पोरोशेन्कोको निगाहामा प्रधानमन्त्री भएको आरोप लगाउने गर्छन् ।

३.जुरी रतस्, इस्टोनिया प्रधानमन्त्री, जन्म १९७८ जुलाई २(४० वर्ष )

जुरी रतस नोभेम्बर २०१६ मा इस्टोनियाको प्रधानमन्त्री भएका थिए । सोही महिनानै उनी आफ्नो पार्टीका नेताका रुपमा चुनिएका थिए । उनी इस्टोनियाको ‘सेन्टर पार्टी’का नेता हुन् । नामजस्तै उनको पार्टी मध्यपन्थी पार्टी हो र यसले सामाजिक रुपमा उदार नीतिहरुको समर्थन गर्छ ।

जुरी इस्टोनियाको सेन्टर पार्टी, सोसल डेमोक्रेट पार्टी, पार्टीया पक्षधर र रेस पब्लिका युनियनको गठबन्धनमा बनेको सरकारको नेतृत्व गरेर प्रधानमन्त्री भएका हुन् ।

जुरी सन् २००५ मा २७ वर्षकै उमेरमा देशको राजधानी तल्लिनको मेयर चुनिएका थिए । दुई वर्षे कार्यकालमा उनले तल्लीनलाई युरोपको हरियाली राजधानी बनाउने कार्यक्रम शुरु गरेका थिए ।

४. जिग्मे केसार नाम्ग्याल, भुटानका राजा, जन्म १९८० जनवरी २१ (३८ वर्ष)

जिग्मे केसार नाम्ग्याल भुटानको पाँचौ राजा हुन् । सन् २००६ मा उनका पिता जिग्मे सिङ्गे वाङ्चुकले सत्ता छाडे पछि उनी राजा भएका थिए । त्यो बेला उनी २६ वर्ष मात्र थिए ।

वाङ्चुकलाई अलोकतान्त्रिक र सन् १९८० को अन्त्यमा तत्कालिन समयमा देशको सबैभन्दा ठूलो जाति ल्होत्साम्पा(नेपाली भाषी)माथि जातीय सफाया चलाएको आरोप लाग्ने गरेको छ ।

नाम्ग्यालको सत्तारोहणसँगै भुटानमा संवैधानिक लोकतन्त्रको प्रारम्भ भएको छ । नेपालको काठमाण्डुमा जन्मिएका र बेलायतको अक्सफोर्डमा अध्ययन गरेका नाम्ग्यलालाई धेरैले आधुनिक विचारधारायुक्त राजा भएको विश्वास गर्छन् ।

५.शेख तमिम बिन अल थानी, कतारका अमिर(राजा),१९८० जुन ३ (३८ वर्ष)

अल थानी कतारीका राजा(अमिर) हुन् । उनी अघिल्ला राजा हमद बिन खलिफा अल थानीका चौथो र खलिफा अल थानीकी दोश्री श्रीमीतीबाट दोस्रो छोरा हुन् । भुटानमा जस्तै कतारका राजाले पनि स्वेच्छिक सत्ता छाडेपछि तमिम सन् २०१३ मा राजा भएका हुन् ।

पिताले राजगद्दी त्याग गर्दा उनका दाई शेख जस्सीमले अमिर(राजा) पद अस्वीकार गरेपछि उनले अमिर हुने अबसर पाएका थिए ।

भुटानका राजा नाम्ग्यालभन्दा पाँच महिनाले कान्छा तमिम वर्तमान समयमा विश्वको सबैभन्दा कान्छा राजा हुन् ।

नाम्ग्याले जस्तै थानीले बेलायतमै शिक्षा लिएका थिए ।

पिताको शासनमा आर्थिक रुपमा अत्यन्त सम्पन्न भएको आफ्नो देशका अन्तर्राष्ट्रिय परिचय बढाउनमा तमिम केन्द्रित भएको जस्तो देखिन्छ । यसका लागि उनले लागि खेलको मद्दत लिएका छन् ।

उनकै मार्गनिर्देशनमा कतारले सन् २०२२ को फिफा विश्वकप आयोजक राष्ट्र बन्ने अबसर पाएको हो । कतारमा सन् २०१४ मा भएको पौडी विश्व च्याम्पियन आयोजना गर्न पनि उनको भूमिका थियो ।

उनले खेललाई दिएको महत्व राजा भएपछि पनि अन्तराष्ट्रिय ओलम्पिक कमिटिको सदस्य र राष्ट्रिय ओलम्पिकको अध्यक्ष रहेबाट देखिन्छ ।

६. जेसिण्डा आरडन, न्यूजिल्याण्डका प्रधानमन्त्री , जन्म २६ जुलाई १९८० (३८ वर्ष)

जेसिण्डा आरडन न्यूजिल्याण्डको ४० औँ प्रधानमन्त्री हुन् । उनी सन् २०१७ अक्टोबरमा प्रधानमन्त्री चुनिएकी थिइन् ।

सन् २००८ को आम निर्वाचनमा समानुपातिक सूचीबाट पहिलो पटक सांसद चुनिएकी आरडन दश वर्षभन्दा कम समयमा न्यूजिल्याण्डको बामपन्थी पार्टी लेबरकी नेता भइन् ।

चुनावको ६ हप्ता अघि पार्टीको नेतृत्व सम्हालेकी जेसिण्डाले लेबरलाई दश वर्ष पछि न्यूजिल्याण्डको शासनमा फिर्ता गराएकी थिइन् ।

चुनाबी अभियानका क्रममा उनको प्रदर्शनलाई विदेशी मिडियाहरुले ‘क्यारिस्म्याटिक’ भनेका थिए ।

कुनै पार्टीको बहुमत नआएको पछिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको जेसिण्डाको पार्टीले सरकार बनाउन सक्नुमा पनि जेसिण्डाको राजनीतिक कौशललाई जिम्मेबार मानिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री कार्यकालमै गर्भ रहेर बच्चा जन्माउने निर्णय लिएर आरडन विश्व मिडियामा चर्चामा आइन् । हाल छोरी जन्माएर आरडन पुनः कार्यभार सम्हाल्न फर्किसकेकी छिन् ।

७. किम जोङ उन, उत्तर कोरियाका सर्वोच्च नेता, जन्म : १९८३/१९८४ जनवरी ८(३५/३४ वर्ष)

किम जोङ् उन परिचय चाहिने विश्व नेता होइन । यो सूचीमा फ्रान्सको राष्ट्रपति पछि आणविक अस्त्रयुक्त नेता किम मात्र हुन् ।

कोरिया प्रायद्वीपलाई जापानी उपनिवेशबाट मुक्त गराउन प्रमुख भूमिका खेलेका किमका हजुरबुबाले एकातर्फ कोरियाको उत्तरी हिस्सामा साम्यवादी शासन लागु गराए भने अर्कोतर्फ शासनको नेतृत्व भने राजतन्त्रमा जस्तो चुनिने विरोधाभाषी अवस्था लागु गराए । सोही परम्परा अन्तर्गत उनको पिता किम जोङ इलको मृत्यु भएपछि किम जोङ उन सन् २०११ मा राष्ट्रप्रमुख छानिएका थिए ।

विश्वको प्रमुख शक्तिराष्ट्र अमेरिकासँग शत्रुता रहेको राष्ट्रको प्रमुखमा कलिलो उमेरको किमको सत्तारोहणलाई धेरैले ठट्टाको रुपमा लिएका थिए । तर किमले आफूप्रति शंका गर्नेहरुलाई गलत साबित गर्दै उत्तर कोरियालाई आफ्नो नेतृत्वमा विगतको परम्परामा कायम राखेका मात्र होइन, कत्ति अवस्थामा अझ सुदृढ बनाएका छन् ।

आफ्ना हजुरबुवा र पिताले हासिल गर्न नसकेको अमेरिकासम्म आणविक हतियार मार हान्न सक्ने अन्तर–महादेशीय ब्यालेष्टिक मिसाइल हासिल गरेर एक वर्षअघि उनले अमेरिकामा समेत डरको माहोल श्रृजना गरे ।

त्यो समय अमेरिकी राष्ट्रपतिसँग मिडियामार्फत भएको वावविवादले कत्तिले विश्व आणविक युद्धको संघारमा पुगेको हो कि मानेका थिए । तर पुनः उनले आम विश्वासलाई गलत साबित गरिदिए ।

यो वर्षको शुरुबाट किमले आफूलाई कुटनीतिज्ञको रुपमा अघि सारेका छन् । उनले केही महिनाको अन्तरालमा आफ्ना परम शत्रुहरु : दक्षिणी छिमेकी र अमेरिकाका शिर्ष नेतासँग संवाद गरिसकेका छन् ।

८. बिन सलमान, साउदी युवराज, जन्म १९८५ अगस्ट २१( ३२ वर्ष )

एक वर्ष अघिसम्म बिन सलमानको आजको स्तरको शक्तिशाली उदयको भेउ समेत विश्वलाई थिएन । तर मध्यपूर्वको सबैभन्दा शक्तिशाली र सम्पन्न राष्ट्रको प्रमुख्य पदमा आफ्नो पिता सलमान बिन अल साउद आएपछि उनको भाग्य बदलियो ।

एक वर्ष अघि साउदी अरबका राजकुमार मोहम्म बिन नायिफ थिए । तर राजा सलमानले आफ्ना भतिजालाई हटाएर ३१ वर्षे छोरालाई युवराज बनाए ।

त्यस यता बिन सलमान साउदी अरबका प्रमुख शासक जसरी काम गरिरहेका छन् । ८२ वर्षे पिताले राजा हुने तयारी गराइरहेको जस्तो परराष्ट्र र सैन्य जस्ता महत्वपूर्ण मुद्दाहरुलाई छोराको जिम्मा लगाएका छन् ।

यहाँसम्मकी बिन सलमानकै अग्रसरतामा अत्यन्त रुढीवादी साउदी समाजमा फिल्म हल पुनः खोल्नेदेखि महिलाहरुमाथि रहेको गाडि चलाउने प्रतिबन्ध हटेको छ । यसले उनको केही उदारवादी छवी निर्माण पनि भएको छ ।

तर परराष्ट्र नीतिमा भने उनी निक्कै असहिष्णु रुपमा अगाडि आइरहेका छन् । क्षेत्रिय प्रतिस्पर्धी इरानप्रति नरम हुने सबै पक्षप्रति उनी निक्कै आक्रमक भइरहेका छन् ।

दक्षिणी विपन्न यमनको राजधानी नियन्त्रण गर्ने शिया समूह हुथीहरुमाथि भीषण आक्रमण जारी राख्नेदेखि सम्पन्न कतारमाथि नाकाबन्दी लगाएका बिन सलमानले पछिल्लो समय आफूहरुको कार्यको विरोध गरेकै आधारमा क्यानडाजस्तो सम्पन्न राष्ट्रसँग समेत पैठेजोरी खेलिरहेका छन् ।

९.सेबास्टियन कुर्ज, अष्ट्रियाका प्रधानमन्त्री, १९८६ अगस्ट २७( ३१ वर्ष)

सेबास्टियन कुर्ज आजको विश्वको सबैभन्दा कान्छा निर्वाचित सरकार प्रमुख हुन् । अष्ट्रिया आफैमा युरोपको प्रभावशाली राष्ट्र हो । कुर्ज यही प्रभावशाली देशको प्रभावशाली पदमा पुगेका छन् ।

अष्ट्रियाका २५ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित कुर्ज सन् २०१४ देखि २०१७ बीच अष्ट्रियाको विदेश मन्त्री थिए ।

कुर्जले पहिलो राजनीतिक पद सन् २००९ मा अष्ट्रियन पिपुल्स पार्टीका युवा शासाको अध्यक्ष पदबाट भएको थियो । हाल उनी सोही पार्टीबाट प्रधानमन्त्री भएका हुन् ।

सन् २०१७ मेमा पार्टीका तत्कालिन नेता रेईहोल्ड मिटरलेहनरले पार्टी प्रमुख त्यागेपछि कार्यमुकायम अध्यक्ष छानिएका कुर्ज पछि औपचारिक रुपमा पार्टी प्रमुख चुनिएका थिए ।

कुर्जको शीर्घ उदय युरोपको शरणार्थी संकटको समयमा परेको छ । उनको उदय पछाडी अष्ट्रिया समाजमा शहणार्थीप्रति रहेको आशंकालाई पक्रेर उनले शहणार्थी विरोधी उग्र भावना फैलाउन सक्नुलाई जिम्मेबार मानिएको छ ।

शहणार्थी संकट उत्कर्षमा रहेको बेला विदेश मन्त्री भएका कुर्जले त्यो बेला शहणार्थीहरु प्रति उग्र विचार राख्दै उनीहरुलाई अष्ट्रिया पस्न अफ्ठ्यारो पारेका थिए ।

१०.एलेक्जान्ड्रिया ओसासियो–कोर्टेज, अमेरिकी प्रगतिशील आइकन, जन्म १९८९ अक्टोबर १३(२८ वर्ष)    

सूचीमा सबैभन्दा कान्छी कोर्टेज हाल कुनै पदमा त छैनन् तर दुई महिना अघि उनले अमेरिकी राजनीतिमा एउटा तरङ्गनै ल्याइन् ।

डेमोक्रेटिक प्राइमरीका क्रममा दश कार्यकाल पदमा रहिसकेका न्यूयोर्क १४ औं कङ्ग्रेसनल डिस्टिक्टका उम्मेद्वार जोई क्रोलीलाई हराएपछि कोर्टेज एकाएक अमेरिकी प्रगतिशिलहरुको ‘आइकन’ भइन् । ओसासियो डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकाकी सदस्य हुन् ।

अमेरिकी राजनीतिमा केही अघिसम्म ‘समाजवाद’लाई फोहोरी शब्दको रुपमा लिइन्थ्यो । धेरै पहिला होइन सन् २००८ मा ओबामाको राष्ट्रपति चुनावी अभियानमा उनका केही गरिबमुखी कार्यक्रमलाई देखाएर विपक्षीहरुले ओबामालाई समाजवादी भएको ‘आरोप’ लगाएका थिए । जसलाई ओबामाले प्रतिबाद गर्नुपरेको थियो ।

शितकालिन समयमा प्रतिद्वन्द्वी रहेको रुसमा कम्युनिष्ट शासन हुनु र अमेरिकी राजनीतिमा लामो समयदेखि रहेको करपोरेटको प्रभावले युरोपमा समान्य रहेको समाजवादी राजनीति अमेरिकामा नकारात्मक रुपमा लिइन्छ ।

तर सन् २०१६ को राष्ट्रपति निर्वाचनबाट यसमा परिवर्तन आउन थालेको छ । डेमोक्रेटीक पार्टीको आन्तरिक उम्मेद्वार छनौट प्रक्रियामा निक्कै अगाडि पुगेका स्वघोषित समाजवादी बर्नी स्याण्डर्सले समाजवादी शब्दलाई चोख्याउने काम मात्र गरेनन् राजनीति बहसको मूलधारमा ल्याए ।

अनौठो कुरा उक्त निर्वाचनको दौडामा सबैभन्दा पाको उमेरका बर्नीले सबैभन्दा बलियो समर्थन भने ३० मुनिका युवाहरु माझ पाए । उनले ल्याएको निःशुल्क विश्वविद्यालय शिक्षा, सबैका लागि ‘मेडिकेड’ र न्युनतम पारिश्रमिक बढाउने जस्ता कार्यक्रमको प्रस्ताबको बलियो समर्थन पनि यही समूहमा रह्यो ।

ओसासियो पनि यही उमेर समूहबाट आएकी छिन् । अमेरिकी प्रमुख पत्रिकाहरु न्यु योर्क टाइम्स र वाशिन्टन पोष्टहरुले त ओसासियो–कोर्टेजलाई ७६ वर्षे बर्नीको उत्तराधिकारी बताइरहेका छन् ।

संसदको लागि निर्वाचन नजिकिदै गरेको बेला उनले बर्नीको साथमा डेमोक्रेटिक पार्टी भित्रका प्रगतिशिल उमेद्वारहरुको पक्षमा देशव्यापी गरेको समर्थनका क्रमका भाषण र टेलिभिजन कार्यक्रमहरुमा निर्भिक र स्पष्ट अभिव्यक्तिले उनमा नेतृत्वको गुण देखिन्छ ।