गोपी’मा खगेन्द्र लामिछानेको जोडी वर्षा सिवाकोटी पनि

प्रकाशित मिति : मङ्लबार, साउन १५, २०७५

गोपी’मा नायिकाका रुपमा वर्षा सिवाकोटी अनुबन्धित भएकी छिन् । फिल्मको घोषणा हुँदा मुख्य नायिकाका रूपमा सुरक्षा पन्तको मात्र सार्वजनिक भएकी थिइन। फिल्ममा मुख्य अभिनेता खगेन्द्र लामिछानेले यी दुई अभिनेत्रीसँग ‘रोमान्स’ गर्नेछन् ।

‘गोपी’को पटकथाले अन्तिम रुप लिएसँगै वर्षालाई कास्ट गरिएको निर्देशक दीपेन्द्र लामा बताउँछन् । निर्देशक दीपेन्द्रका अनुसार पटकथालाई सुहाउने भएकीले वर्षालाई लिइएको हो । दुई नायिका भए पनि फिल्म त्रिकोणात्मक प्रेमकथा नभएको उनले स्पष्ट पारेका छन् ।

खगेन्द्रले यसअघि वर्षासँग ‘पशुपति प्रसाद’ र सुरक्षासँग ‘धनपति’मा अभिनय गरिसकेका छन् । आफ्ना अघिल्ला नायिकाहरुसँग फेरि एकसाथ एउटै फिल्ममा काम गर्न लागेको खगेन्द्रले खुशी व्यक्त गरेका छन्।

‘यो रमाइलो संयोग हुनपुग्यो, वर्षा र सुरक्षा दुवैसँग पहिला काम गर्दा राम्रो अनुभव भएको थियो, यसपालि पनि पक्कै राम्रो हुनेमा म विश्वस्त छु,’ खगेन्द्रले भने ।

त्यस्तै साथै काम गर्ना लागि फेरि उत्साहित भएको वर्षाको प्रतिक्रिया छ।

‘पशुपति प्रसाद’मा खगेन्द्र दाइसँग काम गरे पनि खासै स्क्रिन सेयर गर्न पाएकी थिइन, तर गोपीमा दर्शकले उहाँ र मेरो केमिस्ट्री अलि बढी नै हेर्न पाउनुहुनेछ,’ वर्षाले भनिन् ।

आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको ‘गोपी’को छायांकन आगामी भदौ १ गते काठमाडौंमा सुरु हुँदैछ । फिल्ममा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।

फिल्मलाई आगामी चैत १५ गते रिलिज गर्ने विषयमा वितरकसँग सहमति भएको कार्यकारी निर्माता श्रीधरले जानकारी दिएका छन् ।

न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने फिल्मका गीतहरु विप्लव प्रतीक र बुद्धिसागरले लेखेका छन् । कल्याणको संगीत रहेको गीत शिव परियारले गाएका छन् भने अरु दुई गीतका गायकगायिका टुंगो लाग्न बाँकी छ ।