आज प्रकाशित सबै पत्रिकाहरुले २३ अर्बको विमानको वारेन्टी नभएको सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने लगायत अन्ने खबरहरु छन

प्रकाशित मिति : शुक्रबार, साउन ११, २०७५

११ साउन, काठमाडौं । राजधानीबाट आज प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुले सरकार र डा. गोविन्द केसीबीच सहमति भएकोलाई मुख्य समाचार बनाएर छापेका छन् । राजधानीमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाउनेलगायत ९ बुँदे सहमति भएपछि केसीले २७ दिन लामो अनशन बिहीबार राति तोडेका हुन् ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले बिहीबार संसदीय सुनुवाइ समितिको सामना गरेका छन् । आज प्रकाशित भएका सबैजसो दैनिक पत्रिकाहरुले यसलाई समेटेका छन् ।

रसुवाको टिमुरेमा बुधबार राति गएको पहिरोमा परी ९ जनाको मृत्यु भएकोलाई पनि आजका पत्रपत्रिकाहरुले नछुटाइकन छापेका छन् । टिमुरेमा रहेका होटल तथा घर घर पहिरोमा पुरिँदा यति ठूलो मानवीय क्षति भएको हो ।

यसका अतिरिक्त पाकिस्तानमा इमरान खानको उदय भएको, वारेन्टीविनै एनएसीले वाइडबडी खरिद गरेको, गुपचुप क्याबिनेट पेपरलेस निर्णय गरिएकोलगायतका खबरलाई पनि आजका पत्रपत्रिकाहरुले आफ्नो पहिलो पृष्ठमा स्थान दिएर छापेका छन् ।

२३ अर्ब खर्चेर एनएसीले भित्र्याएको २ वाइडबडी विमानको वारेन्टी नभएको खुलासा

नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ । जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्टस्को वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको कारोबार दैनिकले लेखेको छ ।

समाचार अनुसार निगमले हाईफ्लाइ एक्ससँग गरेको सम्झौतामा वारेन्टी तथा ग्यारेन्टीको विषयमा दुवैपक्ष मौन बसेको भेटिएिको छ । उक्त विषयले बोर्ड बैठकमा पटकपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा सञ्चालक समिति अध्यक्ष कृष्ण देवकोटाले प्रश्न उठाएका थिए । बोर्ड बैठकमै दुईपटक यससम्बन्धमा निर्णय भए पनि सम्झौता अहिलेसम्म बोर्ड बैठकमा प्रस्तुत नगरिएको निगम स्रोतले जानकारी दिएको छ ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई सम्बोधन नै नगरेर सचिव देवकोटाले पत्रसमेत लेखेको समाचारमा उल्लेख छ ।

यातायात समितिको सम्पत्ति दुई महिनाभित्र राष्ट्रियकरण

गृह मन्त्रालयले खारेजीमा गएका साविकका सार्वजनिक यातायात समितिको सम्पत्ति राष्ट्रियकरण गर्नुअघि सञ्चालन खर्चको विवरण भुक्तानीका लागि प्रमाणित कागजात पेश गर्न परिपत्र गरेको छ । साउन ४ गते गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले साविकका यातायात समितिको सम्पत्ति सञ्चालन खर्च कटाएर राष्ट्रियकरण गर्ने पत्रमा हस्ताक्षर भएको कारोबार दैनिकमा खबर छ ।

गृह मन्त्रालयले सिन्डिकेट खारेजीपछि यातायात समितिको दायित्वमा पर्ने कर्मचारीको तलब, भत्ता, घरभाडा, पानी, बिजुली, दुर्घटना, बीमा, उपचार खर्चलगायत प्रशासनिक खर्च भुक्तानीका लागि ३५ दिनभित्र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा प्रमाणित कागजातहरु पेश गर्न यातायात व्यवसायीहरुलाई मौका दिएको समाचारमा उल्लेख छ ।

यस वर्ष सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने

सरकारलाई वषौंदेखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रुपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास छ ।

अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी १ लाख ७ हजार छ । यसमध्ये करिब ७० हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् । अन्य शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन् । अस्थायी दरबन्दीमा कार्यरतलाई प्रक्रिया पुर्याएर स्थायी गरिनुपर्ने, सेवाको सुनिश्चितता गरिनुपर्ने लगायत माग राख्दै शिक्षक आन्दोलनमा थिए ।

अन्नपूर्ण लेख्छ– जसका कारण विद्यालय तहको पढाइसमेत प्रत्यक्ष रुपमा प्रभावित भएको थियो । सेवाको सुनिश्चितता नभएका कारण शिक्षकले पढाइमा समेत ध्यान दिन सकेका थिएनन् । माग पूरा गराउन उनीहरुले राजधानी तथा जिल्लाकेन्द्रित आन्दोलत सञ्चालन गर्दा विद्यालयको पढाइ लथालिंग बनेको थियो ।

यस्ता शिक्षकलाई आन्तरिक प्रतिष्पर्धाबाट स्थायी गराउन शिक्षक सेवा आयोगले परीक्षासमेत सञ्चालन गरिसकेको छ ।

लाभको पद लिने नेकपाका सदस्यको सम्पत्ति छानबिन हुने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी कमिटी पदाधिकारी, सदस्य तथा पार्टीका तर्फबाट जनप्रतिनिधिमूलक संस्था एवं लाभको पदमा रहेर काम गर्ने सदस्यको सम्पत्ति छानबिन गर्नेे भएको छ ।

नागरिक दैनिकका अनुसार नेकपाले हालै पारित गरेको पार्टी विधानमा लाभको पद लिने सदस्यको नियुक्ति हुँदा, बहाल रहँदा र अवकाश पाउँदाको सम्पत्ति विवरण लिने र आवश्यकताअनुसार छानबिन, अद्यावधिक र सार्वजनिक गर्ने उल्लेख गरिएको छ ।

नेकपाले लिएको समृद्धि र सुशासनको लक्ष्य प्राप्त गर्न, भ्रष्टाचार नियन्त्रण गर्न विधानमै यसतो व्यवस्था गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले नागरिकसँग बताएका छन् ।

अाजका पत्रपत्रिकाका फ्रन्टपेज