विदेश,काठमाण्डौंबाट यसरी भर्न सक्छन दोलखालीले तामाकोशीको शेयर जिल्लामा भने २१ ठाउँमा केन्द्र

प्रकाशित मिति : बिहिबार, साउन १०, २०७५

माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा काठमाण्डौ बस्दै आएका दोलखावासीहरुले काठमाण्डौबाटै र जिल्लाका नागरिकले स्थानीय तहवाटै शेयर आवेदन भर्न पाउने भएका छन् ।

काठमाण्डौंमै आवेदन दिने व्यवस्था

दोलखाका जनप्रतिनिधि, राजनीतिक दल, नेपाल बिद्युत प्राधिकरण, धितो पत्र बोर्ड, नागरिक लगानी कोष र माथिल्लो तामाकोशी आयोजनाका पदाधिकारीबीच आज काठमाण्डौमा भएको छलफलमा यस्तो निर्णय भएको हो । छलफलमा काठमाण्डौ, भक्तपुर र ललितपुरमा बस्दै आएका दोलखावासीलाई निश्चित अवधि भित्र उपत्यकाकै निश्चित बैंकहरुवाट शेयर आवेदन सँकलन गर्न नेपाल धितो पत्र बोर्ड सहमत भएको छ ।

यो सहमति अनुसार काठमाण्डौं उपत्यकामा बसोबास गर्ने ठूलो सँख्याका दोलखाली नागरिक शेयर आवेदनका लागि दोलखा धाउनु नपर्ने भएको छ । बर्षा याम, सडकको दुरावस्थाका कारण काठमाण्डौंदेखि दोलखा सम्मको सडक यात्रा कष्टकर हुने लगायतका कारण उपत्यकामा बस्ने दोलखावासीको शेयर उपत्यकावाटै सँकलन गर्ने सहमति भएको हो ।

जिल्लाका २१ ठाउँमा सँकलन केन्द्र

जिल्लामा रहेका दोलखावासीको हकमा भने बिभिन्न २१ स्थानवाट शेयर सँकलन गरिने भएको छ । माथिल्लो तामकोसी आयोजनका प्रमुख बिज्ञानप्रसाद श्रेष्ठले बैंकको शाखा बिस्तार भएका स्थानहरुमा सोही मार्फत २१ वटा वडाहरुवाट शेयर आवेदन सँकलन गरिने र बैंकको पहुँच नभएका दुर्गम वडाहरुमा घुम्ति सँकलन केन्द्रको व्यवस्था गरिने जानकारी दिनुभयो । उहाँका अनुसार दुर्गम र बिकट गाउँमा आवेदन शेयर आवेदन सँकलन गर्न स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी स्वयँसेवकहरु परिचालन गरिने छ ।

आयोजना प्रमुख श्रेष्ठले जिल्लाका ७४ वटै वडाका नागरिकलाई पायक पर्ने र बहुसँख्यक नागरिकको शेयर सुनिश्चित हुने गरी सँकलन केन्द्र स्थापना गरिने बताउनुभयो । शेयरका बारेमा जानकारी दिन बिक्रि प्रवन्धक, नागरिक लगानी कोष र सहायक प्रवन्धक सनराईज क्यापिटल तथा माथिल्लो तामाकोसी आयोजनाले साउन १६ गतेवाट शेयर प्रशिक्षण तथा सूचना मुलक कार्यक्रमहरु सँचालन गर्ने निर्णय पनि भएको छ ।

विदेशमा रहेकाले अनलाईन आवेदन दिन सक्ने

बैदेशिक रोजगारीमा रहेका दोलखाली नागरिकले अनलाईन मार्फत नैं शेयर आवेदन फाराम भर्न पाउने भएका छन् । बिक्रि प्रवन्धक, नागरिक लगानी कोष र सहायक प्रवन्धक सनराईज क्यापिटल तथा माथिल्लो तामाकोसी आयोजनाको वेभ साईड मार्फत शेयर आवेदन फाराम डाउन लोड गरी भर्न सक्ने व्यवस्था मिलाइने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विदेशमा रहेका दोलखालीले अनलाईन फाराम भरी पठाउने र परिवारका सदस्यले सो फाराम सँकलन केन्द्रमा बुझाई रकम जम्मा गरेपछि लगानी सुनिश्चित हुनेछ । विक्रि प्रवन्धक कम्पनीले शेयर निस्कासन सुरु हुनु अगावै फाराम वेभसाईडमा राख्ने छ ।

परिवारमा एक जनाको बैंक खाता अनिवार्य

माथिल्लो तामाकोशी आयोजनामा शेयर आवेदन दिनका लागि सवै नागरिकको डिम्याट खाता नचाहिने भएको छ । आवेदनका लागि डिम्याट खाता अनिवार्य नगरिए पनि शेयर लगानीको ३ बर्षपछि भने सवै शेयर होल्डरको अनिवार्य डिम्याट खाता हुनु पर्ने धितोपत्र बोर्डले सुझाव दिएको छ । परिवारको कुनै एक सदस्यको बैंक खाता भए सोही खाता मार्फत परिवारका सवै सदस्यहरुले शेयर आवेदन गर्न सक्ने प्रवक्ता न्यौपानेले बताउनुभयो । बैदेशिक रोजगारीमा रहेकाहरुको पनि बैंक खाता नभएमा परिवारको सदस्यकै खाता मार्फत शेयर आवेदन दिन पाउने छन् ।

साउन १६ वाट शेयर खुल्दै

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी आयोजनाको प्रवद्र्धक कम्पनी तामाकोशी हाईड्रो पावरले दोलखावासीका लागि १ अर्व ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निश्कासन गर्दैछ । शेयर निश्कासनका लागि धितोपत्र बोर्डवाट स्विकृत लिई नागरिक लगानी कोषलाई विक्रि प्रवन्धक र सनराईज क्यापिटललाई सहायक प्रवन्धक तोकिएको छ । दोलखावासीका लागि यहि साउन १६ देखि भदौ १४ गते सम्मका लागि शेयर आवेदन अवधि तोकिएको छ ।

तर, सो अवधिमा पर्याप्त शेयर आवेदन नपरे धितो पत्र बोर्डको स्विकृति लिएर केहि अवधिका लागि थप गर्न सकिने छ । यसअघि असार २४ देखि साउन १५ गतेसम्म शेयर आव्हान गरिएकोमा नागरिक समाज र सँयुक्त शेयर सँघर्ष समितिले शेयर आवेदनको समय अनुपर्युक्त भएको भन्दै सार्न माग गरेका थिए । सोही आधारमा जिल्ला समन्वय समिति र स्थानीय सरकारका प्रमुखहरुको समेत आग्रहमा आवेदन अवधि सच्याएर साउन १६ देखि भदौ १४ सम्मका लागि तोकिएको हो ।

शेयर लगानीका लागि तिन बर्ग

माथिल्लो तामाकोशी आयोजनामा शेयर लगानीका लागि दोलखावासीलाई तिन बर्गमा बिभाजन गरिएको छ । आयोजना अति प्रभावित लामावगर र गौरीसँकरलाई ‘क’ बर्ग, प्रसारण लाईन र प्रवेश मार्गले छोएका वडाहरुलाई ‘ख’ र बाँकीलाई ‘ग’ बर्गमा राखिएको छ । ‘क’ बर्गकाले अधिकतम ३ सय कित्ता र ‘ग’ बर्गकाले न्यूनत ३० कित्ता शेयर खरिद गर्न पाउने छन् ।

साँसद भन्छन् ‘धेरैको शेयर जुट्छ’

आजको निर्णयलाई दोलखाका साँसद र स्थानीय सरकारका जनप्रतिनिधिहरुले ऐतिहासिक र उपलव्धिमूलक भनेका छन् । प्रतिनिधि सभाका साँसद पार्वत गुरुङले जिल्लाका गाउँदेखि राजधानीमा सम्म शेयर सँकलन केन्द्र राख्ने निर्णयले धेरै भन्दा धेरै धेरै दोलखावासीको शेयर जुट्ने प्रतिक्रिया दिनुभयो ।

यस्तै, प्रदेश सभाका साँसद पशुपति चौंलागाईले माथिल्लो तामाकोशीका बारेमा देखिएका ‘कन्फयुजन’ क्लियर भएको र शेयर निश्कासन तथा लगानीका लागि बलियो बातावरण तयार भएको बताउनुभयो । प्रदेश सभाका अर्का साँसद विशाल खड्काले पनि शेयरका बारेमा भएको पछिल्लो निर्णयले सवै दोलखावासीलाई लगानी सुनिश्चित गर्ने आधार तयार पारेको बताउनुभयो । साँसद खड्काले तोकिएको अवधिमा पर्याप्त शेयर नपरे केहि अवधिका लागि समय थप गर्ने बिषयमा समेत छलफल भएको जानकारी दिनुभयो ।

शेयर सम्वन्धि छलफलमा दोलखावाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै साँसदहरु, पूर्व मन्त्रि एवँ साँसदहरु, दलका नेता, जिल्लाका ९ वटै स्थानीय सरकारका प्रमुखहरु, बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवँ अपर तामाकोसी हाईड्रो पावर कम्पनीका अध्यक्ष कुलमान घिसिङ, माथिल्लो तामाकोशी आयोजना, धितोपत्र बोर्ड, विक्रि प्रवन्धक तथा सहायक प्रवन्धक कम्पनीका अधिकारीहरु सहभागि थिए ।