डा. गोविन्द केसीको मागमा वालुवाटारमा अनौपचारिक सहमति

प्रकाशित मिति : बुधबार, साउन ९, २०७५

अनसनरत डा. गोविन्द केसीको माग संबोधन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक सहमति भएको छ ।

केसी र सरकारबीच सहजीकरण गरिरहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, केदारभक्त माथेमा, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा, त्रिवि शिक्षण अस्पतालकी डा. दिव्यासिंह शाहसहितको टोली र प्रधानमन्त्रीबीच केसीको मागको विषयमा अनौपचारिक सहमति भएको हो ।

बुधबार उक्त टोलीसँगको छलफलका क्रममा ओलीले चिकित्सा शिक्षाको विषयमा डा. केसी र आफ्नो समान मत भए पनि उनको मागमा राजनीति भइरहेको जिकिर गरे । उनले डा. केसीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्नुका साथै र मंगलबार डा. केसी पक्ष र सरकारबीचको वार्ताबारे जानकारी लिएका थिए ।

छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले डा. गोविन्द केसीको मागका विषयमा चरणवद्ध छलफलपछि करिब सहमति नजिक पुगेको बताए ।

यद्यपि सहमतिका विषय भने सार्वजनिक गरिएको छैन । ‘धेरै विषयमा सकारात्मक छ, पछि हट्ने अवस्था छैन । सहमति लगभग भएको छ । भत्काउने प्रयास भए पनि यो विषय टुंगोमा पुर्‍याउनुपर्छ भनेर प्रधानमन्त्री सकारात्मक रुपमा लाग्नुभएको छ ।’

नेम्वाङले संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता नहुने तर डा. केसीको वार्ता टोलीले मंगलबार दिएको लिखित सुझावहरु समेट्ने बताएका छन् । बुधबार केसी र सरकारी वार्ता टोलीबीच शिक्षा मन्त्रालयमा वार्ता हुँदैछ ।