यसरी लोभ देखाएर नयाँ तरिकाले बेचिन्छन् नेपाली चेलीहरु कोरिया र चीनमा

प्रकाशित मिति : शनिबार, साउन ५, २०७५

पूर्वी नेपालबाट जागिर खोज्न काठमाण्डू आएका बेला उनलाई साथीहरूले ‘पेपर म्यारिज’ अर्थात् देखावटी विवाह गरेर कोरिया गए टन्न कमाइ हुने बताए । जागिर नपाइरहेका बेला उनलाई पनि साथीहरूको सल्लाह ठिकै लाग्यो । मध्यस्थकर्ताले आकर्षक जागिर र कमाइ हुने लोभ देखाएपछि र सँगै बस्नु नपर्ने आश्वासन दिएपछि उनी छ लाख रूपैयाँ तिर्न तयार भइन् ।

आफूभन्दा १० वर्ष जेठो कोरियाली नागरिकसँग कागजी विवाह गरी त्यसकै आधारमा ‘पारिवारिक भिसा’ मा उनी कोरिया पुगिन् । तर त्यहाँ न उनले स्वतन्त्र रूपमा काम गर्न पाइन् न त कागजपत्रका लागि मात्र भनेर बनाइएका श्रीमान्‌बाट छुटकारा नै ।

लोभ
दलालले उनलाई विवाह बहाना मात्र भएको र कोरिया पुगेपछि आफ्नै हिसाबले काम गर्न सकिने लोभ देखाएका थिए । तर ती पुरुषले पटकपटक बलात्कार गर्ने र घरमै बन्दी बनाउने प्रयास गरेपछि कोरियास्थित नेपाली दूतावास र केही मानवाधिकारवादी संस्थाको पहलमा नेपाल फर्केको उनी बताउँछिन् ।

उनले भनिन्, “तिमीलाई मैले कानुनी रूपमै बिहे गरेर ल्याएकाले मसँग बस्नैपर्छ भन्दै (उनले) प्रहरी बोलाएर मलाई पक्राए । मैले सम्बन्धविच्छेद मागेँ र मानव अधिकारवादीलाई गुहारेँ ।”

उनी त एउटी प्रतिनिधिपात्र मात्र हुन् ।

लुकीचोरी
प्रत्येक वर्ष विवाहको बहानामा कोरिया जाने र त्यहाँ पुगेर समस्यामा पर्ने महिलाहरूको सङ्ख्या धेरै रहेको तिनको उद्धारमा संलग्न भएका व्यक्तिहरू बताउँछन् । केही वर्षअघि काठमाण्डूमा सञ्चालित ‘म्यारिज ब्युरो’ भनिने विवाह गराइदिने कम्पनीका सञ्चालकलाई यस्तै कार्यमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ समेत गरेको थियो ।

तर त्यसपछि पनि लुकीचोरी यस्तो काम भने भइरहेको बताइन्छ । यसरी कोरिया जाने नेपाली महिलाले शारिरिक र मानसिक यातना पाउने गरेको कोरियामै बसोबास गर्दै आएकी र पीडितको उद्धारमा समेत संलग्न रहेकी लक्ष्मी गुरुङ बताउँछिन् ।

अधबैँसेको रोजाइमा युवती
उनका अनुसार २०-२२ वर्षका नेपाली युवतीहरू ५० वर्ष माथिका कोरियाली पुरुषको रोजाइमा पर्ने गरेका छन् । कोरियाली पुरुषले नेपाली युवतीसँग विवाह गर्न दलाललाई ठूलो रकम तिर्ने गरेकाले नेपाली युवतीलाई सजिलै छुटकारा नदिने बताइन्छ ।

केही वर्षअघि एक नेपाली युवतीलाई कोरियाली श्रीमान् आफैले बेचेको फेला पारिएपछि नेपाल पठाइएको उनले बताइन् । कतिपयलाई भने नेपाली महिलाहरूले नै चलाएका आश्रयगृहमा राखेर नेपाल फर्काइएको गुरुङले जानकारी दिइन् ।

नयाँ रूपमा मानव बेचबिखन
नेपाल प्रहरीका अधिकारीहरूका अनुसार पनि केही वर्षयता मानव बेचबिखनको प्रकृति परिवर्तन भएको छ । विवाहका बहानामा महिलालाई कोरिया र चीन पठाउने कार्यले पनि मानव बेचबिखनको रूप लिएको उनीहरू बताउँछन् ।

यस्तो कार्यमा संलग्नलाई कारबाही अघि बढाएपछि त्यसमा केही कमी आएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरिक्षक कृष्णहरि शर्माको दाबी छ । उनले भने, “पहिले म्यारिज नै गर्ने भनेर बकाइदा विज्ञापन गरिएको थियो, त्यसरी लगिएको पनि भेटियो । हामीले पठाउने मान्छेहरूलाई मुद्दा चलायौँ, त्यसपछि केही कम भएको छ ।”

तर सबै घटना प्रहरीसम्म पुग्दैनन् ।

के भन्छन् दूतावासका अधिकारी ?
कोरिया र चीनस्थित नेपाली दूतावासका अधिकारीहरूले पनि विवाहको बहानामा नेपाली महिलाहरू त्यतातर्फ पठाइने गरेको पुष्टि गरेका छन् । उनीहरूले यसरी विवाह गरेर जानेमध्ये कतिपय महिला समस्यामा समेत परेको बताएका छन् ।

धेरै नेपाली महिला समस्यामा परेको गुनासो आएपछि दूतावासले नेपाली नागरिकसँग विवाह गर्ने प्रक्रियामा कडाइ गरेको कोरियास्थित नेपाली दूतावासका नियोग उपप्रमुख किरण शाक्यले बताए । उनले भने, “कागजातहरूमा कडिकडाउ गरेका छौँ। सबै कागजातहरू नेपाल पठाएर प्रमाणित गर्ने गरेका छौँ ।”

सङ्ख्या
शाक्यका अनुसार नेपालबाट हालसम्म एक हजारभन्दा बढी नेपाली महिलाहरूले कोरियाली नागरिकसँग विवाह गरिसकेका छन् । यसैगरी करिब दुई सय पुरुषहरूले समेत कोरियाली महिलासँग विवाह गरेको उनले बताए । कोरियालीसँग विवाह गर्नेहरू सबै समस्यामा नै पर्छण् भन्ने नरहेको उनी बताउँछन् ।

नेपाल प्रहरीका अनुसार गएको पाँच वर्षमा नक्कली विवाहमार्फत् मानव बेचबिखन भएका ४५ वटा घटनामा मुद्दा चलाइएको छ । तर, अधिकांश यस्ता घटना मुद्दाको तहसम्म नपुग्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

क्रम रोकिएको छैन
कागजपत्रमा कडाइ गरिएपनि अझै नेपालबाट विवाहको बहानामा चीन र कोरियामा महिलालाई पठाउने क्रम नरोकिएको स्वयम् सरकारी अधिकारीहरू नै स्वीकार्छन् । कोरिया र चीनमा नेपालसहित भियतनाम, क्याम्बोडिया, फिलिपिन्सजस्ता देशहरूबाट समेत विवाहका बहानामा महिलालाई लगेर दासको जस्तो व्यवहार गर्ने गरिएको विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाका प्रतिवेदनहरूले समेत औँल्याउने गरेका छन् ।

विवाहको बहानामा यसरी महिलालाई विदेश पठाउने प्रवृत्तिलाई मानव बेचबिखनकै अर्को स्वरूपका रूपमा हेरिनुपर्ने सरकारी अधिकारी र अधिकारवादीहरूको भनाइ छ ।