साउन ३ देखि देशभरका अस्पताल बन्द गर्ने चेतावनी

प्रकाशित मिति : मङ्लबार, साउन १, २०७५
नेपाल चिकित्सक संघले साउन ३ देखि देशभरका सबै अस्पताल बन्द गर्ने चेतावनी दिएपछि सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न समिति गठन गरेको छ।

मन्त्रिपरिषद बैठकले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा वार्ता समिति गठन गरेको हो। समितिमा गृह र स्वास्थ्य मन्त्रालयका एक-एक सहसचिव सदस्य रहनेछन्।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बैठकपछि सरकारको निर्णय जानकारी गराउँदासमेत केसी अनसनमाथि व्यङ्ग गरे। ‘बहुचर्चित अनसनमा वार्ता टोली गठन छ’, बास्कोटाले भने, ‘शिक्षा सचिवको नेतृत्वमा गृह मन्त्रालयका सहसचिव र स्वास्थ मन्त्रालयका सहसचिव सदस्य रहनुभएको छ।’

चिकित्सा शिक्षा अध्यादेशमा भएका व्यवस्था हटाएर सरकारले विधेयक अघि बढाएपछि डा. केसी १७ दिनदेखि जुम्लामा अनसनरत छन्। उनको स्वास्थ्य गम्भीर हुँदा पनि सरकारले जीवनरक्षा निम्ति कुनै जिम्मेवारीबोध नदेखाएको भन्दै चिकित्सक संघले गम्भीर चिन्ता व्यक्त गरेको छ।

संघद्वारा सोमबार जारी विज्ञप्तिमा सरकारलाई माग पूरा गर्न ४८ घन्टाको समय दिइएको छ। तोकिएको समयभित्र माग पूरा नभए साउन ३ गते बिहीबार बिहानैबाट देशभरका सम्पूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गर्ने संघले जनाएको छ।

डा. केसीको जीवनरक्षा निम्ति प्रधानमन्त्री, शिक्षामन्त्री, स्वास्थ्यमन्त्री र राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर आग्रह गर्दा पनि कुनै चासो नदेखाएको विज्ञप्तिमा छ।

काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज सञ्चालन गर्न नपाइने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने लगायत व्यवस्था हटाएर सरकारले विधेयक अघि बढाएको हो।