नेपालको कुन कुन ठाउँमा पहिरोको खतरा छ त ?

प्रकाशित मिति : बिहिबार, असार २८, २०७५

काठमाडौँ– तराईका सीमावर्ती क्षेत्रमा भारतको बाँधका कारण हुने जोखिमबारे पहिलो पटक अध्ययन भए पनि पहाडमा हुने पहिरोको जोखिमबारे हालसम्म कुनै अध्ययन भएको छैन । न त सम्भावित पहिरो रोकथामको पूर्वतयारी नै हुने गरेको छ ।

जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका उपमहानिर्देशक तथा प्रकोप न्यूनीकरण महाशाखाका प्रमुख नियाज वारिसले पहाडमा गएका जोखिमयुक्त पहिरो र सम्भावित क्षेत्रका बारेमा कुनै अध्ययन नभएको बताए ।

पहाडमा कति पहिरोका जोखिमयुक्त स्थान छन्, कति पहिरो गएको छ, यसको अभिलेख र नियन्त्रण गर्ने कार्ययोजना सरकारसँग छैन । पहिरोको समस्याबाट हरेक वर्ष मानवीय क्षतिका साथै भौतिक क्षति हुने गरेको छ ।

पहिरो रोकथाम तथा व्यवस्थापनका लागि रणनीतिक रूपमा कार्यक्रम बनाउनुपर्ने उपमाहानिर्देशक वारिसको भनाइ छ । उनले रातोपाटीसँग भने– ‘पहिरो नियन्त्रणका लागि हामीसँग मास्टर प्लानको अभाव छ, कुन ठाउँमा पहिरोको जोखिम छ । यसको अध्ययन आवश्यक छ, पहिरो नियन्त्रण नहुँदा नदी नियन्त्रण पनि कठिन हुने अवस्था छ ।’

उनले यी विषयलाई केन्द्रले हेर्ने कि प्रदेशले हेर्ने भन्ने विषयमा स्पष्ट नभएको उनले बताए । पहिरो नियन्त्रणका लागि माग धेरै आउने तर पर्याप्त बजेट नहुँदा थोरै मात्र काम हुने गरेको उनको भनाइ छ ।
जल उत्पन्न प्रकोप विभागअन्तर्गत पहिरो व्यवस्थापन शाखा पनि बनाइएको छ तर यो शाखाले देशका १० वटा ठूला पहिरो व्यवस्थापनको मात्र जिम्मेवारी पाएको छ ।

 

शाखाका सहसचिव एवम् प्रमुख मधुकर रानाले यो आर्थिक वर्षका लागि ठूला १० पहिरो व्यवस्थापनका लागि १० करोड ८६ लाख बजेट रहे पनि आगामी आर्थिक वर्षका लागि ६ करोड ६० लाख मात्र छुट्याइएको बताए ।

यो महाशाखाले रोल्पाको सुनखरी गाउँपालिकामा रहेको फगाम पहिरो, सल्यानको कपुरकोटको खारा पहिरो, स्याङ्जा विर्घा गाउँको भञ्ज्याङ पहिरो, नवलपरासीको केरुङ्गे पहिरो, म्याग्दीको लमसुङ जुकेपानी पहिरो, कास्कीको अन्नपूर्ण गाउँपालिकाको काँडे पहिरो, कास्कीकै मादी गाउँपालिकाको सिन्दुजुरे पहिरो, रसुवाको राम्चे पहिरो र दोलखाको डाँडाखर्क पहिरो व्यवस्थापनको काम गर्दैै आएको सहसचिव रानाले जानकारी दिए ।

देशभर ३ सय हाराहारी ठूला पहिरो भए पनि त्यसको व्यवस्थापनका लागि कार्यक्रम तथा बजेट नभएको उनले बताए । ठूला पहिरो गएका स्थानहरूमा पनि बोटबिरुवाको नर्सरी बनाउने, वृक्षरोपण गर्ने तथा तटबन्ध गर्ने काम हुने गरेको छ ।

पहिरोको सम्भावित क्षेत्रको अध्ययन नहुँदा ठूला जोखिमहरूको सामना गर्नुपर्ने अवस्था रहेको छ । देश सङ्घीयतामा गइसकेपछि पहिरो तथा बाढी  जस्ता प्राकृतिक प्रकोप नियन्त्रण तथा व्यवस्थापनको काम कसले गर्ने ? केन्द्रले कस्तो काम गर्ने, प्रदेश र स्थानीय तहले कस्तो काम गर्ने भन्ने स्पष्ट नहुँदा पनि प्रकोप नियन्त्रणको काम प्रभावकारी हुन सकेको छैन । नेपालमा वर्षायामका बेला पहाडमा जाने पहिरोका कारण सयौंले ज्यान गुमाउने गरेका छन् ।