पर्यटनको क्षेत्रबाट मात्र नेपाल सिङ्गापुरको दाँजोमा पुग्न सक्छ : विजयकुमार गच्छदार

प्रकाशित मिति : आइतवार, जेष्ठ २०, २०७५

नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नेपाल पर्यटनको क्षेत्रबाट मात्र सिङ्गापुरको दाँजोमा पुग्न सक्ने बताएका छन्।

संसदमा बजेटमाथिको छलफलका क्रममा गच्छदारले २ वर्षमा वार्षिक २० लाख पर्यटक ल्याउने लक्ष्य सानो भएको बताए।

‘२० लाख पर्यटकले पुग्दैन’, गच्छदारले भने, ‘हामीले आउने दश वर्षमा वार्षिक १ करोड ल्यायौं भने मात्र सिङ्गापुरको दाँजोमा पुग्न सक्छ।’

उनले २०५६ सालमा वार्षिक ४ लाख पर्यटन भित्रन गरेको तर अहिलेसम्म १० लाख पुग्न नसकेको आँकडा समेत प्रस्तुत गरे।

‘मैले पर्यटनमन्त्री भएका बेलामा पाँच वर्षमा १० लाख पर्यटक वार्षिक भित्र्याउने कार्यक्रम बनाएर ‘डेस्टिनेशन नेपाल’को कार्यक्रम ल्याएको थिएँ’, गच्छदारले भने, ‘कार्यान्वयन हुन सकेन।’

उनले बजेट विद्युतको क्षेत्रमा परिवर्तन ल्याउन असफल भएको तर्क गरे। साथै नयाँ कार्यक्रम नल्याइएको भन्दै आलोचना गरे।

आफू २०४८ सालदेखि संसदमा रहेको उल्लेख गर्दै त्यतिबेला लिइएको उदारीकरण र निजीकरणको नीतिको बचाउ गरे। समिति बैंकबाट आज धेरै बैंक बनेको, निजी क्षेत्रको एयरलाइन्स आएको तथा टेलिफान सुविधा गाउँगाउँमा पुगेको भन्दै उनले खुसी व्यक्त गरे। साथै अहिलेको बहुमतको सरकारले कुनै ठोस नीति लिन नसकेको भन्दै आलोचना समेत गरे।